धरान – साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ।
सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिएका छन्। ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बताइएको छ। यो नेटवर्कले प्रदेश १ मा साहसिक तथा पर्यटकीय खेलकूदको विकास, विस्तार र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर समन्वयकारी काम गर्ने माउन्टेन्ट स्पोटस् फेडरेशनका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए। पर्यटन वर्ष २०२० लाई लक्ष्य गरेर काम गर्न नेटवर्क बनाइएको हो।
धरान उपमहानगरपालिकाले उपमहानगरभित्र के कस्ता साहसिक पर्यटकीय खेलका सम्भावना छन् भन्ने विषयमा छलफल पछि उक्त नेटवर्क बनाइएको हो। धरानमा १६ वटा साहिसिक खेलमध्ये पाँच–छ वटा हाल पनि खेल भइरहेकाले अझ यसको विस्तार र खेलको माध्यमबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्ट फेडेरेशनसँगको सहकार्यमा धरानमा साहसिक तथा पर्यटकीय खेलसम्बन्धी अन्तर्क्रिया गरेको हो।
धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ जीप, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ। केही खेल निजीस्तरबाट भइरहेका छन्। यी खेललाई व्यापक बनाएर प्रदेश नं १ मा वार्षिक एक लाख पर्यटक भित्र्याउन सकिने धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताए।
छलफलमा प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ, सावित्री श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव हरि दाहाललगायत सहभागी थिए।