चितवन – भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ। विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन्।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरिद गरी पठाएको छ। सो उपकरणकाे रु. ९० लाख पर्ने गौतमले बताए। १ साताभित्रमा उपकरण जडान भइसक्ने उनले बताए।
विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ।
विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ। यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ। १ हजार २ सय मिटरको धावनमार्ग निर्माणपछि हालसम्म ‘ओभर ले’ गरिएको छैन।
यससँगै पार्किङ क्षेत्र साँघुरो भएकाले विस्तार गरिँदैछ। अहिले साना जहाज चारवटा अटे पनि एटीआर र जेट स्टिम एक साइडमा एउटा मात्रै अटाउन सक्छन्। पार्किङ निकै साँघुरो भएको महसूस विगतदेखि नै हुँदै आएको बताउँदै गौतमले दुवैतर्फ कम्तीमा पनि २०/२० मिटर थप गर्न लागिएको छ।
एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी चारवटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो। सबै काम यसै आर्थिक वर्षमा शुरु हुने उनले बताए।
बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौँ दैनिक १० वटा जहाज उडाउँदै आएका छन्। भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ।
विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत शुरु गरिएको छ। धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने जनाइएको छ। (रासस)