धनगढी। टीकापुर घटनाको साढे तीन वर्षपछि बहस शुरु भएको छ। बिहिबारदेखि कैलाली जिल्ला अदालतले घटनाको कर्तव्य ज्यान, डाँकाचोरी तथा ज्यान मार्ने उद्योग मुद्दाको बहस शुरु गरेको हो।
प्रतिवादीहरुको वतनको अस्पष्टतालगायत विभिन्न कारणले ढिलाई हुँदै आएको घटनाको तीन वर्षपछि बहस शुरु भएको हो। सुनुवाईमा पहिलो दिन वादी पक्षका २ न्यायधिवक्ता र प्रतिवादीका पाँच जना कानून व्यवसायीले बहस गरेको श्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए। उक्त मुद्दा सुनुवाइका लागि बुधबार पेश गर्ने सूची रहेको भए पनि सार्वजनिक बिदाका कारण शुक्रबार मात्रै पेश गरिने भएको छ।
पहिलो दिन उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका छन्। प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल घिमिरे, अधिवक्ता हरी फुँयाल, गंगाराम उपाध्याय, मिलन राई र गजेन्द्र केसीले बहस गरेका छन्। उक्त मुद्दामा ११ जना बढी कानूनन व्यवसायीहरु प्रतिवादीका तर्फबाट बहस गर्दैछन्।
अदालतको प्राथमिकताको मुद्दा भएकाले अब बहस नसकिन्जेलसम्म सुनुवाई जारी रहने श्रेस्तेदार कठायतले बताए। थरुहट-थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबी दोहोरो झडपमा परी एक नाबालक र सात प्रहरीको ज्यान गएको थियो।
हालसम्म एक नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ। घटनामा संग्लन ३२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।