काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरूले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरण नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारवाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, “तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौँ।”
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानूनी व्यवस्था गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ। (रासस)