पोखराको सुरम्य परिवेश जहाँको धर्तीमा निलो आकाशको प्रतिबिम्ब मात्र होइन, निलो आकाशमा हरियो धर्ती समेत प्रतिबिम्बित छ। त्यही स्वच्छ बिम्ब सहितको धर्ती टेकेर उनी हुर्किए। मैले विगत दश वर्षको अन्तरालमा उनलाई जम्मा तीन पटक प्रत्यक्ष भेटेकी छु। यी तिनै भेटमा उनलाई सफा पानीदार स्वभावको व्यक्तित्वका रूपमा पाएकी छु। पहिलो भेट काठमाडौंको कुनै उत्सवमा भएको थियो। त्यसबेला मैले कवि नोरेमको परिवेशमा उनलाई भेटेकी थिएँ र कवि युमाका सहपाठी साथी युवा नेता रवीन्द्र अधिकारी उनै हुन् भनेर कवि नोरेमले चिनाउनुहुँदा उनी हाँसिरहेको सम्झन्छु। त्यो भेट सामान्य भेट थियो। सम्झनलाई त्यो त्यति काफी हुन्थेन पनि तर उनी उनकै स्वभावका कारण सम्झनामा बसिरहे। यो सम्झनाले त्यसबेला स्थायित्व पायो, जब म उनैको सहरमा कविता र गजल वाचन र कृति लोकार्पणको एउटा अवसरमा प्रमुख अतिथिका रूपमा आमन्त्रित भएँ।
कवि तथा गजलकार दुर्गा न्यौपानेको त्यस कार्यक्रमका निम्ति २०६९ साल असोज ३० गते पोखरा उद्योग वाणिज्य सङ्घको भुइँतलाको ठूलो हल खचाखच भरिएको थियो। यति एअरको टिकट दुर्गाजीकै सौजन्यमा प्राप्त भएको थियो र म त्यसै दिन अपरान्ह १ बजे कार्यक्रम स्थलमा पुग्दा रवीन्द्र अधिकारीजी पोखराका आत्मीय सहयात्रीका रूपमा हाम्रो स्वागतमा उभिएका रहेछन्। पछि आआफ्नो मन्तव्यका समय हामीले एकअर्काका परिचयलाई ताजा गरेका थियौं। मैले नै उनलाई काठमाडौंको काव्यिक भेटको सम्झना गराएकी थिएँ। उनी त्यस मञ्चबाट पनि उस्तै मिठो हाँसो अनुहारभरि ल्याएर आत्मीय भावले उपस्थित सबैतिर आफ्ना विचारहरू राखिरहेका थिए। अहिलेको उनको राजनीतिक सफलताको सिँढी खोपिरहेको समय रहेछ त्यो, यस अन्तरालमा फेवाको पानी र सेतीको आगोजस्तो धारसँगै अभ्यस्त उनको सङ्घर्षपूर्ण सामाजिक र राजनीतिक जीवनको गतिशीलताभित्र कति हिउँ र कति आगो निले होलान् उनले, म अहिले अनुमान मात्र गर्न सक्छु, किनकि त्यो आरम्भ र यो अन्त्यका बिच तुलना गरिने कुनै अर्को काल्पनिक भयावह कथा छैन, जे छ त्यो आँखा सामु घटित छ। आँखाले नियाल्न नसकिने त्यो भयावहता भित्र एउटामध्ये आकाशमा आइपुगेको सूर्य मध्ये दिनमै अस्ताएको वीभत्स यथार्थ छ। तुलनाका निम्ति कुनै विगतको घाउ कोट्याउनु यो घाउको औषधी हुन सक्दैन किनकि जीवनको अङ्क गणितमा कोही कसैको जीवनको प्रतिस्थापक हुनसक्दैन। प्रकृतिले मानिसमाथि प्राप्त गरेको विजय यति साह्रो प्रतिशोधी हुन्छ, त्यो पनि कल्पनातीत विषय नै हो!
उनको अन्तिम महाप्रस्थान आकस्मिक मात्र होइन, महारोदन पनि भएको छ। यो हुनुमा उनको उच्च मानवीय गुण नै पहिलो मानक हो, सिद्धान्त मानव कल्याणका लागि हो भन्ने मान्यतालाई अँगालेर नै युवा नेता अधिकारीले पाथीभराको आकाश पहिल्याएका थिए।
रवीन्द्रजी प्रकृतिको सान्निध्यमा संस्कृतिको निरन्तरतामाथि विश्वास गर्ने योद्धा हुन् त्यसैले त उनलाई पाथीभराको आशीर्वाद लिन मन लाग्यो। कतिपय कम्युनिष्टहरू मन्दिरसम्म पुगे पनि मन्दिर बाहिरै उभिएर सिद्धान्तका बहानामा संस्कृतिको अवज्ञा गरिरहेका हुन्छन्, उनी सिद्धान्त र व्यवहारका विपर्यासमा बाँच्ने ढोंगी थिएनन्। उनको अन्तिम महाप्रस्थान आकस्मिक मात्र होइन, महारोदन पनि भएको छ। यो हुनुमा उनको उच्च मानवीय गुण नै पहिलो मानक हो, सिद्धान्त मानव कल्याणका लागि हो भन्ने मान्यतालाई अँगालेर नै युवा नेता अधिकारीले पाथीभराको आकाश पहिल्याएका थिए। द्वन्द्वात्मक भौतिकवादी सौन्दर्यशास्त्रका पाना छिचोलेका उनी पाथीभराको दर्शनमा पुग्नु उनको स्थानीय दायित्वबोध पनि हो, मानवभित्रको जैविक–सांस्कृतिक मनोविज्ञानको सामान्यीकरण पनि हो। संभवत: यो उनको प्रकृति दर्शन उनीभित्रको सिर्जनशील मनको अभिलाषा थियो, जहाँ उनले प्रकृतिको विकटतासँग आफ्नो आत्मिक स्पर्श गर्न चाहे। हिउँमा परिणत हुँदै गरेको वर्षात् झेल्दै पहाडको टाकुरातिर आकर्षित हुनु संभवत: उनी कुनै गन्तव्य खोजिरहेथे, जहाँबाट हेर्दा कठिनाइहरू पनि सुन्दर देखिउन्।
[caption id="attachment_21019" align="alignnone" width="830"]
विद्यार्थीकालमा एक कार्यक्रममा सम्बोधन गर्दै रवीन्द्र अधिकारी।[/caption]
रवीन्द्रजीसँग मेरो अन्तिम भेट फागुन ८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा भएको थियो। म पुग्दा कार्यक्रम आरम्भ भइसकेको थियो। मातृभाषा दिवस समारोहका प्रमुख अतिथि उनले परैबाट मेरो मौन अभिवादन मुस्कानले नै स्वीकारेका थिए। त्यसदिन उनले मातृभाषा र नेपाली भाषामा तिनको योगदानका विषयमा निकै गम्भीर कुरा बोलेका थिए। आफ्ना रोचक अनुभवहरू सुनाउँदै मातृभाषाहरूका विषयमा उनले गरेको व्यवहारिक विश्लेषण मनन योग्य थियो। उनी आफ्नो कुरा राख्दा र अरूका कुरा सुन्दाका दुवै क्षणलाई निकै महत्त्वका साथ लिइृरहेका देखिन्थे। यसै पनि उनी आवेगी नेता होइनन्। समाजको मनोविज्ञानलाई सकारात्मक बनाउन वक्ता–व्यक्तिका कुरा सुन्ने धैर्य हुनु आवश्यक हुन्छ। यस्तो गुण मानिस सामाजिक हुनुको पहिलो परिचय पनि हो। उनमा यो सामाजिक प्रवृत्ति विशिष्ट खालको थियो।
रवीन्द्रजीको सम्झना हुनासाथ मेरो आँखामा विद्याजीको अर्को सुकोमल तस्वीर रुझ्दै आइपुग्छ। एउटा अत्यन्त सरल व्यक्तित्व विद्याजीलाई मैले मन्त्री पत्नी भनेर धेरैपछि मात्र थाहा पाएकी थिएँ। रत्न राज्यलक्ष्मी क्याम्पसका सदस्य हामी क्याम्पसको वनभोज कार्यक्रममा पहिलोपटक नजिकिएका थियौं।
पहिलो चरणको कार्यक्रम समापन भएपछि प्रज्ञाका विशिष्ट पदाधिकारीहरू उनको विदाइ निम्ति अघि बढ्दै गर्दा रवीन्द्रजी मेरो अघि टक्क अडिए। उनले फागुन ४ गते कान्तिपुर कोसेलीमा प्रकाशित मेरो ‘सोमबजारको पार्श्वगीत’ शीर्षकको लेखको सन्दर्भमा केहीबेर संवेदनशील भएर कुरा गरे। वास्तवमा जनताका दु:खको अनपेक्षित भोगाइप्रति सरकारको दायित्व के हुने भन्ने प्रश्नको त्यस विस्तारित लेखप्रति धेरै प्रतिक्रियाहरू आएका थिए र आउँदै पनि छन्, तर रवीन्द्रजी, जो देश निर्माणका सम्भाव्यता खोज्दै अति व्यस्त तालिकामा रहेका मन्त्रीले यो लेखभित्रका प्रतिनिधि पात्रहरू माथि न्यायिक चासो राखेका छन् भन्नेतर्फ कहिल्यै कल्पनै गरेकी थिइन। जब उनले मेरो हातमा सबै ठिक हुन्छ गीताजी, धेरै राम्रो लेख्नुभएको छ भनेर सहानुभूतिपूर्वक छोएका थिए, उनका आँखामा तैरिरहेको संवेदनशील भावचित्रले यो नेपाल सरकारको प्रतिनिधि प्रतिक्रिया बन्नेछ भन्ने मलाई लागेको थियो।
[caption id="attachment_21020" align="alignnone" width="830"]
श्रीमती विद्या भट्टराईका साथमा रवीन्द्र अधिकारी।[/caption]
रवीन्द्रजीको सम्झना हुनासाथ मेरो आँखामा विद्याजीको अर्को सुकोमल तस्वीर रुझ्दै आइपुग्छ। एउटा अत्यन्त सरल व्यक्तित्व विद्याजीलाई मैले मन्त्री पत्नी भनेर धेरैपछि मात्र थाहा पाएकी थिएँ। रत्न राज्यलक्ष्मी क्याम्पसका सदस्य हामी क्याम्पसको वनभोज कार्यक्रममा पहिलोपटक नजिकिएका थियौं। पछि धेरैपटक क्याम्पसमा बातचित भइरह्यो। विद्यार्थीमाझ सहयोगी र सरल गुरुआमाका रूपमा सम्मानित विद्याजीको सरल जीवनशैलीले प्रभावित म आज दु:खको यो असीम आँसुमा उहाँलाई भेट्ने हिम्मत जुटाउन सकिरहेकी छैन। एकान्तमा सोचिबस्छु, यी दुईको जीवन कति सुन्दर थियो होला, निसन्देह दुवैको स्वभावमा एउटै आभास हुन्छ। सरलतापूर्वक गम्भीर जिम्मेवारी उठाइरहेका दुवै आआफ्ना ठाउँमा उत्तिकै प्रिय! यो प्रियताको कारक बाह्य परिवेश र प्रचार होइन, ती सत्पात्रमा लुकेको आमप्रतिको दृष्टिकोण र व्यवहार नै हो।
तालको सहरमा जन्मी हुर्केका रवीन्द्रजी त्यतै समाधिस्थ भइसके, उनका योजना र आकांक्षाका विरुवाहरू हुर्कने छन् र त्यसको छायामा बसेर बारम्बार उनको कर्मप्रिय इतिहासलाई सम्झिनेहरू अनगन्ती हुनेछन्। मैले जब–जब उनलाई भेटेँ, उनको सादगीपूर्ण व्यवहार र अनुहार मानवीय संवेदनाले भरिएको पाएँ। आज दु:ख त यस कुराले दिएको छ, देशका लागि सोच्नेहरू नै किन प्रकृतिको अन्तर्मुखी द्वन्द्वको निशाना बनिरहेछन्। आज रवीन्द्रजीको विदाइमा प्रकृतिका पानी र आगो दुवै जो जीवनका प्रदायक हुन्, तिनैसँग हुनसम्मको विद्रोह उठेको छ मनमा। आगो र पानीको जुन समन्वयवादी दर्शन लेखेथे समले, त्यो दर्शन व्यवहारमा अवतरण भइदिएको भए हिउँको पीडा आगोले सेकेर समाल्थ्यो होला। यहाँ त हिउँको पीडामा आगोले अवसर लुटिदियो। रवीन्द्र नाम रविमा समेटियो। धर्ती केवल सुनसान आकाशतिर हेरेर टोलाइरह्यो। यो क्षण विद्याजीका नामका दु:खप्रति समर्पित यी भावहरूका शब्दसुमन भेट गर्छु:
कतै बज्छ सहनाई कतै बज्छ शङ्ख
कतै पत्र खस्दा कतै लाग्छ पङ्ख
कोही आफ्नो हुन्न सधैँ हुन्छ फाटो
छ एक्ले छिचोल्नु बिरानीको बाटो
कतै मूल फुट्दा कतै सुक्छ पानी
नबुझेको कथा कठै जिन्दगानी
कतै एक पृष्ठ पनि छ अधूरो
कतै बित्छ बर्षौं पनि झन् मधुरो
सधैं नौलो जस्तो कसैको कहानी
कसैको सधैं छ भिजेको सिरानी
हार्दिक श्रद्धाञ्जली रवीन्द्रजी! सार्थक बचाइका निम्ति असीम बधाई!