काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्ल अपहरणमा परेकी छन्। पार्टीको कार्यक्रममा सहभागी भएर गृहजिल्ला बझाङबाट फर्कँदै गर्दा आज सांसद मल्ललाई नेत्र विक्रम चन्द नेतृत्वको नेकपा पार्टीका कार्यकर्ताले अपहरण गरेको बताइएको छ।
उनलाई बझाङको बुगल नगरपालिका बिजगडाबाट ३/४ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले मुखमा कालो पट्टी बाँधेर अपहरण गरेको बझाङ जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नयन सिंह साउदले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेकी मल्लको उद्वारका लागि प्रहरी परिचालन गरिएको बताएका छन्।
मल्ल गतवर्ष कार्तिकमा सम्पन्न प्रदेश सभा निर्वाचनमा बझाङ (ख) बाट तत्कालीन माओवादी केन्द्रबाट विजयी भएकी थिइन् ।