भारतीय नेपालीभाषी कवि मनप्रसाद सुब्बा (२००७) नेपाली कविताका नक्षत्र हुन्। उनका कविताहरू समकालीन समाजमा व्याप्त विसङ्गति र विकृतिका विरुद्धका उन्नत हतियार हुन्, जसले सिधै हृदयमा मल्हम लगाउन मस्तिष्कमा प्रहार गर्छन्। वैश्विक चेतनाका प्रबल अभिव्यक्ति सामर्थ्य भएका यी कवि मानवताका विरुद्ध उठेका अनेक प्रवृत्तिका विरोधी हुन्। उनका कविता सङ्ग्रहहरू बिब्ल्याँटो युगभित्र कार्टून मान्छेहरू, बुख्याँचाहरूको देशमा, ऊष्मा, आदिम बस्ती, ऋतु–क्यानभासमा रेखाहरू, अक्षर–अर्केष्टा, किनाराका आवाजहरू (रेमिका थापासँगको सहलेखन), भुइँफुट्टा शब्दहरू र नेत्तिफुङ्को बास्ना वर्तमान युगका असामान्य प्रवृत्ति र प्रकृतिका सजीव तस्वीर हुन्। चिन्तनशील कवि सुब्बासँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी:
तपाईंका कवितामा जीवन बचाइको सुक्ष्म चिन्तन प्रतिबिम्बि भएको हुन्छ, विषयहरू टिप्दा र त्यसलाई कवितामा बुन्दाका रचना प्रक्रियाबारे बताइदिनुहोस् न?
–यथार्थमा कुनै पनि कुराले संवेदनाशील हृदयमा उप्जाउने अनुभूति सूक्ष्म हुन्छ। कवितामा यस्ता अनुभूतिहरू जीवन बँचाइ (वैयक्तिक, सामष्टिक, वैश्विक) –बाट निरन्तर प्राप्त भइराखेका हुन्छन्! ती अनुभूतिहरूले चेतनालाई प्रत्यक्ष–परोक्षत: चिमोटिरहेका हुन्छन् अनि हुन्छ अनुभूति र चेतनाको सूक्ष्म संयोजन। मेरा कविताहरु अधिकतर यस्तै प्रक्रियाबाट निस्किआएका छन्।
तपाईंका कवितामा प्रयुक्त स्थानीय परिवेशले कविताको भावलाई अत्यधिक सम्प्रेषणीय बनाएको हुन्छ, परिवेशप्रति तपाईंको मान्यता के हो?
–मान्छे बाँच्छ आ–आफ्नो परिवेशभित्र। आफू बाँचिरहेको परिवेशप्रति असचेत रहेर कुनै पनि सिर्जना हुन सक्दैन। भए, त्यो अयाथार्थिक अर्थात् कोरा काल्पनिक मात्र होला। अनि आफू बाँच्ने परिवेश त्यो आफ्नो अर्थात् मान्छे मात्रको होइन, तर त्यो मानवेतर पशुप्राणी, कीरा–फटेङ्ग्रा र बोटबिरुवाको पनि हो। परिवेशप्रतिको यही सर्वसमावेशी भाव मेरा कवितामा आइरहन्छ।
समकालीन नेपाली कविताले उठाएका विषयभित्र समकालीनताको निर्वाह भए नभएकाबारे तपाईंको धारणा के छ?
–समकालीन कविता भनिएपछि तिनमा समकालीनताको निर्वाह भएकै हुनुपर्यो। वर्तमानमा लेखिएको भन्दैमा त्यो समकालीन भइहाल्ने होइन। समकालीनता यौटा समयचेत हो, आफू बाँचिरहेको समयको पदचाप हो, धुकधुकी हो। यो धुकधुकी रचनामा व्यक्त नभए त्यस्ता रचनालाई समकालीन भन्न सकिन्न। यस्तो समकालीनताले प्रेरित नेपाली कविता हामी पर्याप्त देख्न पाइरहेका छौं।
भारतीय नेपाली कवितामा आउने कुन पक्षले नेपालभित्र लेखिएका नेपाली कवितासँग भावगत साधारणीकरण गरेको पाउनुहुन्छ?
–वास्तवमा जतै गए पनि मूलभूत मानवीय भावलाई भूगोलले फरक पार्दैन। अझ एकै भाषा र एकै सांस्कृतिक परम्परामा हुर्केका जात–जातिलाई राजनैतिक साँधसिमानाले दुइ अलग–अलग छिमेकी राष्ट्रियतामा विभाजित गरे तापनि भावगत ऐक्य भने मोटामोटी उस्तै रहन्छ। त्यसैले भारतका नेपाली कविता र नेपालका नेपाली कवितामा एकाधिक भावगत सामन्जस्य पाइनु अस्वाभाविक होइन। जीवन बचाइको निमित्त गरिने संघर्षको स्वर जतै पनि उस्ताउस्तै नै सुनिन्छ यद्यपि त्यसका पछिल्तिर रहने राजनीतिक–सामाजिक कारणहरु भिन्दाभिन्दै होलान्।
तपाईंका कवितामा प्रयुक्त मिथकले भाव र चिन्तनको नयाँ ढोका उघारेको पाइन्छ, समकालीन कवितामा आइरहेका मिथकका स्वरूप कस्तो पाउनुभएको छ?
–मिथकको सहज र स्वाभाविक प्रविष्टिले कवितालाई एक विशेष जीवन्तता दिइरहेको हुन्छ। अघि आधुनिकतावादी लेखनमा आयातित अश्रुत मिथकहरूको बढी प्रयुक्तिले पाठकहरु नतर्सेका पनि होइनन्। जीवनको गाम्भीर्यलाई तथा विसङ्गतिलाई गम्भीरतापूर्वक अभिव्यक्ति दिनुपर्दा त्यस किसिमका मिथकसम्म पनि पुग्ने गर्थे कविहरु। तर पछिल्लो समयमा अर्थात् समकालीन लेखनमा जीवनलाई विसङ्गत दृष्टिले होइन अनि तत्वदर्शीको दृष्टिले पनि होइन तर बँचाइको समकालीन स्थितिलाई व्यङ्ग्यात्मक दृष्टिले हेरेर आफू वरिपरिकै चिरपरिचित मिथकलाई या त आफ्नो घरभित्रै ओझेलमा परेर बसेका साथै राष्ट्रिय मूलधारबाट किनारामा परेका कथाहरुबाट पनि मिथकीय बिम्बहरू टिपेर कविता बुनिन्छन्। र ती ज्यादै आकर्षक अनि प्रभावकारी लाग्छन्।
कवितामार्फत गरिने विद्रोह राजनीतिक सत्ता परिवर्तनका लागि हो कि सत्ताभित्रको मानसिकता परिवर्तनका लागि हो?
–सत्ता परिवर्तनको आकांक्षा प्रतिद्वन्द्वी पार्टीले गर्ने कुरो हो। कवितामा व्यक्त विद्रोह भनेको कुनै पनि विद्रूपता, अव्यवस्था, असङ्गत कुराको भावगत तथा कलात्मक आलोचना हो। प्रतीक्षित अर्थात् आकाङ्क्षित परिवर्तनपछि आएको सत्तामा पनि लेप्सिएर नबसी त्यै परिवर्तित सत्ताको पनि आलोचक बन्छ कविता। यस हिसाबले कविता मानिसको संवेदनालाई तरङ्गित गर्दै उसको चेतनाको चेपचापमा घुस्रिन खोज्ने सूक्ष्म शाब्दिक कला हो।
तपाईंहरूले प्रकाशित गर्नुभएको किनारीकृतका आवाजहरूको निकै ठूलो चर्चा छ? यस कृतिमार्फत् दिन खोज्नुभएको मुख्य सार के हो?
–‘किनाराका आवाजहरू’ (सन् २००८) मार्फत् किनारीय लेखन अवधारणा अघि सारियो। पाठकहरू यसप्रति अप्रत्याशित ढङ्गमा निकै आकर्षित भए, दार्जीलिङ क्षेत्रमा पछिल्ला पुस्ताका युवाहरू यसबाट धेरै प्रभावित भएको उनीहरूको लेखनमा देखियो। किनारीय लेखन अवधारणाका केही बुँदा यस्ता छन् –प्रभुत्वशाली, वर्चस्वशाली मूलधारबाट किनारीकृत सांस्कृतिक मूल्य–मान्यताको सौन्दर्यबोधलाई टड्कारो गरी उभ्याउनु, सर्वसमावेशी भावबोधलाई श्रेयस्कर ठान्नु, स्वाच्छन्दिक भावुकता साथै आधुनिकतावादी भाषाबाट पन्सेर आम मानिसको भाषामा सबै वर्गका पाठकसित सिर्जनामा सोझो संवाद गर्ने, हाँक अनि आत्मविश्वासयुक्त अभिव्यक्ति जसभित्रको स्वरले स्थानिक + वैश्विक = वैश्थानिक भाव बोकेको होस् आदि। अलिक पछि, पारिस्थितिकी साथै नारीवादी मुद्दाहरूमा पनि किनारीकरण लेखनको मूल्यबोधलाई अभिव्यक्ति दिने पर्याप्त स्पेस देखेपछि तिनलाई पनि हाम्रो लेखनमा गाभेका छौं।
कवि मनप्रसाद सुब्बालाई समालोचकहरूले जति चिनेका छन्, जसरी प्रस्तुत गरिरहेका छन्, त्यसमा सहमत हुनुहुन्छ?
–समालोचकहरूका आ–आफ्ना दृष्टिले देखेका कुराहरु छन्। सृजनशील समालोचकहरुले मेरा कविताका पाठभित्र रहेका अवकाशहरु आ–आफ्नै ढङ्गले आविष्कार गरी तीमाथि रोचक वैचारिक प्रस्तुति दिएका छन् । पाठकमा कौतुहलता जगाउने क्षमता भएका ती अध्ययनहरू प्रत्येकको आफ्नै स्वतन्त्र पाठ छ जसले अरू पठनलाई आमन्त्रण गर्छ। त्यसैले तीसित म सहमत हुनु–नहुनुले खासै अर्थ राख्दैन। तथापि सामान्य तौरले भन्नुपर्दा मेरा कविता र कवित्वमाथि अहिलेसम्म भएको अधिकतर समालोचकीय अध्ययनले मलाई असन्तुष्टिभन्दा बढी सन्तुष्टि नै दिएको छ।
तपाईंका कवितामा आएको प्रकृति चिन्तन र विषाक्त सङ्कथनको पर्यावरणीय सन्दर्भ के के हुन्?
–पर्यावरणिक चिन्तन सृजनात्मक कलामा आजजति सायद अघि कहिल्यै थिएन। आफ्नो मात्र हित सोच्ने असमावेशी मान्छेवादी सभ्यता (ह्युमनिस्टिक सिविलाइजेसन)–ले जुन पर्यावरणिक तथा पारिस्थितिक (इकोलजिक) सङ्कट पैदा गरेर पृथ्वीलाई विनाशतिर धकेलिरहेछ यो यथार्थप्रतिको संवेदनशीलताले हामीलाई तत्सम्बन्धी काव्यिक अभिव्यक्ति दिन आग्रह गरिरहेकोछ।
नेपाली कविताले उठाइरहेका विषयहरूप्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ?
–आजका नेपाली कविता विविध मुलुक, विविध परिवेश, विविध परिस्थिति र अवस्था अनुसार विविध स्वर र सुरमा लेखिँदैछन्। एकै समयमा देखिने यो वैविध्य तर नेपाली साहित्यमा एक किसिमको अर्केष्ट्रल प्रस्तुति जस्तो पनि लाग्छ।
वर्तमान कविता समालोचनाका चुनौतीहरू र सम्भावनाबारे तपाईंको धारणा राखिदिनुहोस् न?
–आजका नेपाली कविता समालोचनात्मक अध्ययनअघि ठूलै चुनौती उभिएको छ। कविताको वैश्थानिक स्वभावले पनि अध्येताको आँखालाई बेग्लै किसिमको हाँक दिइरहेको हुन्छ। अकादमिक अध्ययनभन्दा बढी सृजनात्मक पठनको अपेक्षा राख्छ आजको रचनाले। आज यस किसिमको सृजनात्मकतापूर्ण समालोचनात्मक अध्ययन गर्नेहरू अति थोरै सङ्ख्यामा भए पनि देखा परिरहेका छन्।