काठमाडौं – शिक्षासेवी एवं युवा उद्यमी नारायण रेग्मी इजिप्टमा सम्मानित भएका छन्। राज्य दैनिकको प्रस्तुति तथा मोडल सङ्ग्स नेपालको आयोजनामा इजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एमएसएन एक्सिलेन्स अवार्ड, २०१९ बाट रेग्मी सम्मानित भएका हुन्।
रेग्मी शिक्षा विधातर्फबाट सम्मानित भएका छन्। अलेक्जेन्ड्रियाको शेराटन होटेलमा मार्च १६ तारिखमा आयोजित अवार्ड कार्यक्रम माझ रेग्मीले सो अवार्ड ग्रहण गरेका थिए।
रेग्मी विण्डो नेपाल एजुकेशन सेन्टरका प्रबन्ध सञ्चालक तथा एजुकेशन फाउण्डेसनका संस्थापक हुन्। तनहुँस्थित भानु नगरपालिका पुर्कोटमा जन्मिएका रेग्मी सानैदेखी मेहनती र लगनशील व्यक्ति हुन्। उनी आफूलाई युवा शिक्षा व्यवसायी भन्न रुचाउँछन्।
नेपालमा पहिलो पटक पे–ब्याक स्क्लरशीप सञ्चालन गर्दै उनले उच्च शिक्षाबाट बञ्चित नेपाली युवाहरुलाई नविन अवसर सिर्जना गरेका छन्। उनले शुरुवात गरेको पे–ब्याक स्क्लरशीपबाट हालसम्म २ दर्जन युवाहरु लाभान्वित भएका छन्।
शिक्षा उद्यमी रेग्मी रोटरी इन्टरनेशनल, लायन्स क्लब, जेसीज, युवा महासंघ आदि राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सामाजिक संघ–संस्थामा आबद्ध रहँदै सामाजिक गतिविधिमा संलग्न रहदै आएका छन्। रेग्मीले हालसम्म ४० वटा देश भ्रमण गरिसकेका छन्।
त्यसैगरी, कार्यक्रम माझ रेग्मीसहित विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रही पृथक ढंगले अतुलनीय योगदान पुर्याउँदै आएका नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो।