धनगढी – जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।
थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा ४२ महिनाअघि २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डको मुद्दाको आज फैसला गर्दै जिल्ला अदालत कैलालीले उक्त फैसला सुनाएको हो। फैसलापछि उनीहरुले २०९४ साल फागुन ११ गतेसम्म जेलमा बस्नुपर्ने छ।
सो मुद्दामा थरुहट नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी, दुई नाबालक गरी १५ जनालाई रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार इन्द्र कठायतले जानकारी दिए।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच मंगलबार बहस सकिएपछि मुद्दाको फैसला गरिएको हो।
झण्डै ४२ महिनापछि गत बुधबारदेखि तोकिएको पेशी अन्तर्गत एक सातासम्म वादीतर्फबाट जिल्ला न्यायाधीवक्ता विष्णु पौडेल र सहायक न्यायाधीवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए।
प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मत्यु भएको थियो।
टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएको थियो।
सांसद रेशम चौधरी, नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन्। बाँकी फरार अवस्थामै छन्।
पक्राउ परेकामध्ये दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको थियो ।
टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेका सांसद रेशम चौधरीले घटना लगत्तै फरार भएका थिए। उनले फरार रहेकै अवस्थामा टीकापुरबाटै गत वर्ष मंसिरमा भएको चुनावमा प्रतिनिधिसभा सदस्यमा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए।
रेशमले चुनाव जितेपछि गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा रेशमले आत्मसमर्पण गरेका थिए। उनलाई पौष १९ गते मात्रै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका थिए।
घटनामा मृत्यु भएकाहरु:
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने
नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट
नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहोरा
सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु
सशस्त्र प्रहरी सहायक हवल्दार ललित साउद
प्रहरी जवान लक्ष्मण खड्का
प्रहरी जवान लोकेन्द्र चन्द
दुई वर्षीय बालक टेकबहादुर साउद
कसरी भएको थियो घटना?
तत्कालीन सुदूरपश्चिमका नौ वटै जिल्ला मिलाएर एक प्रदेश बनाउनुपर्ने माग गर्दै अखण्ड सुदूरपश्चिम आन्दोनल चर्किरहेका बेला थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले कैलाली कञ्चनपुरसहितलाई समेटेर थरुहट प्रदेश बनाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको थियो।
सो क्रममा आन्दोलनरत थरुहट-थारुवान संयुक्त संघर्ष समितिले भदौ ७ सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो।
तर, निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिसांत्मक भएको थियो। छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर १० हजार बढीको संख्यामा सडकमा आएका आन्दोलनकारीले जानकी गाउँपालिका (तत्कालीन मुनुवा गाविस पशु हाट बजार नजिक) सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए।
सो क्रममा सुरक्षाकर्मीको विभत्स तरिकाले हत्या गरिएको थियो भने घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो।