सृष्टिकी सारथी नारी पूरै विश्व सञ्चालिका
सहयात्री हुन् पुरुषकी गृहस्थकी विधायिका
सुख-दुःख जिन्दगीका हरपीडाका भोगाइमा
खुसी बाँड्न सक्छिन् सारा व्यथा भित्र लुकाईकन...
नारीका अनेक रूप छन् भन्ने गरिन्छ । वास्तवमा इतिहासको एक घडीमा आएर आरम्भ भएको विभेदकारी पितृसत्तात्मक समाज व्यवस्थाले नारीलाई नारी हुनुको प्राकृतिक स्वभाव र शक्तिका आधारमा स्वतन्त्र परिचयका साथ बाँच्न नदिएपछि उनका अनेक रूपको चर्चा चल्ने गरेको हो भन्ने मलाई लाग्छ । जिम्मेवारीका आधारमा रूप त पुरुषका पनि अनेक छन् । भगवान्देखि भक्तसम्म जति रूप पुरुषका छन्, त्यति नै होलान् नारीका रूप पनि । आजको समाज नारीका प्राचीन मिथकीय स्वरूपलाई लिएर लोकोक्तिमा रमाउने समय अवश्य होइन । त्यसैले पनि नारी शक्तिको अन्वेषण र यथार्थको खोजी गर्नु र त्यसको विश्लेषणमा समकालीन युगको सापेक्षतालाई समेत तुलनात्मक रूपले दृष्टि दिनु अत्यावश्यक विषय भएको छ ।
नारीका विविध अवतारहरूलाई शक्तिका रूपमा आराधना गर्ने आआफ्नो किसिमका सांस्कृतिक प्रचलन प्रायः सबै धर्ममा रहेको छ । धर्मको अपव्याख्याको आरम्भ भएपछिको समयमा भने नारीको सामाजिक भूमिकालाई निकै कुण्ठित पारियो र त्यसै शैलीको सांस्कृतिक परिपाटीमा नारीहरू घरभित्रका तुच्छ मानिएका घरेलु कामकाजीका रूपमा बाँच्न वाध्य पारिए । यसले तिनका विस्तारित बाह्य र आन्तरिक सामथ्र्यहरू कुँजिएर समाजका निमुखा वर्गमा तिनको परिचयलाई सीमित पारिदियो । जब दमन र शोषणको चरम अनुभूति हुनथाल्यो, त्यसपछि पश्चिमी नारीहरूका बीचबाट यसको प्रतिरोधको आरम्भ भयो ।
सँगसँगै यो चेतना माक्र्सवाद र समाजवादका प्रगतिशील राजनीतिक चेतनाबाट समेत आंशिक रूपमै भए पनि प्रसारित हुँदै गयो । यसरी चुल्हो र घर धन्दामा मात्र सीमित रहने गरेका सिर्जनात्मक समयलाई नारीहरूले सङ्घर्षको लामो यात्रा पार गरी आजको स्थितिमा आउन्जेलसम्ममा नारी शक्तिको वर्तमान स्वरूपको एउटा गौरवान्वित इतिहास तयार भइसकेकातिर पनि अवलोकन हुनु जरुरी देखिन्छ ।
राजनीतिमा नारीको नेतृत्वदायी भूमिका
नारी शिक्षामा राजनीति चेतनाको प्रसार हुनुपर्छ भन्ने विषयमाथि आधिकारिक वहस हुनु आवश्यक देखिन्छ । विगतमा नारी–पुरुषको राजनीतिक चेतना देशको मुक्तिका लागि साझा रूपमा सङ्गठित भएकाले त्यहाँ वर्गीय पहिचान र सक्रियताको ठूलो आवश्यकता बोध भएको थिएन । जब बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो, २०४६ सालपछिको त्यस समयमा शिक्षाको सर्वमान्य साझा अवधारणाले गति लियो, जसमा छोराछोरी दुवैलाई शिक्षाको अधिकार समान रूपले प्रदान गरिनुपर्ने आवश्यकतामाथि जोड दिइयो र नारी शिक्षाले गुणात्मक र सङ्ख्यात्मक दुवै आधारमा उच्च सफतला पनि पायो ।
तर गणतन्त्रको आन्दोलन र त्यसपछिको पहिचान संस्कृति विस्तार भइरहेको यो समयमा नेपालमा नारी शिक्षामा राजनीति चेतनाको हस्तक्षेप हुनु आवश्यक भएकातिर सोच्नुपर्ने देखिन्छ । योग्य महिला नेतृत्वको अभावका कारण सिर्जित वर्तमान सामाजिक र राजनीतिक अव्यवस्थालाई समाप्त गर्न शिक्षामा राजनीतिक विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता छ । विश्वमा सुयोग्य राजनीतिक पद र परिचय पाएका थुप्रै नारीहरूको इतिहास छ ।
प्रजातन्त्रको लडाईंमा जग बसाउने नेतृहरू मङ्गलादेवी सिंह, साहना प्रधान, भारतका प्रधानमन्त्री इन्दिरा गान्धी र राष्ट्रपति प्रतिभा पाटिल, नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, बङ्गलादेशका शेख हसिना बाजेद र वेगम खालिदा जिया, पाकिस्तानका वेनजीर भुट्टो, श्रीलङ्काका सिरिमाओ वन्दरानाइके, वेलायतका मार्गरेट थ्याचर, अमेरिकाका पहिलो विदेश मन्त्री कन्डोलिना राइस, नेपालका पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, भारतका सोनिया गान्धी आदि राजनीतिमा नारी सक्षमताका बलिया उदाहरण हुन् । नेपालकी योगमायाजस्ता विराङ्गनाको आत्मदाहको कथा विद्रोहको भयानक स्वरुप हो ।
न्याय र प्रशासन सेवामा नेपाली नारीको नेतृत्वदायी भूमिका
न्यायसेवा र प्रशासनजस्ता महत्त्वपूर्ण स्थानमा नेपाली नारीहरूले विगतदेखि नै सक्षमता प्रस्तुत गर्दै आएका भए पनि माथिल्ला तहमा तिनका भूमिकालाई विश्वास नगरिने परिपाटीको समेत अहिले अन्त्य भएको छ । पहिलो प्रधान न्यायाधीश सुशीला कार्की, पहिलो सभामुख ओन्सरी घर्ती तथा त्रिभुवन विश्वविद्यालयका पहिलो महिला शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी नेपालमा हाल अवसर पाए नारीहरूको वर्चस्वको सम्भावना हरेक क्षेत्रमा रहन सक्छ भन्ने कुराको दृष्टान्त हुन् ।
यसरी नै प्रहरी नायव महानिरीक्षक पार्वती थापा, नेपाल सरकारको सचिवबाट अवकाश प्राप्त वृन्दा हाडा, प्रमुख जिल्ला अधिकारी उषा नेपाल जस्ता पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रशासनिक व्यक्तित्वको परिचय बनाएका विशिष्ट नारी प्रतिभा र क्षमताका बौद्धिक पहिचान हुन् । विश्वका विभिन्न राष्ट्रमा न्याय तथा प्रशासनमा नारीहरूको उल्लेख्य उपस्थिति र योगदान रहेको छ ।
साहित्य र समाजसेवामा नारीको नेतृत्वदायी भूमिका
विश्वमा नैे गुणात्मक र सङ्ख्यात्मक रूपले नारीहरूले उच्च सफलता पाएको क्षेत्र साहित्य र समाजसेवा नै हो । हेर्दा सहज लागे पनि सबैभन्दा बढी आत्मचेत र स्वतःस्फुर्त रुपले समर्पित भएर लाग्नुपर्ने क्षेत्र भएकाले यी दुवै क्षेत्रमा प्रवेश गर्नु र त्यहाँ टिकिरहनु नारीका निम्ति त्यति सजिलो अवश्य छैन । भारतीय महाकविका रुपमा सम्मानित महादेवी बर्माको नारी लेखनका सन्दर्भमा व्यक्त विचार यहाँ साभार गर्नु सान्दर्भिक छ, “नारीको हृदयमा ममताले पूर्ण जुन गम्भीर भाव उत्पन्न हुन्छ, त्यो पुरुषको उग्र शौर्यभन्दा धेरै गुणा अधिक उदात्त र दिव्य छ ।”
यस भनाइलाई पुष्टि गर्दै उनले अघि भनेकी छन्, “पुरुष आफ्नो व्यक्तिगत या समूहगत रागद्वेषका लागि र अहङ्कारको तृप्तिका लागि समेत आफूमा रहेको वीर धर्मको दुरुपयोग गर्नसक्छ तर नारी आफ्नो सिर्जनाका अवरोधहरू हटाउनका लागि वा आफ्नो कल्याणी सृष्टिको रक्षाका लागि मात्र विद्रोही बन्छे ।” यसरी महादेवी बर्माका विचारमा नारीको वीरताको समकक्ष प्रेरणास्पद अर्को उपमा संसारको कुनै सङ्ग्रहालयमा पाउन मुस्किल छ। त्यसैले एकातिर वत्सला रुप अम्बा नारी हुन् भने अर्कोतिर उद्धारक रुप चण्डी पनि नारी नै हुन् भन्ने अभिव्यक्ति बर्माको छ।
नारीका सिर्जनाका सहयात्री पुरुष हुन्। त्यसैले नारीले पुरुषलाई आफैलाई भन्दा बढी मूल्य दिनुमा नारी स्वयंको निरिहता नभएर सिर्जना पथका सहयात्रीलाई नारीले दिएको सम्मान हो भनेर बुझ्न पुरुषले ढिला गर्नु हुँदैन । विश्वका प्रायः मुलुकमा नारी लेखनले प्रतिनिधि लेखनको मूल्य प्राप्त गरेका छन्। आर्थिक र साहित्यिक दुवै रुपले सफल नारीहरूमा ह्यारी पोटरकी लेखिका जे. के. रोलिङको नाम अगाडि आउँछ। नारी लेखनमा कल्पना र सङ्कथनात्मक सङ्ठन क्षमताको कमी हुन्छ भन्ने मान्यता राख्नेहरूका निम्ति रोलिङले मौन जवाफ दिएकी छन्।
यसरी नै साहित्यकार पारिजातलाई निबन्धकार शङ्कर लामिछानेले आफ्नो लेखनको इम्फल्स मान्नुमा पारिजातको बौद्धिक रचनात्मक क्षमताको सम्मान हो भनेर हामी कतिले बुझेका छौं ? यस्तै आख्यानकार प्रेमा शाह, माया ठकुरी, गीता केशरी, भागिरथी श्रेष्ठ, शारदा शर्मा, कवि निबन्धकार डा. वानीरा गिरि, भुवन ढुङ्गाना, डा. बेञ्जु शर्मा, मन्जु काँचुली, मोमिला, सरिता तिवारी, सरस्वती प्रतीक्षा, सीमा आभास, कुमारी लामा हुँदै अन्य थुप्रै नारी प्रतिभाका सम्मानित स्वरुपहरू बनेका छन्, ती यस युग सापेक्ष लेखनका अभियन्ताहरू हुन्। यिनका लेखन समाजका कुरुप रुढीहरूलाई परिष्कार गर्दै नारी पुरुषको सहयात्राबाट स्वच्छ समाजको निर्माण गर्ने आधारमाथि तयार भएका हुन्छन्।
समाजसेवामा समर्पित विश्व व्यक्तित्व मदर टेरेसाले संसारको चिन्तनलाई नै नयाँ मोड दिइन् । समाजसेवाको नाम तडकभडक र देखावा होइन भन्ने सत्यको बत्ती बाल्न सक्षम ती नारीले आजका नयाँ पुस्तालाई सच्चा समाजसेवा के हो भन्ने कुरा बोलेर होइन, चुपचाप कर्मले सिकाउनसक्ने सामथ्र्य राखिन् । तिनकै पथमा हिँडेका सिस्टर निर्मला, अनुराधा कोइराला, पुष्पा बस्नेतहरू यो समाजको समष्टिले सम्मान गर्ने नारी व्यक्तित्व हुन् । ती जीवन मात्र होइन, नयाँ जीवन दिने कर्मयोगी हुन् । यी सबैका अघि फ्लोरेन्स नाइटिङ्गेल, हेलेन केलर, म्याडम क्युरीहरूको साहस नै पथप्रदर्शक छ र निरन्तर त्यो एउटा बाटोको सहयात्रामा परोक्षतः समाहित छ ।
साहसिक सहयात्रामा नारी
पारिजातले मानुषी कवितामा लेखेकी छन्,
तिमी जत्ति गर्न सक्छौ
त्यत्ति म पनि सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु...
इतिहासदेखि नै नारीलाई कमजोर साबित गरिने सामाजिक आधार भनेको पारिवारिक राजनीति नै हो । नेपाल लगायत लगभग सम्पूर्ण विश्वकै मानसिकता पुरुषकेन्द्री छ । प्रकृतिले पुरुषलाई बाहुबली बनायो र नारीलाई कमजोर भन्ने मान्यता पनि हिजोका पुरुषले नै तयार पारेको मान्यता हो । आज यी मान्यताहरू कविताको आवाज हुँदै व्यवहारमा पनि भत्किरहेका दृश्यहरू हाम्रा सामु छन् । हिजोका हरेक अनुमानित अवधारणाहरू सत्य नहुन सक्छन् भन्ने विश्वासलाई प्रमाणित गर्नका लागि आजका नारीहरू नै अग्रसर भइरहेका छन् ।
घरको राजनीतिक मोडेलमा निर्मित देशको राजनीति सामु प्रतिस्पर्धामा आइपुगेका उनीहरू असल भावनाका पुरुष सहयात्रीको अपेक्षा राख्छन् । यो समय प्रतिद्वन्द्विताको नभई सहयात्राको समय पनि हो । आज सुरक्षा निकायहरूमा सगर्व जिम्मेवारी लिएर उभिएका नारीहरूको साहसले आम नारीलाई हेरिने अतीतमुखी दृष्टिहरू फेरिएका छन् । पुरुषका लागि सम्बोधन शूर, वीर, जादुगर अनि नारीका लागि जून, फूलको आंशिक सत्यलाई आजको समाजशास्त्रले एकपक्षीय साबित गरिसकेको छ ।
वास्तवमा जापानकी जुनको तावे हुन् वा नेपालकी पासाङ ल्हामू, यिनले कोमलाङ्गी र कमजोरको अभिप्रायलाई नै बदलिदिएका छन् । आज खेतका गरागरामा हलोको अनौ समाई रहेका नारीहरू कमजोर त पक्कै होइनन् तर तिनका आँसुले मात्र सिँचेको खेतका पाटामा कति अनाज फल्न सक्ला, त्यसले कति बजार पाउला र कति आमदानी होला भन्ने पक्षको विडम्बना पनि सँगसँगै खेप्नु परेको छ । त्यसैले विवशता नै भए पनि विदेशका भूमिमा परिश्रमको कहाली लाग्दा परिवेशहरूसँग जुधिरहेका आमा, दिदी बहिनीहरूको कथाको शीर्षकमा कोमलाङ्गी र कमजोरको पुरानो गीत कति सुहाउला ? अब नयाँ व्याख्याको खाँचो छ !
निष्कर्ष
अन्तर्राष्ट्रिय नारी दिवसको यो सन्दर्भमा नारीका हक अधिकारका विषयहरू त उठ्छन् नै । प्रकृति जीवनका लागि खुला पुस्तकालय हो । ज्ञानको यस व्यापक परिवेशमा मानवका विविध कर्मको सामूहिक बाँडफाँड मानिसले नै गरेको हो । प्रकृतिले दिएका कर्म ग्रहणीय र मूल्यवान् हुँदाहुँदै पनि सामाजिक जीवनमा मानिसको अहम्लाई थप परिचयको खाँचो प¥यो ।
यही उच्चता बोधबाट शक्तिको चलखेल मानव सभ्यताको गतिसँगै बढ्दै गयो । अरू कतिपय अत्यावश्यक कुरामा पछाडि परे पनि मानिस शक्ति र शौर्यको अहम् प्रदर्शनमा सदैव अगाडि हुत्तिएको छ । यही क्रममा सृष्टिको वरदान मानिएका महिला र पुरुषलाई आपसी द्वन्द्वमा पु¥याएको छ । अन्य कुनै प्राणीमा नभएको विभेद नीति पितृसत्ताले निर्माण गरेको छ ।
यसले हार्दिक र बौद्धिक भन्ने मानवीय परिचयलाई नै विस्थापित गर्दै लगेको छ । समाजमा पुरुष र महिला भन्ने विशिष्ट परिचयलाई लैङ्गिक कारणले शक्तिशाली र निमुखा भनेर परिभाषित गर्ने काम पितृसत्ताले गरेपछि नै यो अवस्था सिर्जना भएको हो । पुरुष समाजमा महिलासँग बौद्धिक र हार्दिक व्यवहार भन्दा पनि बासनात्मक र अत्याचारी व्यवहार प्रदर्शित हुन थाले । अन्ततः युग बित्यो । जडवादी सोचले गाडेको जरा बल्ल मक्किन थाले पनि औपचारिक शिक्षा र सिर्जनात्मक कर्ममा महिलाको अवस्था र योगदान पछाडि परेको सत्यलाई स्विकार्नुको विकल्प रहेन ।
शिक्षित भए भने महिलाले घरको कामकाज र पुरुषको सुख ख्यालमा चासो राख्दैनन् र तिनलाई प्रशस्त उपभोग गर्न पाइँदैन भन्ने पुरुष मानसिकताका कारण महिलालाई बौद्धिक सहभागिताबाट टाढै राख्ने गरियो । महिलाले सामाजिक विषयमा बोले भने ‘पोथी बासेको’ भन्ने अपमानजनक भनाइ खेप्नु प¥यो । तर पनि नेपोलियनले “मलाई एउटा शिक्षित आमा देऊ, म तिमीलाई शक्तिशाली राष्ट्र दिन्छु” भनिएको इतिहासले आज फेरि पुनरावृत्ति पाएको छ । प्रत्येक घरबाट छोरीलाई शिक्षा भन्ने आवाजसँगै विद्यालय र कलेज हुँदै देशदेखि विदेशसम्मको शैक्षिक यात्रामा महिलाका पाइतालाको धुनहरूको सङ्गीत गुन्जिरहेको सुनिन्छ ।
शिक्षामा महिला सहभागिता र योगदान कम हुनुमा देशको संस्कृति, राजनीति, समाज, भूगोल, अर्थ र पर्यावरणको निकै ठूलो भूमिका छ । सृष्टिको आदिकालदेखि नै महिलाले पुरुषलाई सम्मानजनक यात्रामा हिँड्न प्रेरित गरे भने पुरुषले महिलालाई सुरक्षाको नाममा, अस्मिताको रक्षाको नाममा लाटी र सुधी बनाएर जमेको पोखरीजस्तो आफ्नै गति हराएको निरीह जीवन दिए । यही विवशतालाई समेट्दै छोराको जन्मसँग उत्साह र छोरीको जन्मसँग घृणा पाल्दै महिलाले आफ्नै सजातीयतामाथि अन्याय गर्दै आए ।
यी सबको पछाडि लैङ्गिकताका आधारमा गरिने शारीरिक र मानसिक भेदभाव नै मूल कारण थियो । छोरीलाई अर्काको घर जाने र अर्कालाई कमाइ सुम्पने जात भनी न माइतीको अंश न शिक्षाको अधिकार, यी दुवैबाट बञ्चित गरियो । अर्काको घरमा आया बनाएर बिदाइ गर्ने प्रवृत्तिले छोरी जाति जहिले पनि पराधीनतामा बाँच्न विवश भए । स्वेच्छाले आफ्नो भविष्य र आफ्नो जीवनका बारेमा निर्णय गर्नेलाई समाजले अनेक लाञ्छना लगाउने, यातना दिने र असहयोग गर्नेसम्मका अमानवीय कर्म हुन थालेपछि महिलालाई आत्ममूल्याङ्कन गर्न बाध्य बनायो।
पश्चिममा महिला आन्दोलन सुरु भयो, नारीवादका नाममा महिलामाथिका सबै खाले लैङ्गिक हिंसा विरुद्धमा आवाज उठे । सह र बहिष्कार दुवै खाले सोचहरू आए र आइरहेका छन् । यहाँ शिक्षाको अधिकारबाट बञ्चित महिला समुदायको कथा निकै मार्मिक छ । बोक्सीको रूपमा यातना दिइनु, सौताको रूपमा अर्काको घरमा भित्रिइनु, सासु बुहारीका नामको द्वन्द्वमा अल्झिनुदेखि दाइजोको पीडा र बलात्कारको पीडा, छाउपडी, बादी, कमलरीजस्ता यौनहिंसाका पीडा पनि महिलाका भागमा परेका सामाजिक अत्याचार हुन् । यी विषयले गर्दा सानैदेखि महिलालाई सामाजिक बन्धनयुक्त परिवेशभित्र बाँधेर राखियो ।
नेपालको इतिहासमा त झन् महिला, त्यसमाथि दलित महिलाजस्ता तह तहका स्त्री उपेक्षिताको अवस्था रहेको छ । शरणार्थी महिलाको अवस्थाको कहाली लाग्दो अनुहार पनि हाम्रै माटोमा लिपिएर आएको प्रमाण हामीसँग छ । साहित्यमा महिलाको भूमिका सधैँ कमजोर मातृजाति र रतिकामनाका प्रयोजन बाहेक वीरता र सौर्यका निम्ति आउनै नसकेको चोटिलो अनुभव पनि जीवित छ । अफिस कार्यालयमा महिला भएकै कारण श्रमको मूल्य नपाइने र कामको अवसरबाट बञ्चित हुनुपर्ने जस्ता विभेदहरू पनि महिलाले भोगेकै छन् । चलचित्रजस्तो समाजसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा महिलालाई प्रस्तुत गरिने सौन्दर्यको नग्न प्रदर्शन र बौद्धिकताको विपरीत प्रदर्शनीले हरेक क्षेत्रमा शिक्षाको अभाव अनुभव हुन्छ ।
अगाडि बढेका महिलाहरू पनि अत्यधिक सङ्घर्षका कारण पुरुषका प्रतिशोधी भएर उच्च अहम्को सिकार बनेका उदाहरण पनि छन् । अतः शिक्षाको वास्तविक अवसर दिन महिला पुरुषको विभेद नगरीकन शैक्षिक चेतना बढाउने, परम्परागत अन्धधारणा हटाउन प्रयास गर्ने, अपूर्ण शैक्षिक स्तरबाट जोगाउन छिटो हुने विवाहलाई रोक्ने, छोरीमाथि लगाइने अनावश्यक बन्देज र घरका कामको बोझ हटाउने, महिला शिक्षाप्रति रहेका नकारात्मक सोच हटाई शिक्षामा महिला सहभागिता बढाउनेजस्ता महत्त्वपूर्ण विषयलाई व्यवहारिकतामा ल्याउनु अति आवश्यक छ।