बेझाड - रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ। गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ।
वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ। गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ। अहिले यहाँ दिनहुँ सयौँभन्दा बढी आन्तरिक पर्यटक गुराँस फुलेको हेर्न जाने र रमाउनेको जमात बढ्दो छ।
समुद्री सतहदेखि दुई हजार ३४७ मिटर उचाइ र तीन हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वनैभरि गुराँस फूलले ढाकिएको छ। फागुन-चैत महीनामा गुराँस फुल्न थालेपछि चहलपहल बढी हुने गरेको रेसुङ्गा वन संरक्षण समितिका सचिव मोतीप्रसाद खनाल बताउछन्।
‘गुराँस फुलेको हेर्नकै निम्ति विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक भित्रिने गरेका छन्। गुराँस फूलले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याइरहेको छ।’ उनले भने।
तम्घास बजारदेखि गाडीमा करीब आधा घण्टाको दूरीमा रेसुङ्गा वनमा पुगिन्छ भने पैदल हिँड्दा दुईदेखि तीन घण्टा समय लाग्छ। कोही गाडीमा, कोही पैदल हिँडेर रेसुङ्गा वनमा पुगेर राताम्य फुलेका गुराँसका बोटमा चढेर फूलसँग रमाउने र फोटो खिचाउने गरेको देखिन्छ।
नेपालको राष्ट्रिय फूल गुराँस फुलेको दृश्यले मनका पीडा वेदना सबै हटाएको पाल्पाली सञ्चारकर्मी सुवास बिसीले बताए। हरेक वर्ष गुराँस फुल्ने समयमा यस वनमा आएर फूलसँग रमाउने र आनन्द लिने गरेको उनले बताए।
अहिले सडक स्तरोन्नति भएपछि पनि विभिन्न ठाउँबाट गुराँस फुलेको अवलोकन भ्रमण गर्न आउनेको आकर्षण बढ्दै गएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका पूर्वकार्यकारी निर्देशक नरेश भण्डारी बताउछन्।
पौराणिक तथा धार्मिक महत्वसँग जोडिएको रेसुङ्गा वन लालीगुराँसका कारण पनि निकै प्रख्यात भएको छ। केही व्यक्तिले अवलोकन गर्न जाने निहुँमा फुलका हाँगा भाँच्ने र जथाभावीरूपमा फूल टिप्ने गर्दा सौैन्दर्यलाई बिगार्ने गरेको पाइएको छ।
ठूलो क्षेत्रफलमा फैलिएकाले पनि यसको नियमित निगरानी गर्न समितिलाई कठिन परेको छ। यो फूलले सुन्दरता र सुगन्ध दिने मात्र नभई विभिन्न प्रकारका रोगलाई ठिक पार्ने भएको हुँदा पनि फूल टिपेर घरघरमा लगेर सजाएर राख्ने गरेको पाइन्छ।
यस वनमा गुराँस फूलसँगै पाँचऔले, पाखनवेदजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छ। रेसुङ्गा वनले साविक ११ गाउँ विकास समितिलाई जोडेको छ। हालको रेसुङ्गा र मुसिकोट नगरपालिका, छत्रकोट, गुल्मी दरबार गाउँपालिकाको पानीको मूलस्रोत यही रेसुङ्गा वन रहेको छ। (रासस)