धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा नेपालको हिन्दू राष्ट्रको पहिचानलाई समाप्त पार्ने कामबाहेक कुनै प्रगति हुन नसकेको टिप्पणी गरेका छन्। एउटा माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर सरकार चलाए पनि विप्लव नेतृत्वको नेकपाले फेरी हिंसात्मक गतिविधि गरिरहेको बताउँदै अध्यक्ष थापाले देशमा शान्ति नभएसम्म विकास नहुने दावी गरे।
मेची–महाकाली अभियानका क्रममा धनगढीको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले माओवादी जनयुद्ध कालमा जनताले धेरै दुख भोगीसकेकाले अब सबैलाई मिलाउनुपर्ने बताए। राष्ट्रिय एकता र राजसंस्थाको अन्त्य गरी ल्याएको प्रजातन्त्रले जनताको ढाड सेक्ने काम मात्र भएको उनको भनाई थियो।
‘वर्तमान व्यवस्थाले जातीयताका आधारमा, क्षेत्रीयताका आधारमा देशलाई टुक्रायाउने खेलबाहेक कुनै प्रगति हुँदैन,’ उनले भने ‘गलत राजनितिक अभ्यास गरी लाखौँ विदेशी नागरिकहरुलाई नेपाली नागरिकता वितरण गरिएकाले यस्ता बिखण्डनकारी गतिविधि रोक्न सरकार गम्भीर हुनुपर्छ।’
राजा हटाइएसँगै देश दुर्गतिमा गइरहेको बताउँदै अध्यक्ष थापाले देश बिखण्डनको आवाज उठिरहेकाले यसका लागि सरकार सजग हुनुपर्ने बताए। देशमाथि योजनाबद्ध र संगठित हिसाबले आक्रमण भएसँगै बिद्रोही शक्ति पनि सशक्त रुपमा लागिरहेको उनले बताए।
१२ वर्षको राजनीतिक अभ्यास हेर्दा देश विकास भन्दा विनाशतिर गएको अनुभूति भएकाले पुनः हिन्दु राष्ट्र सहितको राजसंस्था आवश्यक रहेको उनले बताए। अध्यक्ष थापाले देशमा भएका राजनीतिक आन्दोलनबाट जनता खिन्न भइसकेकाले अब राजाको आवश्यकता आम नागरिकलाई परेको उनको दाबी थियो।
उनले राष्ट्र बिखण्डनतालाई छाडेर राष्ट्र अखण्डतर्फ सिके राउत आउनु स्वागतयोग्य भए पनि सम्झौता विवादस्पद भएको उनले बताए।
हिन्दू राष्ट्र सहितको राजसंस्था कायम गर्नुपर्ने लगायत बिभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपाले ज्ञापनपत्र बुझाएको जानकारी दिँदै अध्यक्ष थापाले फागुन महिनाभित्र माग सम्बोधन नभए जनसंघर्ष गर्ने चेतावनी दिए।
मेची–महाकाली अभियानका अवसरमा जनतासमक्ष पुग्न पाएको बताउँदै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको उल्लेखनीय सहभागिता रहेको बताए। जनसंघर्ष कुनै पार्टीका विरुद्ध नभई जनताको माग अनुसार शान्तिपूर्ण तरिकाले जनसघंर्ष हुने उनको भनाई छ।