पुस १३, काठमाडौँ । चीनमा नेपाली चलचित्र प्रदर्शन गर्न पहल भएको छ । आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै नेपाली चलचित्र संघका अध्यक्ष आकाश अधिकारीले सो कुरा बताएका हुन् ।
संघले शुक्रबार काठमाडाैँमा निर्माता तथा पत्रकारसँग भेटघाट गर्दै आफ्नो कार्यविधि प्रस्तुत गरेको छ । सो अवसरमा अध्यक्ष अधिकारीले चीनमा नेपाली चलचित्र प्रदर्शन गर्ने विषयमा कुराकानी भएको उल्लेख गरे ।
अधिकारीले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनमा आयोजित सम्मेलनमा नयाँ कार्यसमिति गठन भएको र यसमा आफू पनि सदस्य रहेको बताए । आफूले वर्षमा दुईवटा भए पनि नेपाली चलचित्रलाई चीनको बजारमा रिलिज गर्न दिनका लागि प्रस्ताव राखेको र चीनको बजारमा नेपाली चलचित्र प्रवेश भएमा यसले निर्मातालाई ठूलो राहत हुने बताएका छन् ।अध्यक्ष अधिकारीले २५ देशका निर्माताको छाता संगठन आबद्ध भएको ‘द फेडेरेसन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’मा चलचित्र निर्माता संघ पनि प्रवेश गरेको बताए ।
यस्तै, निर्माता संघले आयोजना गरेको कार्यक्रममा काठमाडौँमा बढ्दो फोहोरका कारण अब पोष्टर टाँस्न नपाइने जानकारी पनि दिइएको छ । चलचित्रका वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले भने, ‘महानगरपालिकाले हामीलाई बोलाएर यो विषयमा जानकारी दिएको छ । अब काठमाडौं महानगरपालिकाभित्र पोष्टर टाँस्न पाइँदैन । हामीले नयाँ विकल्पको विषयमा छलफल गरिरहेका छौँ ।’ साथै, निर्माता संघले चलचित्र क्षेत्रलाई उद्योग बनाउन भएको पहल, सेन्सर बोर्डको शैली परिवर्तनका लागि गरिएको पहलका विषयमा जानकारी गराएको छ ।