काठमाडौँ - सन् २०१९ को २ महिनामै २ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी २ लाख १६ हजार २ सय १४ विदेशी पर्यटक नेपाल आएका हुन्।
फेब्रुअरीमा मात्रै ९७ हजार ६ सय ९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो।
सन् २०१८ को २ महिनामा १ लाख ६३ हजार ६ सय ९४ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५ सय ७ जना विदेशी पर्यटक नेपाल आएका थिए।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरी महिनामा ९१ हजार ७ सय ९३ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेका छन्। फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा ९२ दशमलव ५ प्रतिशतले बढेको छ।
सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ। चिनियाँ पर्यटक भने ५ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ।
युरोपेली मुलुक बेलायतबाट ८ दशमलव ७, जर्मनबाट २७ दशमलव ९ र फ्रान्सबाट आउने पर्यटकमा ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ। सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७ सय ८९ पुगेको छ।
यो अवधिमा अमेरिकाबाट ७ हजार १ सय ३३ पर्यटक आएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवर्द्धनात्मक गतिविधिका कारण विदेशी पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए। गत वर्षको तुलनामा यस वर्षको २ महिनामा ४० प्रतिशतले पर्यटक आगमन बढ्नुले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सहयोग पुग्ने उनले उल्लेख गरे। (रासस)