नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा शनिबारबाट कला साहित्य उत्सवको चौथो संस्करण सुरु हुँदैछ। हरेक दुई वर्षमा आयोजना गरिने महोत्सवको यो संस्करणमा पनि कला, साहित्य, दर्शन, राजनीति, संस्कृति, पर्यावरण, समृद्धि, समाज, विज्ञान, अभिव्यक्ति स्वतन्त्रता, यौन मनोविज्ञान जस्ता विषयमा नेपालका बौद्धिक क्षेत्र स्वनामधन्य व्यक्तित्वहरुबाट बहस र चर्चा हुनेछ। रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सवको प्रभावसहित बहुआयामीक पक्षका विषयमा यस उत्सवका एक अभियन्ता एवम् लेखक तथा कला साहित्य उत्सव आयोजक समितिका सदस्य उज्ज्वल प्रसाईसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानीः
कला साहित्य उत्सव आयोजना गर्दै आउनुभएको छ, २०७३ को भन्दा यसपालिको उत्सवमा पाइने थप विशेषता के हुन्?
–सबभन्दा पहिले त हामीले छानेका विषय फरक छन् र वक्ताहरू फरक हुनुहुन्छ। केही वक्ताहरू विषयका कारण दोहोरिए पनि धेरैजसो नयाँ वक्तालाई निम्त्याएका छौँ। यसपटक कार्यक्रमको शुरुवातमा हुने विद्वत प्रवचनका लागि हामीले राजनीतिशास्त्री हरि शर्मालाई निम्त्याएका छौँ। उहाँले लोकतन्त्रमा आलोचनात्मक चेत सहितको जमात हुन किन जरुरी छ भन्ने विषयमा बोल्नुहुन्छ। साथै, पठनले मान्छेलाई कसरी मुक्त गर्न सघाउँछ भन्नेबारे पनि उहाँले प्रवचन दिनुहुनेछ।
यसका साथै यसपटक हामीले पर्यावरणलाई विशेष महत्त्व दिएका छौँ। एउटा सत्रमा सो विषयमा छलफल हुन्छ भने हामीले चराका तस्बिरलाई प्रदर्शनीमा राखेका छौँ। साथै, पर्यावरणीय चेतना विस्तारका लागि कविता र चित्रकलामा पनि काम गरेका छौँ। चित्रकला प्रदर्शनीको जिम्मा स्थानीय देही आर्ट्सको हो। यसपटक म आफैले लेखेको नाटक मञ्चन हुँदैछ। सो नाटक परिवर्तन थिएटरले तयार पारेको छ। इतिहास लेखनको राजनीतिलाई मुख्य विषयवस्तु बनाएर लेखिएको नाटक पनि यसपटकको नौलो प्रस्तुति हो।
कला साहित्य उत्सवको आवश्यकता किन पर्यो?
–स्तरीय सार्वजनिक विमर्श आवश्यक हुन्छ। सूचना र तथ्यका आधारमा औचित्यपूर्ण ढंगले विमर्श गर्न सक्यो भने त्यसले सबैलाई फाइदा गर्छ। साथै, यस्ता बहसले सामान्य मान्छेलाई समाजमा उठिरहेका पेचिला र ज्वलन्त विषयमा सोच्न बाध्य तुल्याउँछ। कला र साहित्यमार्फत सामूहिक सरोकारका विषय उठाउन सक्यो भने त्यसले राज्य सञ्चालनको जिम्मेवारी लिएर बसेका दल र व्यक्तिलाई समेत झक्झक्याउन मद्दत गर्छ। अनि काठमाडाैं बाहिर यस्ता विमर्शहरू कमै हुने गर्छन्। त्यसकारण विषय विज्ञता भएका मान्छेलाई निम्त्याएर पूर्वी नाकाबाट नै चिन्तन, मनन्, अध्ययन र संवाद समतामूलक समाज निर्माणका लागि अत्यावश्यक छ भनेर सन्देश दिन यो उत्सव आयोजना गरिएको हो।
स्थानीय तहमा यस्ता उत्सवले दिने प्रभाव के कस्तो हुन्छ?
–मूलत: सामान्य मान्छेलाई ज्ञानको उत्पादन र वितरणसँग जोडिन उत्साहित बनाउँछ। सोच्नैपर्ने पर्यावरण र आर्थिक समृद्धि जस्ता विषयलाई बृहत्तर बहसको विषय बनाइदिन्छ। स्थानीय सरकारका जिम्मेवार मानिसहरूलाई अध्ययन, संवाद र चिन्तनका लागि ठाउँ बनाउन आवश्यक रहेछ भन्ने महसूस गराउन सक्छ। नागरिक समाजलाई चलायमान र गम्भीर बनाउन सहयोग गर्छ। साथै, शिक्षक र विद्यार्थीलाई छलफल र संवाद आफैमा उपयोगी पाठ्यसामग्री हुनसक्छ भन्ने बोध गराउँछ।
सधैँ एकै ठाउँमा र एकै प्रकारका स्रष्टाको उपस्थितिले देशको समग्र कला साहित्यको प्रतिनिधित्व हुन सक्ला त? यसका लागि कस्तो व्यवस्था गर्नुभएको छ?
–काँकरभिट्टामा यस प्रकृतिको कार्यक्रम जम्मा चार पटक त भयो। दर्जनौँ पटकसम्म गर्ने इच्छा छ। ताकि धेरै पटक दोहोरिएपछि यहाँका मान्छेले यो कार्यक्रमलाई आफ्नो पहिचान बनाउँछन्। सिङ्गो कार्यक्रमलाई आफ्नै कार्यक्रम सम्झन्छन्। त्यस बेलासम्म सार्वजनिक वृत्तमा गरिने विमर्शलाई कसरी छरितो र स्तरीय बनाउने भन्ने पनि महसूस भइसकेको हुन्छ। युवा पुस्ताका साथीहरू अध्ययनमा प्रवृत्त भइसक्नुहुन्छ। यस्तै कार्यक्रमको हौसलाले यहाँ राम्रा अध्ययन प्रतिष्ठान र पुस्तकालयहरू सञ्चालन होलान्। तिनैले यस्ता कार्यक्रमको जिम्मा लिन्छन्। अनि हामीले यस्ता छलफल गर्न दुई वर्ष कुर्न पर्दैन।
अहिले व्यापक छलफल भइरहेको मिटु अभियानलाई समेत सम्बोधन गर्दै पितृसत्ताले गाँजेर हैकमवाज बनाएका पुरुष त्यसबाट मुक्त गर्दै समतामूलक समाज निर्माण गर्ने बाटो के हुन सक्ला भनेर विमर्श गर्दैछौँ।
कार्यक्रमका लागि सबभन्दा पहिले हामी विषय सोच्छौँ। हाम्रो स्रोत र समयअनुसार धेरै विषयमध्ये करिब एक दर्जन विषय छान्छौँ। त्यसपछि विषयसँग मिल्ने वक्ताको छनोट गर्छौं। त्यसैले कहिलेकाहीँ वक्ताहरू दोहोरिन सक्छन्। तर, हरेक पटक विषयअनुसार नयाँनयाँ वक्ता पनि आउनुभएको छ। पहिले प्राध्यापक चैतन्य मिश्रले विद्वत प्रवचन दिनुभयो, अहिले हरि शर्मा आउनुभएको छ। त्यसअघि प्राध्यापक कृष्ण खनालले बोल्नुभएको थियो। पहिलो कला साहित्य उत्सवमा स्थानीय लेखक पुण्यप्रसाद खरेलले विद्वत प्रवचन दिनुभएको थियो। सञ्चार विषयमा बोल्न हामीले पहिले नारायण वाग्लेलाई बोलाएका थियौँ, यसपटक अल्जजिरा टीभीकी पत्रकार सुबिना श्रेष्ठ, खोज पत्रकारिता केन्द्रका शिव गाउँले र नयाँपत्रिकाका संगीत श्रोतालाई निम्त्याएका छौँ। यसपटक भूराजनीतिमा छलफल गर्न जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पीलामा र सुधिर शर्मा आउँदै हुनुहुन्छ। त्यसैले वक्ताको छनोट विषयअनुसार गर्छौं।
देशको वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशलाई यस्ता उत्सवले कसरी सम्बोधन गरिरहेको छ?
–हामीले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चिन्तनलाई विशेष प्राथमिकता दिएका छौँ। साथै, आर्थिक समृद्धि अभियानका अप्ठ्यारा सम्बोधन कसरी गर्न सकिएला भन्ने छलफल चलाउँदै छौँ। पर्यावरण हाम्रो अर्को चासोको विषय हो। अहिले व्यापक छलफल भइरहेको मिटु अभियानलाई समेत सम्बोधन गर्दै पितृसत्ताले गाँजेर हैकमवाज बनाएका पुरुष त्यसबाट मुक्त गर्दै समतामूलक समाज निर्माण गर्ने बाटो के हुन सक्ला भनेर विमर्श गर्दैछौँ। साथै, चित्रकला र नाटकमार्फत पनि हामी विमर्शलाई अझै सशक्त बनाउँदै छौँ।
भर्खरै पोखरामा कला साहित्य उत्सव सकिएको छ र तुरुन्तै यो अर्को कला साहित्य उत्सवको संयोजन भएको छ, नेपालको वर्तमान स्थितिमा कला साहित्य उत्सवका निम्ति मात्र हो कि यसको खास उद्देश्य पनि छ?
–यो कार्यक्रम केवल एउटा औपचारिकता पूरा गर्नका लागि मात्र सोचिएको होइन। पोखरामा कार्यक्रम भयो, राम्रो भयो। पोखराको तुलनामा असाध्यै सानो शहर काँकरभिट्टामा पनि कार्यक्रम सम्भव छ भनेर प्रमाणित भइसकेको छ। अघि माथि भनिएका विषयहरूलाई महत्त्वका साथ देशभरि विमर्श पुर्याउन हामीले पूर्वमा यो कार्यक्रम आयोजना गरेको हो। केही समयपहिले अनुसन्धाता तथा लेखक प्रत्युष वन्तले भन्नुभएको थियो, संवाद गर्ने मञ्चहरू जति धेरै भए, लोकतन्त्र उति बलियो हुन्छ। काँकरभिट्टामा एउटा थप संवादमञ्च शुरु भयो त के बिग्रियो? बरु असाध्यै राम्रो भयो।
अधिकांश उत्सवहरू राजनीतिकेन्द्रित बनाइने गरिन्छ र कुनै सरकार प्रमुख वा नेताको बर्चस्व, प्रमुख उपस्थितिमा यस्ता कार्यक्रमहरूलाई मिडिया अभिलक्षित बनाइने गरिन्छ, कला साहित्यका कार्यक्रमले प्राथमिकतामा राख्नुपर्ने व्यक्तित्व को हुन्? नेता कि स्रष्टा?
–हामीले जम्मा एक जना नेतालाई संवादमा ल्याएका छौँ। नेतालाई कार्यक्रममा समावेश गर्नैपर्छ। कारण, उहाँहरू गम्भीर जिम्मेवारीमा हुनुहुन्छ। त्यसैले उहाँहरूले पेचिला विषयमा भएका बहस सुन्न अत्यावश्यक छ। तर, साधारणतया गरिने नेताको लम्बेतान भाषण, आसन ग्रहणका झन्झट, अबिर फूलमाला इत्यादि केही पनि गर्दैनौँ। यहाँ जो आउँछ, विषयवस्तुमा केन्द्रित भएर बोल्छ। हामीले यहाँ आउने हरेक वक्तासँग पहिल्यै विषयवस्तुबारे राम्रो छलफल गरेका हुन्छौँ। अधिकांश सत्रका लागि आयोजकले त्यो खास विषय राख्नुको कारण खुलाएर दुई पृष्ठको अवधारणा लेखेर हरेक वक्तालाई पठाएको छ। त्यसैले हामी विषय अनुसारका लेखक, चिन्तक, पत्रकार, नेता र अभियन्तालाई निम्त्याउँछौँ। उहाँहरूलाई विषयवस्तुमा केन्द्रित भएर संवाद गराउँछौँ। शुभकामना मन्तव्यका नाममा अन्टसन्ट बोलेर मान्छेको समय बर्बाद गरिदिने कार्यक्रम होइन यो।