काठमाडौँ। राजनीतिक विश्लेषक डा. उद्धव प्याकुरेलले संघीयता कार्यान्वयन गर्न संघीय सरकारबाट कमजोरी भइरहेको बताएका छन्। रत्नराज्य क्याम्पस (आरआर)मा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको (एकेडेमीक डाईलक) कार्यक्रममा प्रशिक्षण दिने क्रममा प्याकुरेल यस्तो टिप्पणी गरेका हुन्।
डा. प्याकुरेल भने, ‘संघीयता जीवनबुटी पनि होइन, कालो धब्बा पनि होइन, नेपालमा संघीयताको सफल कार्यान्वयनको विकल्प छैन। संघीयताको गलत व्याख्या गर्नु भएन। संघीयताका सकारात्मक पक्षलाई उचित प्रयोग गर्नु उपयुक्त विकल्प हो।’
संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीको कमजोरी
मुलुक संघीय संरचनामा गए पनि संघीय सरकारले प्रदेशका अधिकारमाथि कब्जा जमाइरहेको प्याकुरेलको भनाइ छ। उनले भने, ‘प्रधानमन्त्रीले प्रदेश सरकारलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन्, प्रदेशका मुख्यमन्त्रीहरू स्थानीय तहका अधिकार आफ्नो मातहतमा राख्न चाहन्छन्, यस्ता सोचहरूले कसरी संघीयता कार्यान्वयन हुन्छ?’
सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ३ का १/१ जना मन्त्रीलाई पदबाट हटाउनका लागि प्रधानमन्त्रीको सक्रिय उपस्थितिले संघीयताको मर्ममाथि प्रश्न उठेको प्याकुरेलको भनाइ छ।’
उनले भने, ‘एउटा मन्त्रीले गल्ती गर्छ। समस्या आफैले समाधान गर्नु प्रदेश सरकारको अधिकार र कर्तव्य हो। त्यो समस्या बोकेर मुख्यमन्त्री काठमाडौँ आउनु हुन्छ। संविधानले दिएको अधिकार उपभोग गर्न मुख्यमन्त्रीले सक्नुभएको छैन। उहाँहरू संघीय सरकारको मुख ताकेर उम्किन खोज्नुहुन्छ। संघीय सरकार आफ्नो नियन्त्रणमा होस् भन्ने जस्तो देखिन्छ। यस्ता क्रियाकलापले संघीयतालाई बलियो बनाउँदैन।’
संघीयता माओवादीको एजेन्डा होइन
मुख्य राजनीतिक दलहरूले संघीयतालाई अपनत्व हुने गरी ग्रहण नगरेका कारण मुलुकले समस्या झेल्नु परेको डा. प्याकुरेलको भनाइ छ।
उनले भने, ‘वर्तमान समयमा प्रचण्डले संघीयता माओवादीले ल्याएको हो भन्ने गर्नुभएको छ। खासमा संघीयताका बारेमा तत्कालीन ७ राजननीतिक दलले कुनै कल्पना गरेका थिएनन्। मधेस आन्दोलनले संघीयता ल्याएको हो। खैर, कि संघीयतामा मुलुकलाई नधकेलेको भए हुने थियो। अब त सम्पूर्ण जनता, राजनीतिक दल, कर्मचारी, विद्यार्थी, सचेत वर्ग सबैले संघीयता मेरो लागि हो भनेर अपनत्व लिन आश्यक छ।’
तत्कालीन माओवादीका मुख्य नेताबाहेक अन्य राजनीतिक दलहरूका सम्पूर्ण नेताले संघीयता र धर्मनिरपेक्षतालाई स्वीकार गर्न नसकेको प्याकुरेलको भनाइ छ।
संघीयता महँगो होइन
प्याकुरेलले संघीयताका बारेमा अनेकन भ्रम सिर्जना गरिएको दाबी गरेका छन्। उनले भने, ‘संघीयता महँगो भयो, संघीयताले देश टुक्रिन्छ जस्ता भ्रमहरू सिर्जना गरिँदैछ। संघीयता सस्तो र महँगो हुँदैन। यो त व्यवस्था हो। जनता र शासकबीचको सहकार्यमा संघीयतालाई कस्तो बनाउने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो।’
‘चालू आवको ९ महिनासम्म कुल बजेटको २० प्रतिशत पनि खर्चिन सकिएको छैन। सरकारले असारे विकासलाई पर्खेको देखिन्छ। पैसा खर्च गर्न नसक्ने, अनि संघीयतालाई दोष दिने? यस्तो हुनुभएन। बजेट फ्रिज हुन दिनु भएन,’ उनी बताउँछन्। प्याकुरेलले संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै १ वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरू मत्थर नहुनुमा मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताए।
उनले भने, ‘संघीयता पक्षधर र विरोध गर्नेहरू दुवैका क्रियाकलाप संघीयताका लागि चुनौती बन्ने देख्निछ, संघीयताका पक्षधरले संघीयताबारे जनमाससम्म जानकारी गराउन सकेको देखिँदैन। पूर्वतयारीविना संघीयता लागू गर्न खोजिएका कारण पनि आजको अस्थिरता सिर्जना भएको हो। यसरी सरकारमाथि औँला ठड्याउनेहरूमा राष्ट्रिय जनमोर्चा, राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेकपा ‘विप्लव’ माओवादी, र हालै सरकारसँग सहमतिमा आएको सीके राउत समूह मुख्य हुन्।’
डा. प्याकुरेलले अघि थपे, ‘भीमार्जुन आर्चाय र जनमोर्चाले भनेजस्तै संघीयताका कारण देश टुक्रिने होइन। उहाँहरूका तर्क आधारहीन छन्। आजका दिनसम्म संघीयताका कारण देश विभाजन भएका छैनन्। भारतको उदाहरण दिएर उहाँहरूले संघीयतामाथि प्रश्न गर्नुहुन्छ, यो सत्य होइन। १५ राज्यबाट २९ संघीय प्रदेश निर्माण हुनु भारत विखण्डन हुनु होइन। हाम्रो देश पनि भोलि संघीय राज्यको संख्या बढ्न सक्छ।’
तीनै तहका जनप्रतिनिधि विलासी
स्थानीय, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिहरू विलासी र सुविधाभोगी रहेको प्याकुरेलको निचोड छ। उनले त्यही विलासिताका कारण संघीयता जनताको नजरमा अप्रिय बन्दै गएको बताए।
डा. प्याकुरेलले भने, ‘५ वर्षका लागि म नै राजा हुँ, तँ के गर्छस् भन्ने खालका आवाज जनप्रतिनिधिबाट सुन्न थालिएका छन्। यस्ता धम्कीहरू संघीयताका लागि सबैभन्दा खतरा हुन्। अब जनताले भन्नुपर्छ, चुनावका बेला के भनेका थियौँ? तिमी शासक होइनौ, तिमी सेवक हौ। काम गर। कामअनुसारको तलब खाऊ। त्योभन्दा धेरै खान सख्त मनाही छ भनेर भन्न सक्नुपर्छ।’
स्नातकोत्तर तहमा अध्ययनरत राजनीतिक शास्त्रका विद्यार्थीहरुका र्तफबाट आयोजना गरेको (एकेडेमीक डाईलक) कार्यक्रमको संयोजन नरेन खतिवडाले गरेका थिए।