विराटनगर – प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताएका छन्।
बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रूपमा आयोजित “व्यापार र पर्यटन प्रवर्द्धनमा हिमालयदेखि समुद्रसतहसम्म” विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको व्यापार घाटा कम गर्नका लागि भए पनि बङ्गलादेशी पर्यटक नेपाललाई आकर्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फे विन्ते शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको स्मरण गर्दै १ सय ८ नेपाली उत्पादनलाई बङ्गलादेशले भन्सार सुविधा दिएको बताए।
प्रदेशसभा सदस्य सूर्यमाराज राई, नवोदिताकुमारी चौधरी, लीलाबल्लभ अधिकारी, मोहन खड्का र उदिता परियारले समृद्ध मुलुक निर्माणका लागि नेपालले बङ्गलादेशबाट धेरै कुरा सिक्नुपर्ने बताउँदै नेपालको व्यापार घाटा कम गर्न पर्यटन प्रवर्द्धन तथा चिया र अलैँची निर्यातलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गरे।
सो अवसरमा विगत १० वर्षमा बङ्गलादेशले गरेको आर्थिक उन्नति र पर्यटन प्रवर्द्धन विषयमा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। (रासस)