मेरी आमा,
मैले अर्को जन्म लिएँ
हो मैले पुनर्जन्म लिएँ
तिम्रो र बाबाको समागमबाट होइन
आफ्नै विद्रोहरूपी कोखबाट लिएँ
बाबाको वचन र तिम्रो मौनता सहन सकिनँ
त्यसैले मरेर पुनर्जन्म लिएँ।
मेरो लिङ्ग हेरेर अब रुने छैनन् कोही
न बाबा, न आमा।
किनकी,
यो जीवनमा हक कसैको लाग्ने छैन
न छ अस्तित्व तिमीहरूको मेरो जीवनमा
अब म उभिँदैछु
तिमीहरूकै विरुद्ध
तिमीहरूको निकृष्ट सोचविरुद्ध
कुसंस्कारी समाजविरुद्ध।
मेरी आमा,
अब म कमजोर छैन
पूर्वजन्ममा तिमी र तिम्रो परिवारको
हन्डर खाएर म निकै बलवान भइसकेँ
मैले अथाह साहस बटुलिसकेँ
तिमी जस्ताको मौनता र बाबा जस्ताको वचनरूपी वाण तोड्ने।
हो,
लिङ्ग भएकाहरूका अगाडि उभिने
मैले आँट बटुलिसकेँ।
मेरी आमा,
मैले पुनर्जन्म लिएँ
तिमीसँग भएजस्तै लिङ्गको साथ लिएँ
तिमी जन्मे हुर्केकै समाजमा लिएँ
दाइजो नपुग्दा झुण्ड्याई मार्ने समाजमा लिएँ
अर्कै खालको लिङ्ग भएकाहरूसँग बोल्यो मात्र भने पनि
ज्यूँदै जलाएर मार्ने समाजमा लिएँ।
तर,
यो जन्म खेर फाल्ने छैन मैले
तिमीजस्तै गरी मौन बस्ने छैन म
किनकी म सहन सक्दिनँ
तिम्रा यस्ता बकम्फुसे रिवाज
हो, म सक्दिनँ
मेरा ईच्छा आकांक्षा मारेर
तिम्रो रिवाजको पछि दौडन।
मेरी आमा,
तिमीलाई लाग्दो हो, तिमी बाँधिएकी छौ
मर्यादाको डोरीले कसिएकी छौ
कथित संस्कारको जञ्जिरले जकडिएकी छौ
तर होइन मेरी आमा
तिमी आफ्नै कारणले रोकिएकी छौ।
ए मेरी आमा,
हेर्दै जाउ
कसरी म कथित मर्यादाको डोरी चुँडाल्छु
हेर्दै जाउ
कसरी म कथित संस्कारको जञ्जिर टुक्रा–टुक्रा हुने गरी छिनाल्छु
हो, हेर्दै जाउ
कसरी म लिङ्ग नहेर्ने समाज बनाउँछु।