साँखु – काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट प्रहरीले १ लाख ९६ हजार १ सय ५० रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको छ।
बौद्धस्थित महानगरीय प्रहरीवृत्तले शनिबार विशेष सूचनाका आधारमा एक घरमा छापा मारी तेस्रोलिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्।
जुवा अखडाबाट प्रायः पुरुष जुवाडे पक्राउ पर्ने गरेकामा अहिले धनाढ्य परिवारका महिलासमेत पक्राउ परेको र उनीहरूलाई आज (आइतबार) जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक चन्दले बताए।
नाम नबताउने एक पुरुषले पक्राउ परेकामध्ये सरिता नाम गरेकी महिलाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएकीमा लेनदेनको कुरा नमिलेपछि धेरै पटक झगडा परिसकेको जानकारी दिए।सरितालाई चौथोपटक प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका अन्य महिला पनि धनाड्य छन्। कर्मा लामा (हेलम्बु)ले गोप्य रूपमा विभिन्न ठाउँमा लामो समयदेखि जुवा अखडा सञ्चालन गर्दै आएको पक्राउपछि खुलेको जनाएको छ।
त्यसैगरी शनिबार नै मूलपानीस्थित एक होटलमा तास खेलिरहेकाे अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाईबा र मनोज पन्त छन्।
उनीहरूका साथबाट ५० हजार २ सय रुपैयाँ बरामद भएको थियो। पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ। (रासस)