रामबहादुर थापा, बागलुङ - बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवर्द्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ। स्थानीयवासी बेलढुङ्गाकाे पर्यटन प्रवर्द्धनमा कस्सिएर लगेका छन्।
पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दी, बेनी नगरपालिका–३ भकिम्लीसँग जोडिएको छ। प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर)का रूपमा समेत परिचित बेलढुङ्गासहित आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न स्थानीयवासी कस्सिएका हुन्।
बेलढुङ्गा नजिकैको ‘स्वर्गाश्रम’मा दुवैतर्फका सरोकार पक्षबीच पर्यटन विकासमा हातेमालो गर्ने सहमति बनेको हो। धम्जा, ओखलेस्थित ‘बेलढुङ्गा सामुदायिक घरवास’ को आयोजनामा भएको भेलाले पर्यटकीय पूर्वाधार निर्माणमा दुवैतर्फबाट पहल अघि बढाउने निर्णय गरेको छ।
काठेखोला गाउँपालिका–३ का अध्यक्ष यामबहादुर श्रीसले बेलढुङ्गामा पर्यटकीय पूर्वाधार अभाव रहेको बताए। “पदमार्गमा यो वर्ष रु. २ लाख वडाबाट छुट्ट्याइएको छ,” उनले भने, “पर्यटनमा बजेट कम छ, अब बढाउँछौँ।”
गाउँमा पर्यटन विकास हुनसके बसाइँसराइ रोकिनुका साथै सर्वसाधारणको जीवनस्तर उकास्न सकिने उनको विश्वास छ। बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुनले पर्यटनमा धम्जा र भकिम्लीबीचको दिगो सहकार्यमा जोड दिए।
‘पर्यटनका लागि सबैले हातमालो गरौँ’ उनले भने, “गाउँको समृद्धिको आधार पर्यटन बन्न सक्छ।” नगरपालिकाबाट चालू आवमा स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको विकासका लागि रु. ७ लाख बजेट छुट्याइएको छ।उक्त बजेट सडक र पदमार्गमा खर्च हुनेछ।
सदरमुकाम बेनी बजारबाट १८ किमीको दूरीमा अवस्थित बेलढुङ्गा जोड्न करिब २ किमी सडकको मार्ग खोल्न बाँकी छ। बागलुङतर्फबाट पनि ४ किमी सडकमार्ग जोडिन बाँकी छ।
बागलुङतर्फबाट भकिम्ली जोड्ने सडक काठखोला गाउँपालिकाको गौरवको योजना हो। दुवै जिल्लाको सीमास्थल देउरालीबाट बेलढुङ्गा चढ्ने बाटोमा भने पदमार्ग बनाउने योजना छ। पदमार्गका लागि दुवै वडाले बजेट विनियोजन गरेका छन्।
पदमार्गसँगै बेलढुङ्गामा घेराबार लगाउने, ‘रेलिङ’ राख्ने, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ। समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा अवस्थित बेलढुङ्गा दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य हो।
बेलढुङ्गाबाट हिमशृङ्खलासँगै बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा र गुल्मीका मनोरम भूभागको अवलोकन गर्न सकिन्छ। प्राकृतिक र जैविक हिसाबले समेत महत्त्वपूर्ण बेलढुङ्गा क्षेत्रमा बहुमूल्य जडीबुटी पाइनुका साथै जङ्गली जनावरको वासस्थान छ।
बेलढुङ्गादेखि तल आधा घण्टाको पैदल दूरीमा रहेको स्वर्गाश्रम पनि त्यसक्षेत्रको धार्मिक र सांस्कृतिक महत्त्व बोकेको ठाउँ हो। म्याग्दीको तातोपानी–स्वर्गाश्रम–बेलढुङ्गालाई जोडेर विशेष पर्यटन क्षेत्र घोषणा गर्न पहल गर्नुपर्ने धौलागिरि पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताए।
उनले भने, “बेलढुङ्गालाई आधार मानेर बागलुङ र म्याग्दीले पर्यटनमा मितेरी साइनो लगाएर काम गर्न आवश्यक छ।” मुस्ताङ आउने पर्यटकलाई बेनी, तातोपानी, स्वर्गाश्रम, बेलढुङ्गा हुँदै बागलुङ भित्र्याउन सकिने उनको भनाइ छ। गण्डकी प्रदेश सरकारले सूचीकृत गर्ने प्रदेशभित्रका उत्कृष्ट १ सय पर्यटकीय गन्तव्यमा बेलढुङ्गालाई पार्न सबैको पहल आवश्यक रहेको अध्यक्ष कँडेलले बताए।
ग्रामीण पर्यटनका अभियन्ता अग्नि कँडेलले बागलुङ र म्याग्दीमा कृषि, धार्मिक, सांस्कृतिक, प्राकृतिक र रैथाने पर्यटनको सम्भावना रहेको उल्लेख गरे। “पर्यटन एउटा उद्योग हो, यसमा जो कोही जोडिन सक्छ,” उनले भने, “उद्यमशीलता विकास र रोजगार सिर्जनाका लागि पर्यटन विकासमा सबैले हातेमालो गरौँ।”
बेलढुङ्गा सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष टेकबहादुर पुनले पर्यटकलाई स्थानीय उत्पादन, संस्कृति, खानपानसहितको सेवा प्रदान गर्न घरवास सञ्चालनको तयारी भइरहेको बताए। धम्जा, ओखलेका १४ घरमा घरवास (होमस्टे) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।