दीपक श्रेष्ठ, गोरखा - जिल्लामा पहिलोपल्ट खुल्ला तथा दूरशिक्षा अध्यापन गराइने भएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत जिल्लामा रहेको एकमात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पसमा चालू शैक्षिक सत्र २०७५-७६ देखि नै खुल्ला तथा दूरशिक्षा अध्यापन गराउन लागिएको हो।
त्रिभुवन विश्वद्यिालयअन्तर्गत शिक्षा शास्त्र सङ्काय डिनको कार्यालय र फिनल्याण्डको विश्वविद्यालयसँग भएको सम्झौताअनुसार गोरखा क्याम्पसमा खुल्ला तथा दूरशिक्षा सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले जानकारी दिए।
दूरशिक्षा अध्यापनका लागि क्याम्पसले भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको उनले बताए। “कोर्षसमेत तयार भइसकेको र अध्यापन गराउने शिक्षक फिनल्याण्ड गएर एकमहीनाको तालीम लिएर आइसक्नुभएको छ”, क्याम्पस प्रमुख श्रेष्ठले भने, “यहि शैक्षिक सत्रदेखि यो कार्यक्रम लागू हुँदैछ।” चार वर्षे कार्यक्रमअन्र्तगत यसअघि पनि यस्तै खालको कार्यक्रम सञ्चालन भएको भए पनि प्रभावकारी हुन नसकेपछि अहिले एकवर्षे खुल्ला कार्यक्रम शुरु हुन लागिएको उनको भनाइ छ।
तत्कालका लागि गोरखा क्याम्पसमा स्नातक तहमा सामाजिक शास्त्र शिक्षा र गणित शिक्षामा एकवर्षे कार्यक्रम लागू हुने उनले बताए। विभिन्न पेशा र व्यवसायमा लागेका मानिसहरु क्याम्पसमा उपस्थित हुन नसक्दा अध्ययन गर्न चाहेर पनि पूरा गर्न सकिरहेका छैनन्, उनीहरुलाई घरमै बसीबसी अध्ययन गर्नसक्ने व्यवस्था यो कार्यक्रमले ल्याएको छ” क्याम्पस प्रमुख श्रेष्ठले भने । खुल्ला तथा दूरशिक्षा गर्न चाहनेहरुले भर्ना गर्न र परीक्षाका मात्र लागि क्याम्पस आउनुपर्ने र अरु बेला घरमै बसेर अध्ययन गर्न सक्नेछन्।
दूरशिक्षा सञ्चालनका लागि क्याम्पसले ल्याव तयार गरिसकेको उनले जानकारी दिए। क्याम्पस प्रमुख श्रेष्ठले जो जहाँ रहेर पनि आफ्नो अध्ययन गर्ने चाहना पूरा गर्न सकोस् भन्ने उद्देश्य क्याम्पसको रहेको बताए। सिक्ने र सिकाउने व्यक्तिहरू दुई भिन्नभिन्न स्थान र समयमा बसेर विभिन्न श्रव्य, दृश्य, जस्ता सामग्रीहरूको माध्यमबाट शिक्षा प्रदान गर्ने विधि दूरशिक्षा हो।
विद्यालयमा सामाजिक शिक्षा पठाउने शिक्षकको अभाव भइरहेको बेला एकवर्षे बिएड सामाजिक शिक्षाको अध्ययनले दक्ष शिक्षक उत्पादन गर्ने आफूले आशा लिएको उनले बताए।
भर्ना भएका सबैलाई इन्टरनेट प्रविधिबाट पढ्ने र पढाउने व्यवस्था मिलाइने क्याम्पसले जनाएको छ। गोरखा क्याम्पसमा यही चैतको शुरुदेखि नै अध्यापन शुरु हुने क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए। अहिले देशभरिका सात वटा क्याम्पसले मात्र यो कार्यक्रम सञ्चालनका लागि अनुमति पाएका छन्। ती क्याम्पसहरुमा गोरखाको गोरखा क्याम्पस, काठमाडाैँको ताहाचल क्याम्पस, भक्तपुरको सानोठिमी क्याम्पस, डडेलधुरा, सुर्खेत, सिरहा र बुटवल जिल्लाका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस रहेका छन्। (रासस)