काठमाडौँ – सुदृष्टि राई नेपाली सांगीतिक जगतकी एक उदीयमान नक्षत्र हुन्, जसले १५ वर्षको उमेरमै तीज विशेष गीत गाएर हजारौं दर्शक तथा श्रोताको न्यानो माया पाउन सफल भएकी छिन्। ‘तृतीया तिथिमा तीज, यही तीजमा नाँचौँ गाऔँ खाऊँ मीठो चीज’ गीतमा स्वर भरेपछि नेपाली सङ्गीत क्षेत्रमा सुदृष्टिको चर्चा चुलियो।
तीजभन्दा केहीअघि सुदृष्टिका बुवा सुजन राई, आमा दिप्ता धमला राई, गीतकार सुमन श्रापित र सङ्गीत कार बीबी अनुरागी अनामनगरस्थित एक स्टुडियोमा भेट्दा तीज विशेष गीतको तयारीमा जोडतोडले लागिरहेका थिए। ‘१५ वर्षकै उमेरमा तीज गीत गाउने सुदृष्टि सम्भवतः पहिलो गायिका हुन्,’ गीतकार श्रापितले भनेका थिए।
१५ वर्षकै उमेरमा सदावहार गीति सिर्जना पस्किएकी सुदृष्टि अब चाँडै अर्को सांगीतिक कोसेलीका साथ दर्शक तथा श्रोतामाझ आउने भएकी छन्।
सुदृष्टि पूर्वकी चेली, गीतकार श्रापित र पोखराका सङ्गीत कार अनुरागी पश्चिम उनीहरूको सम्बन्धको सेतु सुदृष्टिकै स्वर बन्यो।
श्रापित र अनुरागी समृद्धिका अभिभावक हुन्। सुदृष्टिका बुवाआमा छोरीको करियरका लागि जति चिन्ता गर्छन्, त्यति नै चिन्तित छन्, श्रापित र अनुरागी।
संगीतकारहरु बीबी अनुरागी, महेश खड्का, बिक्रम राई, विकाश चौधरी, साजन राई लगायतले संगीत संयोजन गरेका गीतमा सुदृष्टिले आवाज दिएकी छिन्।
सङ्गीतकर्मले जुरेको संयोग
सुदृष्टिका अभिभावक र गीतकार श्रापितबीच ७–८ वर्षअघि भेट भएको हो। बिहान रियाज गर्ने उनी दिउँसो कलेज जान्छिन्। अभिभावकको लगाव सङ्गीतमा रहेकाले पनि यो फिल्डमा लाग्न र अघि बढ्न उनलाई सजिलो भयो।
इलाहवादबाट संगीतमा डिप्लोमा तेस्रो वर्षको अध्ययन गरिरहेकी छिन् सुदृष्टि। साथै औपचारिक अध्ययन चाहिँ अहिले कक्षा–११ हो। सुदृष्टि म्यूजिक नामक यूट्युब च्यानलबाट उनले आफ्ना गीत सार्वजनिक गर्दै आएकी छिन्।
सृदृष्टिका बुवा सुजनले घरमै सङ्गीत प्रशिक्षक व्यवस्था गरिदिएका छन्। सुदृष्टिका गीत सुन्नेहरू पनि यही क्षेत्रमा उनको उज्ज्वल भविष्य रहेको भन्दै उत्साह दिने गर्छन्। दिप्ताका अनुसार सुदृष्टिको बोली ३ वर्षको उमेरमा मात्रै फुटेको थियो। बोली फुटेपछि उनी लयबद्ध गीत गाउन थालिन्।
‘शब्द र ताल आफ्नै हुन्थ्यो,’ उनले भनिन्, ‘तर, गीतको भाका त्यही बैलादेखि टिपेकी हुन् सुदृष्टिले।’ उनले ७ वर्षको उमेरमा स्टेजमै आफ्नो गायन प्रस्तुत गरेकी थिइन्।
श्रीपुरुष ढकालको शब्द र बीबी अनुरागीको सङ्गीतमा २०६७ सालमा सुदृष्टिको स्वरमा गीत रेकर्डिङ भएको उनका बुवा सुजन राईले बताए। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेले सो गीतको भिडियो निर्देशन गरेको उनले जानकारी दिए। ‘सुटिङ कालिङपोङमा भएको थियो,’ उनले भने।
साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रमहरूमा सुदृष्टिको सहभागितासँगै उनको ख्याति र आत्मविश्वास पनि बढ्यो। त्यही सिलसिलामा सन् २०१० मा झापामै भएको लिटिल क्वीनको उपाधि पनि सुदृष्टिले जितिन्। त्यसैगरी, वर्ष राष्ट्रियस्तरको बाल पुरस्कार र वि.सं. २०६९ सालमा नई प्रकाशनबाट पनि उनी सम्मानित भएकी छिन्।
‘सफलताका लागि त मेहनत नै सबैभन्दा आवश्यक कुरा हो, मैले पनि आमाबुवा र गुरुहरूको सुझावअनुसार नै काम गर्ने गरेकी छु,’ सुदृष्टिले भनिन्, ‘दर्शकका सुझाव त मेरा लागि मार्गदर्शन नै हो, अहिलेसम्म ज्यादै राम्रो प्रतिक्रिया पाएकी छु, अझै काम गर्न बाँकी छ।’