झापा – शनिबारदेखि झापाको काँकरभिट्टामा कला साहित्य उत्सवको चौथो संस्करण सुरु हुँदैछ। रिडर्स झापाको आयोजनामा काँकरभिट्टा खानेपानी सभाहलमा हुने उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ।
यस्तो छ कार्यक्रमको तालिका
शनिबार बिहान १० बजे उद्घाटन कार्यक्रम तय गरिएको कला साहित्य उत्सवमा साढे १० बजेदेखि लोकतन्त्र र आलोचनात्मक चेतका बारेमा हरि शर्माले विद्वत प्रवचन दिने छन्।
साढे ११ बजेदेखि साहित्यको दलन विषयमा युग पाठक, जेबी विश्वकर्मा र सुधीर क्षेत्रीले प्यानल डिस्कसन गर्ने कार्यक्रमको प्रस्तोता दामोदर ढुङ्गेललाई तोकिएको छ। साढे १२ बजेदेखि आधा घण्टाको समय कविता वाचनका लागि छुट्याइएको छ।
एक बजेदेखि पुण्यप्रसाद खरेल, सरस्वती प्रतिक्षा र रेमिका थापाले समकालीन आख्यानमा वर्ग चेतना विषयमा प्यानल डिस्कसन गर्ने कार्यक्रमको प्रस्तोता दीपक सापकोटा रहने छन्।
सोही दिन बन्दना ढकाल प्रस्तोता रहने अभिव्यक्ति र बहिष्करण विषयमा अनुभव अजित, नयनराज पाण्डे र सुप्रिया मानन्धरले प्यानल डिस्कसन गर्ने छन्। र, वसन्त बस्नेत प्रस्तोता रहने भूराजनीतिक विषयमा महेन्द्र पी लामा र सुधीर शर्माले प्यानल डिस्कसन गर्ने कार्यतालिका रहेको छ।
कला साहित्य उत्सवको दोस्रो दिन फागुन १९ गते पनि विभिन्न साहित्यिक कार्यक्रम तय गरिएको छ। काव्यमा विद्रोह शिर्षकमा अभय श्रेष्ठ, गुरुङ सुशान्त र विनोदविक्रम केसी, लोक चित्रकला विमर्शमा सरोज खड्गी, एससी सुमन र पवन राजवंशीले बहस गर्ने छन्।
सांस्कृतिक राष्ट्रवाद विषयमा राजेन्द्र महर्जन, डम्बर चेम्जोङ र अर्चना थापाले प्यानल डिस्कसन गर्ने दोस्रो दिनको कार्यतालिका रिडर्स झापाले सार्वजनिक गरेको छ। काव्यमा विद्रोह शिर्षकमा प्रणिका कोयु, लोक चित्रकला विमर्शमा क्षितेन शेर्पा र सांस्कृतिक राष्ट्रवादमा गुरुङ सुशान्त प्रस्तोता रहनेछन्।
त्यस्तै, पहिलो दिन जस्तै एक बजेदेखि साढे २ बजेसम्म कविता वाचनका लागि समय छुट्याएको उत्सवमा सागर सिवाकोटी प्रस्तोता रहने पर्यावरणको खबर शिर्षकमा श्रद्धा घले, नारायण वाग्ले र रमेश भुषालले बहस गर्ने छन्। निरोज कट्टेल प्रस्तोता रहने दलालीको दलदल शिर्षकमा राम कार्की, विष्णु सापकोटा र अखिलेश उपाध्यायले प्यानल डिस्कसन गर्ने आयोजक रिडर्स झापाले जनाएको छ। सोही दिन दक्षिणपन्थको सांस्कृतिक जगमा आहुतिले प्रवचन दिने छन्।
उत्सवको अन्तिम दिन फागुन २० गते समृद्धि यात्राका सङ्कट शिर्षकमा विश्व पौडेल र खगेन्द्र प्रसाईले बहस गर्ने छन्। समाचार, झुटा समाचार र खरिद समाचारमा सुबिना श्रेष्ठ, शिव गाउँले र अमिना सिंह तथा समाज विज्ञान र मानविकीको सङ्कट शिर्षकमा सञ्जीव उप्रेती, भाष्कर गौतम र सङ्गीत श्रोताले प्यानल डिस्कसन गर्नेछन् भने क्रमशः विनोद तिम्सिना, नारायण कडरिया र सुप्रिया मानन्धर प्रस्तोता रहनेछन्।
आधा घण्टा कविता वाचनका लागि छुट्याइएको उत्सवको अन्तिम दिनमै सत्ता र अभिव्यक्ति स्वतन्त्रता शिर्षकमा खगेन्द्र संग्रौला र सिके लाल, पुरुषको मुक्ति कसरी भन्ने विषयमा प्रणिका कोयु, आहुति र सीमा आभासले प्यानल डिस्कसन गर्नेछन्। प्रेम र यौनः पहेली अनेक विषयमा प्रदीप गिरीले विचार राख्नेछन्।
आयोजक रिडर्स झापाले उत्सवको तीनै दिन अपराह्न साढे ४ बजेदेखि ६ बजेसम्म उज्ज्वल प्रसाईको लेखन तथा परिवर्तन थिएटरको प्रस्तुति ‘बिटुलो आख्यान’ नाटक मञ्चन गर्ने जनाएको छ। उक्त नाटक मञ्चन मेची सामुदायिक भवनमा रहेको परिवर्तन थिएटर नाटक घरमा हुनेछ।