धनगढी - सुदूरपश्चिम प्रदेशमा दुई दिने सुरक्षा गोष्ठी आज शुरु भएको छ। गोष्ठीको पहिलो दिन सुरक्षा अवस्थाबारे जानकारी गराउँदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पीडितलाई न्याय दिने र अभियुक्तलाई कानुनको दायरामा ल्याउने विषयमा प्रहरीले ९१ प्रतिशत बढी सफलता प्राप्त गरेको बताए।
उनले सामाजिक अपराधको रुपमा रहेको जबरजस्ती करणी आफन्तबाटै हुने क्रम बढ्दै गएकाले केही चुनौती थपिएकोसमेत बताए। त्यसका लागि विशेष पहल थाल्ने पनि उनले निर्देशन दिए।
गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा, महानिरीक्षक खनाल, अन्य सुरक्षा निकायका प्रमुख, सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभगिता छ।
गोष्ठीमा शान्ति सुरक्षा, मानव बेचविखन, साइबर अपराध लगायतका विषयमा छलफल गर्दै आगामी रणनीति तयार गरिने बताइएको छ। सुरक्षा निकायको प्रस्तुतिपछि गृहमन्त्री थापाले गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ।