जलेश्वरी श्रेष्ठ (२००३) नेपाली आख्यानमा सुपरिचित नाम हो। उनका तीन वटा कथा सङ्ग्रहहरू लाभाका वाफहरू, म्यारिज एनिभर्सरी र अन्य कथा तथा फूल फुल्ने गमला प्रकाशित छन्। उनको उपन्याय नियतिचक्रले नारी स्वतन्त्रताकै पक्षमा वकालत गरी विभिन्न पुरस्कारहरू प्राप्त गरेको छ। मूलत: नारीकेन्द्रित विषयलाई लिएर विभेदका विरोधमा कलम उठाएकी श्रेष्ठले नारी समाजका समस्यालाई समाधान गर्न चेतना जगाउने लक्ष्य राखेकी छन्। आख्यानकार श्रेष्ठसँग नेपाली पब्लिकका लागि डा. गीता त्रिपाठीले गरेको कुराकानी:
साहित्य लेखनमा आउनका लागि नेपाली आख्यान नै किन रोज्नुभयो?
–यसमा दुई कुरा छन्। पहिलो त नेपाली भाषा, अनि दोस्रो आख्यान विधा। म नेवार समुदायको महिला। त्यसमा पनि काठमाडौंमा जन्मिहुर्की आफ्नै मातृभाषामा बोली व्यवहार गर्ने मान्छे। भाषा जुन बोले पनि पीडा त महिलाका एकै छन्, सांस्कृतिक हिसाबले अलिक घटीबढी मात्र हो। विवाहअघि र पछिका धेरै पारिवारिक र सामाजिक अनुभवले मलाई विभेद र शोषणसँग परिचित गरायो। सहनुको एउटा सीमा नाघेपछि सायद म विष्फोट हुन खोजेँ। मेरो विष्फोटन परिवार र समुदायसम्म मात्र सीमित थिएन, राजनीति, राज्य सरकार र कानून व्यवस्थासँग पनि थियो। त्यसैले जति नै कठिन भए पनि मैले नेपाली भाषामा सशक्त आवाज बाहिर आओस् भन्ने चाहेँ। सुरुमा त पहिले मातृभाषामा लेखेर त्यसलाई नेपालीमा अनुवाद पनि गरेँ। पछिपछि नेपालीमै लेख्न थालेँ। विधागत हिसाबले पनि पहिले नै आख्यानमा हात हालेकी होइन। कविताबाट आफ्नो विद्रोह प्रकट गर्ने कोसिस गरेँ। विचारप्रधान लेख पनि तयार पारेर प्रकाशित गरेँ तर जुन मसिना कुरा पारिवारिक संस्कारदेखि सामाजिक संस्कृतिबाट विस्तारित भएर राजनीतिमा पुगेको छ, पितृसत्ताका त्यस्ता विभेदजन्य व्यवहारप्रतिको प्रतिराेधी चेतना जुन वर्गमा पुर्याउनु थियो, त्यो कथाबाहेक अरू विधामार्फत सम्भव नहुने देखेँ। त्यसैले सामान्य पाठकका लागि सरल शैलीमा कथा बाचेँ भने यसलाई धेरैले रुचिले नै पढ्लान् र थाहा नपाउने गरी समाजको चेतनामा सकारात्मक असर पर्ला भन्ने सोच राखेर आख्यान विधामा प्रवेश गरेकी हुँ।
तपाईंले नारीकेन्द्रित विषय नै प्रमुखताका साथ रोज्नुको कारण के हो?
–म जुन समाजको सामाजिक जीवनमा सरिक भएँ, त्यहाँ हजुरआमा, आमा, काकी र दिदीहरूका आँसुले लफ्रक्कै भिजेँ। पितृसत्ताधारी परिवार र नाताभित्रकै कतिपय विभेदकारी व्यवहारले म अशान्त हुन्थेँ। आमाहरूसँग आँसु थियो, जवाफ थिएन। आमा ‘मीसा पापी’ अर्थात् कुन जन्मको पापले छोरी मान्छे भएर जन्मनु परेको भन्ने परम्पराले लादेको रुढिमै मलाई आश्वस्त पार्न खोज्नुहुन्थ्यो, म हैरान हुँदै उहाँहरूसँगै रुन्थेँ। एउटा घटनाले मेरो धैर्य टुट्यो। मेरी उमेरदार काकी विधवा भएपछि समाजमा एक प्रकारले उनको अस्तित्व समाप्तै भयो, उनले धेरै दुःख पाइन् तर पुरुषका सम्बन्धमा ऊ सदैव स्वतन्त्र। अझ मेरा एक जना बाजेले भने धेरै श्रीमती ल्याउँदा पनि घरसमाजमा उनकै रवाफ ठूलो! मैले काकीका पक्षमा बाजेसँग प्रश्न गर्दा कुटाइ खानुपर्यो। त्यसपछि म निशब्द रहेँ धेरै वर्ष। दु:खले रुँदा आँसुको मूल्य नहुने, सम्झौता गर्न खोज्दा आँखाको अस्तित्व नहुने।
केही गरे पनि मनले शान्ति पाउन नसकेपछि गुञ्जनले जुराएका मेरा साथीहरू माया ठकुरी, पद्मावती सिंह र भागीरथी श्रेष्ठलाई यस विषयमा अलि खुलेर लेख्न भनेँ, उहाँहरूका कथाले मेरो हृदयको विद्रोहलाई न्याय देओस् भन्ने लाग्यो, किनकि उहाँहरूको भाषा र भाव बलियो थियो तर उहाँहरूले साहित्यको मर्यादा राख्नुपर्छ भन्ने लाग्यो होला, जुन त्यसबेलाको समाज निर्देशित थियो। पछि मैले मेरा अघिल्ला दुई पुस्ता आमा र हजुरआमाका पीडा हुँदै म भन्दा पछिका मेरा छोरीहरूले समेत यस्तै समाजका वाधासँग अल्मलिनुपर्ने परिस्थिति मैले अनुभव गरेँ, हो, त्यसपछि म एकप्रकारले विप्लवै भएँ। म नारीका समस्याको यथार्थलाई मस्तिष्कको आगोमा सल्काएर बाहिर निस्किएँ, आख्यान त एउटा माध्यम मात्र भयो, त्यसको उद्देश्य महिला अधिकार नै थियो।
एउटा महिलाको परिचय पारिवारिक मात्रै हो कि सामाजिक पनि हो?
–हो, समस्या महिलालाई सामाजिक नमान्ने पितृसत्ताको सङ्कुचित मानसिकताबाटै सुरु भएको हो। उसले जन्माएको छोरो उसैमाथि शासन गर्न आइसक्दा पनि महिला सधैैं परिवारको मर्यादा पालक मात्रै हुने कहाँको चलन हो, हामीलाई लादेको। समाज महिलाको समर्पण र प्रेमले बन्छ, तर ऊ सदैव असामाजिक हुन्छे। सामाजिक हुन खोज्दा ऊ आइमाई केटाकेटीमा दरिन्छे। उसलाई प्राकृतिक होइन, सामाजिक उपयोगिताको वस्तु बनाइँदै आएको म सहन सक्दिनँ। समाज महिला र पुरुष दुवैको हो, महिला परिवार हुँदै समाजको प्रतिनिधि बन्ने क्षमता राख्छन् भने ती सामाजिक किन नहुने? अब त यस्ता बहसले केही सकारात्मक परिणाम पनि दिइसकेको अवस्था छ। अब चेतना फैलाएर यो समाज मेरो होइन, हाम्रो भन्ने भावले महिला पुरुषको द्वन्द्वको अन्त्य भएकै राम्रो।
महिलालाई आमा, पत्नी वा प्रेमिका बनाएर वर्णन गर्ने पुरुष लेखक त छन् तर महिलालाई स्वतन्त्र मानिसका रूपमा उसका अधिकार र अस्तित्वका विषयमा कलम चलाउने पुरुषको अझै खाँचो छ।
नेपाली पुरुष लेखकहरूले महिलाका विषयलाई कसरी लेखिरहेका छन्?
–जसरी तिनले व्यवहार गर्छन्, जे तिनीहरू सोच्छन्, त्यही लेखिरहेका छन्। कोही महिलाको विषय हो, पुरुषले नलेख्दा के बिग्रन्छ भन्ने लेखक छन्, कोही पुरुषले लेख्दा न्याय हुँदैन भन्ने पनि छन्। आजको मात्र कुरा होइन, परम्परादेखि नै नारी एउटा विषय मात्र भएको छ, चरित्र हुन सकेको स्थिति छैन। इतिहासमा केही चरित्र बनाएका छन् पुरुषले, सीता, द्रौपदी, राधा जस्ता। यो समाजका महिलालाई भने पुरुष लेखनले सम्बोधन गर्न सकेका छैनन्। महिलालाई आमा, पत्नी वा प्रेमिका बनाएर वर्णन गर्ने पुरुष लेखक त छन् तर महिलालाई स्वतन्त्र मानिसका रूपमा उसका अधिकार र अस्तित्वका विषयमा कलम चलाउने पुरुषको अझै खाँचो छ।
मातृत्व र स्त्रीत्व कुन विषयमा लेख्दा तपाईंलाई सन्तुष्टि मिल्छ?
–मेरो दृष्टिकोणमा मातृत्व र स्त्रीत्वका आआफ्ना सीमा छन् र समानता पनि छन्। स्त्रीत्वका विषयले मलाई पूर्ण, स्वतन्त्र र अस्तित्वमयी अनुभूति दिन्छ। मातृत्वको विषयले प्रकृतिको नजिक पुर्याउँछ। यी दुवै अनुभूतिले म सन्तुष्ट हुन्छु बरु दुःख त यस्ता विषयमा पढ्न नपाएर पो लाग्छ।
कुनै यस्तो घटना, जसले तपाईंलाई आख्यान नलेखी धरै दिएन, त्यस्तो कुनै सम्झना छ?
–छ नि, दुई दशकअघि मैले चितवनमा महिला साहित्यकारको एउटा बृहत् गोष्ठी आयोजना गरें। लगभग ३०–३५ जना चिन्तनशील महिला लेखकहरूलाई एकै ठाउँमा भेला गराएर महिलाका समस्याका जल्दाबल्दा विषयलाई कसरी साहित्यमार्फत उजागर गर्ने भन्ने विषयमा छलफल चलाएँ। सबैले मभित्र उम्लिरहेको लाभाको अनुभव गरे र मलाई समाजसेवाबाट लेखनमा आउन प्रेरित गरे। मैले खासमा त आफै लेखक बन्नुभन्दा बलियो कलमको साथ खोजेको थिएँ तर महिला लेखकहरूले मलाई तिमी नै सक्छौ भनेर हौस्याएपछि मैले यसको आरम्भ गरेँ। म कुनै कथाकार हुँला भनेर कथा लेख्न थालेकी होइन, मलाई दबिएको आवाजलाई स्पेस दिन मात्र लेख्नु थियो। मैले मेरो पहिलो कथा सङ्ग्रह लाभाका बाफहरूमा जस्ता विषयको उठान गरेकी थिएँ, त्यो सामान्य गृहिणीले गर्नसक्ने हो जस्तो मलाई लाग्दैन। म बीए पास गरेकी चेतनशील महिला भएकैले मेरो स्वचेतना लाभामा परिणत हुनसक्यो। त्यस ऊर्जालाई निकास दिने त्यो भेला मेरो लेखन आरम्भका निम्ति खास घटना हो भन्ने मलाई लागिरहन्छ।
महिला पछाडि पारिनुमा लैङ्गिक वा वर्गीय कुन पक्षले बढी भूमिका खेलेको ठान्नुहुन्छ?
–आर्थिक रूपले पछाडि पर्नुमा पनि लैङ्गिक विभेद नै मूल रूपमा आउँछ। तर आर्थिक स्थिति सबल भएका एकाध महिलाहरूको रवाफलाई नहेर्ने हो भने अधिकांश महिलाका पीडा सामाजिक छ। त्यसैले लिङ्ग र वर्ग दुवै, महिलालाई दोहोरो शोषण गर्ने पितृसत्ताले प्रयोग गदै आएका दोहोरो हतियार हुन्। यी दुवै स्थितिले भन्दा पनि पुरुषका न्याय कानून निर्माणका परम्परावादी सोच र सांस्कृतिक पुनर्निर्माणको अभावले महिलालाई पछाडि पारेका छन्। राज्य व्यवस्थाले अवसर दिए महिला चेतना र कार्य दक्षता दुवै तहमा अघि आउनसक्ने दृष्टान्त आजको नेपाली राजनीति, प्रशासन र शिक्षा तथा कलाका विविध क्षेत्रमा महिलाको प्रतिनिधित्व आफै छ।
नातिनीको उमेरकी गरिब चेलीलाई श्रीमती बनाई ल्याएर शोषण गर्ने जमिन्दार र उसैको जेठो छोरो, जसले कान्छीआमा र छोरा बिचको नातागत मर्यादा समेत भत्काएको छ, ती दुवैले महिलालाई वस्तु मात्र ठानेर उपयोग गरेकाले तिनका चरित्र सम्झ्यो कि मेरो मन क्रोधित बन्छ अहिले पनि।
तपाईंलाई आफ्ना आख्यानमा सबैभन्दा गर्व लाग्ने र सबैभन्दा करुणा लाग्ने पात्र को–को हुन्?
–मलाई आफूले प्रस्तुत गरेका पात्रहरूले कुरीतिका विरुद्ध बोल्न थालेको असाध्यै मन पर्छ। म चाहन्छु मेरा पात्रहरू विभेद र अन्यायका विरुद्ध विद्रोह गरून्। त्यस्ता पात्रहरू निर्माणअघि म यही समाजमा भई आएका विभेदकारी यथार्थभित्र घोत्लिन पुग्छु। निमुखाहरूलाई जब लेखकीय चेतनाले अलिकति बोल्न सिकाउँछु, अनि त ती ‘हो त नि! अब मैले यो मुर्दा शान्तिबाट बाहिर निस्किनुपर्छ’ भन्दै सक्सकाउन थाल्छन्। अनि म ढुक्कसँग आवाजविहीनका पीडाहरूको उन्मुक्ति महसुस गर्न थाल्छु। मेरो ध्येय नै यस्ता धेरै पात्र सिर्जना गर्नुभएकाले यस्ता गर्व गर्न लायक पात्र थुप्रै छन् तर अहिले सम्झनुपर्दा चाहिँ लोग्नेको मूल्य कथाकी श्रीमाया, चुनौती कथाकी पात्र, (नाम बिर्सिएँ) अनि टेस्ट्युव बेबी कथाकी रमा जस्ता साहसी पात्र आँखा सामु आउँछन्। यसरी नै माया लाग्ने पात्र भनेका विद्रोह गर्न नसकेर अन्यायमा परेका पात्र नै छन्। मेरा कथामा पनि यस्ता निमुखा, निरीह र कुण्ठित जीवन बिताउन बाध्य पारिएका महिला पात्र प्रशस्त छन्। पहिलो कथा सङ्ग्रहमा मेरो ध्येय नै महिला सशक्तीकरणको आवाज बुलन्द गर्नु भएकाले करुण पात्रको सिर्जना कम भएको छ तर पछिल्ला कथा सङ्ग्रहहरू म्यारिज एनिभर्सरी तथा फूल फुलाउने गमलाका अधिकांश पात्रहरू माया लाग्दा भेटिन्छन्।
तपाईंले विषय र पात्रबिच कसरी सन्तुलन मिलाउनुहुन्छ?
–मेरा पात्रहरू कल्पनाभन्दा बढी तथ्यमा टेकेका हुन्छन्। यही समाजको विषयलाई यही समाजका पात्रका भोगाइका सापेक्षतामा प्रस्तुत गर्ने उद्देश्य राखेकी हुनाले म मैले लिएको विषय र पात्रबिच सहजै सन्तुलन मिलाउन सक्छु। मैले सिर्जना गरेका पात्रहरू मेरा विचार प्रस्तुत गर्ने माध्यम हुन् त्यसैले यी मेरा निम्ति बाधा हुँदैनन्, सहकर्मी पो बनेका हुन्छन्। म तथ्यमा टेकेर यथार्थ लेख्ने आख्यानकार भए पनि कथा भनेपछि लेख्न सहज हुने भएकैले यो विधामा आएकी हुँ। त्यसैले कहिले यथार्थ र कल्पना ५०/५० प्रतिशत हुन्छ। कहिले त ७५ प्रतिशत यथार्थ र कल्पना २५ प्रतिशत मात्रै पनि हुन्छ। तर कथा र परिवेश अनुसारका सजीव भएर उभिने पात्रकै ज्यादा खोजी गर्छु ताकि मेरो प्रतिरोध स्पष्ट होस्।
कुनै पात्र छ असाध्यै रिस उठेको?
–मलाई तृष्णातृप्ति कथाको बूढो पात्र जमिन्दार र उसको छोरो दुवै सम्झ्यो कि असाध्यै रिस उठ्छ। नातिनीको उमेरकी गरिब चेलीलाई श्रीमती बनाई ल्याएर शोषण गर्ने जमिन्दार र उसैको जेठो छोरो, जसले कान्छीआमा र छोरा बिचको नातागत मर्यादा समेत भत्काएको छ, ती दुवैले महिलालाई वस्तु मात्र ठानेर उपयोग गरेकाले तिनका चरित्र सम्झ्यो कि मेरो मन क्रोधित बन्छ अहिले पनि। यस्ता अरू पात्र पनि छन्, अहिले झट्ट नसम्झिएका।
धेरै बिक्ला भनेर होइन, समाजको उत्थानका निम्ति राज्यव्यवस्थाको आँखा खोल्नका निम्ति मैले महिला लेखकले उठाउन डराइरहेको विषयलाई ‘लाभाका वाफहरू’मा प्रस्तुत गरेँ।
महिला लेखनमा के कस्ता चुनौतीहरू रहेको पाउनुभएको छ?
–पहिलो चुनौती त घरैबाट छ। मलाई पहिलो कथा सङ्ग्रह लेखिरहेको समयको सम्झना आउँछ। मेरो श्रीमान् कवि लेखक नै हुनुभएकाले मलाई उहाँले लेख्न रोक्नुभएन। मैले उठाएका विषयमाथि त झनै चुनौती थियो, तर उहाँले तिमी अब आफूलाई मन लागेको लेख भनेर स्वीकृति दिनुभयो। अवरोध बन्नुभएन। कृति विमोचन हुनुअघि मेरा नातागोताका महिलाहरू खुबै डराएका थिए। यस्तो किन लेखेको? अब कसरी मुख देखाउनु घरमा? तिमीले त हाम्रो इज्जतै फालिदियौ, हामीलाई अप्ठ्यारो पारिदियौ भनेका थिए, तर मलाई श्रीमान्को सहयोग थियो। म गलिनँ। जब कृति आयो अनि म तिनै नातागोताका पुरुषसम्बन्धीहरूले फोनबाट दिएका प्रतिक्रिया सुन्दै नभ्याउने भएँ। उहाँहरूले मलाई धन्यवाद भन्नुभयो।
[caption id="attachment_23743" align="alignnone" width="830"]
आफ्ना श्रीमान् द्वारिका श्रेष्ठका साथमा आख्यानकार जलेश्वरी श्रेष्ठ।[/caption]
हामीले आफ्नो श्रीमती, आमाहरूका पीडा यस्ता पनि हुन्छन् भनेर कहिल्यै सोचेकै पो थिएनौं, तिमीले त हाम्रो आँखा खोलीदियौ भन्ने भनाइले म छक्कै परेँ। वास्तवमा सेयरिङ भनेकै केयरिङ पनि हो कि जस्तो पो लाग्यो त्यसपछि त! त्यसैले चुनौती खेपेर समाजलाई अघि बढाउन सकिन्छ, डराएर त पहिलेकै ठाउँमा पनि अडिन सकिँदैन भन्ने लाग्छ मलाई।
यौन विषयलाई पहिलो कथा सङ्ग्रह ‘लाभाका वाफहरू’मा निकै खुला रूपले प्रस्तुत गर्नुभएको छ, किन यस्तो अराजक हुनुपर्यो?
–अघि पनि भनेँ नि, यौन एउटा जैविक पक्ष हो भन्ने थाहा हुँदाहुँदै पनि महिलाहरू नै यसका विषयमा लज्जित भइरहनुपरेको मलाई सह्य भएन। अझ सन्तान उत्पादनमा महिला पुरुषको समान सहभागिता रहन्छ, कहिलेकाहीँ त अझ पुरुषकै इच्छा मात्रले महिला बच्चा जन्माउनुपर्ने बाध्यतामा पर्छिन्। तर जब बच्चा जन्मिन्छ, अनि नागरिकता आमाको नामबाट दिन नमिल्ने कानून बनाएर महिलालाई व्यक्ति, समाज र राज्यपक्षले नै शोषण गरिरहेको मलाई मन परेन। विदेशीसँग विवाह गरेका छोरीहरूको समस्या उत्तिकै। यसैले यौन पुरुषको मात्र होइन, नारीको पनि नैसर्गिक विषय हो र बच्चा महिलाको मात्र दायित्व होइन, पुरुषको पनि दायित्व हो भन्ने बुझाउनका निम्ति नै मैले सबैभन्दा नछोइएको यस महत्त्वपूर्ण विषयको छनोट गरेकी हुँ। धेरै बिक्ला भनेर होइन, समाजको उत्थानका निम्ति राज्यव्यवस्थाको आँखा खोल्नका निम्ति मैले महिला लेखकले उठाउन डराइरहेको विषयलाई ‘लाभाका वाफहरू’मा प्रस्तुत गरेँ।
तपाईंले महिला लेखनलाई प्रोत्साहन गर्न के कस्ता जिम्मेवारी लिनुभएको छ?
–म गुञ्जन र जलरिका दुई साहित्य संस्थासँग सम्बद्ध छु। यी दुईमध्ये पहिलो संस्थामा मैले धेरै महिला लेखकहरूसँग सहकार्य गर्ने मौका पाएकी छु। लेखनमा आउन चाहने र राम्रो प्रतिभा भएकाका निम्ति गुञ्जन प्रतिभा पुरस्कारका निम्ति अक्षयकोषको व्यवस्था गरी सघाएकी छु। जलरिकाको पनि यही उद्देश्य छ। लेखेर त छँदैछ, बेलाबेलामा गोष्ठी भेलाहरूसहितको अन्तरक्रिया आयोजना गरेर पनि म महिला लेखनमा आवाज नभएकाको पक्षमा विषय छानी लेख्न प्रेरित गरिरहन्छु।
आजसम्म जस जसलाई सो पुरस्कार प्राप्त गरेका छन्, ती पात्रप्रति सन्तुष्ट हुनुहुन्छ?
–गुञ्जन नारी साहित्य संस्थाबाट प्रदान गरिँदै आएको गुञ्जन प्रतिभा पुरस्कार तथा जलरिका साहित्य संस्थाबाट प्रदान गरिएका पुरस्कारहरूप्रति सही पात्रमै परेको मेरो अनुभव र प्रतिक्रिया छ। योग्य निर्णायक मण्डलबाट छनोट गरिएका पात्रलाई विधागत सन्ुतलन कायम गरी आजसम्म दिइँदै आएको यस पुरस्कारप्रति म पूर्ण सहमत र सन्तुष्ट छु।