काठमाडौं – साहित्य सिर्जनामार्फत समाजमा चेतना छर्ने अभियानमा लागेकी छिन् अनिता न्यौपाने। साहित्यकार/कवि न्यौपाने नेपाली समाजको अनेकन आयामहरुलाई शब्दका मालाहरु उन्छिन्, र सुन्दर सिर्जनाका रुपमा प्रस्तुत गर्छिन्। उनका सिर्जनामा नारी मन हुन्छ, नेपालीपन हुन्छ, विद्रोह र संघर्षका आक्रामक अभिव्यक्ति पनि उनका सिर्जनामा हुन्छ।
साहित्यकार न्यौपानेको सिर्जनशील यात्रा यसरी नै अघि बढिरहेको छ। तर, साहित्यमा लागेको झण्डै एक दशकको यो यात्रामा पनि उनले निकै मेहनत गर्नु पर्यो। त्यसअघिको उनको जीवनयात्रा पनि संघर्षको प्रेरककथा बन्छ। प्रतिक्षा, मेहनत र संघर्षपछि उनी अहिले फूलको विद्रोह कविता संग्रहमार्फत पाठकमाफ आउँदैछिन्।
संघर्षपूर्ण बाल्यकाल
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ लामसुरेकी स्थायी बासिन्दा अनिता न्यौपानेको परिवारका सदस्य साहित्य क्षेत्रमा संलग्न थिएनन्।
विसं २०४४ साल मंसिर ४ गते दामोदर न्यौपाने र तारा न्यौपानेकी सुपुत्रीका रुपमा जन्मिएकी हुन् अनिता। न्यौपाने परिवारमा नयाँ सदस्यमात्रै थिइनन् उनी, नेपाली साहित्यको क्षेत्रकी एक गहना पनि थिइन्।
बाल्यवस्थामै बुवाको काख गुमाएकी अनिताले संघर्ष गरेर पढिन्। ‘अभिभावकको वियोगले धेरै असर गर्दोरहेछ,’ उनी भन्छिन्, ‘आर्थिक अभाव झेल्दै संघर्ष गरेर पढेकैले पनि अहिले आंशिक रुपमा सफलता हासिल भएको छ, तर अझै धेरै काम गर्न बाँकी छ।’
अनिताकी आमा तारा न्यौपानेले हेटौँडा कपडा उद्योगमा काम गरेवापत आउने पैसाले तीन दिदीबहिनीसहितको परिवार चलेको थियो। संघर्षपूर्ण त्यो समयमा रुची हुँदा–हुँदै पनि अनिताले साहित्य क्षेत्रमा प्रवेश गर्ने अवसर पाइनन्।
साहित्यका कितावहरु भेटेसम्म अध्ययन गर्थिन्। तर, त्यसमा पनि सीमितता थियो। ‘साहित्य लेखनमा लगाव हुँदा–हुँदै पनि मैले केही गर्नै सकिनँ,’ अनिता भन्छिन्, ‘अहिले अध्ययनको दायरा फराकिलो बनाएकी छु, मेहत गर्छु, लेख्ने जाँगर र रहर अझ प्रबल भएको छ।’
वि.सं. २०६० सालमा अनिताले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्लीका ध्रुब अधिकारीसँग विवाह गरिन्। अनिता र ध्रुबकी एक छोरी छिन् सासा अधिकारी।
साहित्यिक यात्रा
विवाहपछि अनिताले २०६३ सालमा पुष्पलाल स्मृति पुस्तकालयमा काम शुरु गरिन्, त्यसपछि वास्तवमै सुरु भयो उनको साहित्यिक यात्रा।
प्रगति उच्च माद्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरिन्। त्यसपछि स्वअध्ययनमा लागेकी अनिताको साहित्यप्रति लगाव बढ्दै गयो। उनले कार्यालय सहायकको रुपमा काम गर्ने पुष्पलाल स्मृति पुस्तकालयमा हरेक महिना साहित्यिक कार्यक्रम भइरहन्थे। उनी ती कार्यक्रमा सहभागी हुन्थिन्।
‘पुष्पलाल स्मृति पुस्तकालय सार्वजनिक पुस्तकालय हो। त्यहाँ ८ हजार पुस्तक छन्, पत्रपत्रिका, म्यागेजिनहरु उपलब्ध हुन्छन्, पुस्तकालयमा हुने कार्यक्रमसँगै पुस्तक अध्ययन गर्ने बानी पर्यो,’ अनिता भन्छिन्, ‘काम शुरु गरेको दुई वर्षपछि नै पहिलो कविता संग्रह प्रकाशित भयो। त्यसपछि लेखन सक्रियता अझै बढ्यो।’
कवितासँगै निबन्ध र उपन्यास लेखनमा
पुष्पलाल स्मृति पुस्तकालयमा कार्यालय सहायकको रुपमा २०६३ सालदेखि काम गर्न थालेकी अनिताले पहिलो कतिवा प्रकाशित भयाे। अहिले उनी कविता मात्रै नभएर उपन्यास र निबन्ध समेत लेख्न थालेकी छन्।
उनले थुप्रै फुटकर कविता लेखेकी छन्। विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित हुँदै आएका छन्। शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा उनको कविता संग्रह ‘फूलको विद्रोह’ विमोचन हुँदैछ। उक्त कविता संग्रहलाई मञ्जरी पब्लिकेशनले प्रकाशन गरेको हो।
उक्त कविता संग्रहबारे अनिताले भनिन्, ‘१० वर्षको अवधिमा मैले थुप्रै कविता लेखेकी छु, तर तीमध्ये उत्कृष्ट ४५ कविता उक्त संग्रहमा समेटेकी छु, ती कविता मायाप्रेम, देश, विकृति, विसङ्गतिसँग सम्बन्धित छन्।’
कविता संग्रह विमोचन गर्न लागेकी अनिताले उपन्यास र निबन्ध समेत लेखिरहेको बताइन्। उनले भनिन्, ‘एउटा निबन्ध संग्रह लेखिसकेकी छु। शीर्षक राख्न बाँकी छ। उपन्यास पनि करिव–करिव लेखिसकेकी छु। अब टुंग्याउन मात्रै बाँकी छ। सकेसम्म चाँडो पाठक माझ ल्याउने तयारीमा छु।’
कार्यालय सहायकदेखि पुस्तकालय प्रमुखसम्म
१३ वर्षअघि साहित्य क्षेत्रमा जोडिएकी अनिताले त्यसपछि साहित्य क्षेत्रलाई छोड्न सकिनन्। उनी १० वर्षपछि निरन्तर साहित्य क्षेत्रमा संलग्न भएर साहित्यको विकास र विस्तारमा लागिरहेकी छन्।
पुष्पलाल स्मृति पुस्तकालयमा कार्यालय सहायकको रुपमा २०६३ सालदेखि काम थालेकी उनी हाल पुस्तकालयको प्रमुख र उपाध्यक्षको जिम्मेवारीमा रहेकी छिन्। उक्त पुस्तकालयमा अध्ययन गर्न आउनेको र सदस्यको सङ्ख्या समेत बढ्दै गइरहेको उनी बताउँछिन्।
त्यस्तै, उनी साहित्य संगम मकवानपुर र आँचल साहित्य कलाकुञ्जको उपाध्यक्ष तथा हट फाउण्डेशन र श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको सदस्य छिन्। साथै पत्रकारितामा समेत उनी सक्रिय छिन्। यसअघि विभिन्न सञ्चारमाध्यममा काम गरिसकेकी न्यौपाने अहिले हेटौँडा खबरपत्रको सह–सम्पादक छिन्।
‘अनि मकवानपुरको साहित्यकर्ममा लागेको मान्छेसँगको भेटले उर्जा थपियो र लेख्न थालेँ,’ उनले भनिन्।
अब निरन्तर साहित्य सेवामै
कवितासँगै निबन्ध र उपन्यास लेखनमा लागेकी न्यौपानले गजल, मुक्तक हास्यव्यङ्गका क्षेत्रमा पनि कलम चलाउँदै आएकी छिन्। उनले एउटा गीत पनि लेखेकी छन्, जुन रेकर्डिङ हुने प्रक्रियामा छ। अनिताले लयबद्ध गुन्गुनाइन् पनिः
लेखेको मैले ढुङ्गा कुदेर बनाएको एउटा मान्छे
मैले दिल खोलेर सजाएको तिमी एउटा मान्छे।
अनिता भन्छिन्, ‘बिहेपछि परिवारको सहयोगका कारण १० वर्षपछि साहित्य क्षेत्रमा लागिरहेकी छु, परिवारको सहयोग हुँदैनथ्यो भने सायद अहिले म यो स्थानसम्म आउन मुश्किल हुन्थ्यो।’ मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातक तहको पढाई सकेकी छिन् अनिताले।
उनी अब साहित्य क्षेत्रबाट टाढा जाने सोचमा छैनन्। उनी भन्छिन्, ‘साहित्य क्षेत्रमा केही अप्ठ्यारा पनि छन्। तर, अप्ठ्यारा चिर्दै अगाडि बढिरहेकी छु। अब साहित्यबाट टाढा हुन सक्दिनँ। विविध विधामा कलम चलाउँछु।’
उनी साहित्यलाई समाजको ऐनाको रुपमा लिन्छिन्। ‘साहित्य समाजको ऐना हो भनिन्छ मैले बुझेको पनि त्यही हो, समाजका विविध आयामहरुलाई साहित्य सिर्जनामार्फत प्रस्तुत गर्न सकिन्छ,’ उनी भन्छन्, ‘मेरो कोसिस पनि त्यही हो।’
साहित्यमार्फत् समाजका विकृति विसङ्गतिविरुद्ध लड्न सकिने उनी बताउँछिन्। उनी भन्छिन्, ‘अब साहित्यमै लागिरहन्छु। साहित्यमै सन्तुष्ट छु, साहित्य सिर्जना संघर्ष पनि हो, चेतनाको प्रचारप्रसार पनि हो।’