काठमाडौँ। मधेसलाई छुट्टै देश बनाउनुपर्ने भन्दै पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउत र सरकारबीच ११ बुँदे सहमतिले नेपाली राजनीतिमा नयाँ तरंग र्सिजना गरेको छ।
फागुन २४ गते शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेका थिए।
अहिले आएर सिके राउतले सरकारलाई रणनीतिक फन्दामा फसाएको सर्वत्र महसुस गरिन थालिएको छ। विशेष गरी बौद्धिक र राजनीतिक वृत्तमा सरकार राउतको रणनीतिक चालमा फसेको चर्चा हुन थालेको छ।
सहमति पत्रमा हस्ताक्षर गर्नु ठिक १० मिनेट अगाडि राउतले आफ्नो फेसबुक पेजमा आफूले उठाउँदै आएको स्वतन्त्र मधेसको मागबारे जनमतसंग्रहबाट टुंगो लगाउन सरकार तयार रहेको उल्लेख गरेका थिए।
केपी र पिके भन्दा सिके माथि: डा.सुरेन्द्र केसी
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले प्रधानमन्त्री खड्कप्रसाद ओली (केपी र पुष्पकमल दाहाल (पिके) भन्दा सिके माथि देखिएको तर्क गरेका छन्। डा. केसीले भने,‘सरकारले सिके राउतसँग शंकास्पद र दोहोरो अर्थ लाग्ने सहमति गरेको छ। यसका बारेमा टिप्पणी गरिहाल्न गाह्रो छ। सिके राउतलाई बालुवाटारमा राखेर मन्त्रीसम्म बनाउने गरी प्रधानमन्त्री केपी ओलीले सहमति गरेका रहेछन्।’
सरकारले गृहकार्य बिना गरेको सहमतिले विवाद र्सिजना गर्यो भन्ने तर्फ पनि छ नि भनेर सोधिएको प्रश्नको जावफमा उनले भने,‘यो गलत कुरा हो। गृहकार्य चाहिने भन्दा धेरै भएको छ।’
उनले अघि थपे, ‘वृहत शान्ति सम्झौता भन्दा तामझाम तरिकाले एउटा जिल्लामा विखण्डनको मुद्धा लगाउनेलाई मन्त्रीसम्म बनाउने गरी सरकारले गरेको सहमतिलाई गृहकार्य कम भयो भन्न मिल्छ ? बरु यो अपादर्शिताको पराकाष्टा हो। स्वतन्त्र मधेशको बारेमा सिके राउतको आफ्नै ब्याख्या र प्रचार जारी छ, सरकारले उनीसँग गरेको विवादित र भ्रामक सहमतिलाई ठूलो उपलब्धि ठानिरहेको छ।’
राउतको प्रतिक्रियालाई लिएर बुद्धिजीवी, लेखक, राजनीतिक दल मात्रै नभएर सत्तारुढ दल नेकपाका नेताहरुसमेत विभाजित बनेका छन्। खास गरेर नेकपाका वरिष्ठ नेता एवम् पूर्व गृहमन्त्री भीम रावल यो सहमतिको बिरुद्धमा उत्रिएका छन्। सहमतिको बुँदाबुँदा केलाउदै यसमा सरकारले गम्भीर भुल गरेको उनको आरोप छ। नभन्दै सहमति भएको तेस्रो दिनमै यो आरोप पुष्टि हुने खालका क्रियाकलाप राउतले शुरु गरेका छन्।
नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेसलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ।’ यस सहमतिलाई राजनीतिक विश्लेषकहरुले दोहोरो अर्थका रुपमा परिभाषित गरेका छन्।
सहमति कुनै पनि हालतमा मान्य छैन्ः भीम रावल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट बताएका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्राउने कुरालाई वैद्यता त प्रदान गर्दैन? भन्दै प्रश्नसमेत गरेका छन्।
रावल सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको बताउँछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भुमि टुक्रयाउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने, ‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ। यसले के अर्थ दिन्छ? स्वतन्त्र मधेश भनेको के हो ? यसको बारेमा प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ।’
उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए। उनले भने, ‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त? यो तर्क नै गलत हो।’
रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए। उनले भने, ‘उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ, स्वतन्त्र मधेशका सबै मुधाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ। यो निकै आपत्तिजनक हो। सरकारले यसको पनि जवाफ दिनुपर्छ।’
संविधान र पार्टीको विधानविपरित सहमति
११ बुँदे सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको नेता रावलको टिप्पणी छ। आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता बताउदै पार्टीको विधानको प्रतिरक्षा गरेको उनले स्पष्ट पारे। उनले भने, ‘मधेश टुक्राउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त? म प्रश्न गर्न चाहन्छु।’
रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे। उनले भने, ‘सरकारले यसको जवाफ दिनुपर्छ। सहमतिको बुँदा नम्बर ४ मा स्व शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौँ। अहिले फेरि यो कुराले प्रवेश किन पायो?’
रावलले सहमतिसँगै अब स्वतन्त्र मधेश गठबन्धन भन्ने पार्टी देशैभरि खुल्ने पनि सुनाए। उनले भने,‘सामान्य अर्थमा भन्ने हो भने नाम नै पार्टीको काम हो, यो कुरा हाम्रा साथीहरुले बुझ्नुपर्छ। नाम मात्रै भन्ने हो भने हाम्रो पार्टीको नाम पनि भृकुटीमण्डप पार्टी राखे भैहाल्यो नि।’
हिजोको सहमतिले कतै राष्ट्र टुक्रयाउने कुरालाई बैद्यता त प्रदान गर्दैन भन्दै उनले प्रश्न गरे। उनले भने,‘कतिपय कुराको परिणाम तत्काल आउँदैन्। ५, १० र २० वर्षपछि परीणाम आउँछन्।’
उनले यत्रो सहमति गर्दा पनि पार्टीमा छलफल नभएकोमा आक्रोश पोखे। उनले भने,‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत आफ्नो मत प्रेषित गरेको थिएँ। हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो। तर,सच्याईएन। पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ। एक–दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो?’
सहमति गर्नुअघि किन यो कुरा बाहिर पारदर्शी रुपमा नआएको भन्दै रावलले प्रश्न गरे। उनले भने,‘सुनियोजित र अन्य कुरा छैन भने बैठकमा कुरा राख्न किन गाह्रो भयो ?’ रावलले उक्त सहमतिबारे पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने माग गरे। उनले थपे,‘यस विषयमा बहस हुनुपर्छ। यस्तो संवेदनशील विषय आउँदा बैठक बोलाउनुपर्दैन? यसले भोलि सिँगो राष्ट्र र पार्टीलाई क्षति हुन्छ। र, भोलि देश र जनता नै प्रताडित हुने अवस्था आउँछ।’
प्रचण्डसँग सिकेलाई तुलना
उनले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई पार्टीकै अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गरेकोमा दुःख व्यक्त गरे।
उनले भने, ‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो। देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो।’
रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे। उनले भने,‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्शनिक भनियो, उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ? म प्रश्न गर्न चाहन्छु।’
उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने जिकिर गरे। उनले भने,‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ।’