काठमाडौँ - चैत्र ५ गते ‘काठमाण्डौँ युथ कनक्लेभ -२०७५’ हुने भएको छ। युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडाैँ मोडेल कलेज तथा हिमालय कलेज अफ इञ्जिनियरिङले कनक्लेभकाे संयुक्त आयोजना गर्न लागेकाे हाे।
प्रज्ञा भवन, कमलादीमा कनक्लेभ आयोजना हुने आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। युनिभर्सल कलेज, शान्तितगरका प्राचार्य डा. शिवदत्त ज्ञवालीले प्लस टु पछि पनि स्वदेशमै उच्च शिक्षा दिन र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश दिन यो कनक्लेभ आयोजना गर्न लागिएको बताए।
उनले भने, ‘देशको जनसंख्याको झण्डै ४० प्रतिशत जनसंख्या युवायुवतीहरु भएको समूदायलाई एउटै मञ्चमा ल्याई देशका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्यक्तिहरुको ज्ञान, सिप र अनुभव बाँडी यो वर्गलाई चौतर्फी विकासमा योगदान पुर्याउन युवाहरुलाई उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेका छौँ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं प्रतिनिधि सभाका सदस्य योगेश भट्टराई प्रमुख अतिथि रहने कनक्लेभमा नेपालका सफल बैंकर अनिल केशरी शाहले ‘द पावर अफ युथस् ईन नेशन बिल्डिङ’, प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीले ‘द फ्युचर अफ ई-कमर्स एण्ड आईटी सेक्टर ईन नेपाल र द जर्नी फ्रम स्टार्टस अप्स टु अन्टरप्रेन्युअर’ शीर्षकमा प्रवचन दिनेछन्।
त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ‘नेशनल युनिटी थ्रु स्पोर्टस्’ शीर्षकमा प्रवचन दिने, युट्यवर सिसम बानियाँले ‘प्यासन टु प्रोफेशन : थिङकिङ आउट अफ द बक्स’ शीर्षकमा प्रवचन दिने र मिस नेपाल -२०१८ श्रृंखला खतिवडाले ‘प्रोस्पेरिटी थ्रु प्रमोटिङ टुरिज्म’ शीर्षकमा प्रवचन दिनेछन्।
व्यवसायी सौरभ ज्योतिले ‘दि बिजनेश ईनभाईरोमेन्ट ईन नेपाल : च्यालेन्ज एण्ड अपरचुनिटिज र द रोल अफ युथ ईन बिजनेश वल्र्ड’, हाँस्यकलाकार सन्दिप क्षेत्रीले स्ट्याण्डिङ आउट विथिन मास’, नामक शीर्षकमा प्रवचन दिने कार्यतालिका छ।
एक दिवसीय कनक्लेभमा १८-२० वर्ष उमेरसमूहका करिब ३ हजार युवायुवतीहरुको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ। उक्त कनक्लेभ विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ।