काठमाडौँ - पोखराको गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानबिन गर्नुपर्ने माग राखेका विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई ७२ घण्टे अल्टिमेटम दिदैँ डिन कार्यालयमा ताला लगाएका छन्।
सरकार र त्रिवि चिकित्साशास्त्र शिक्षा अध्ययन संस्थानको शुल्क मापदण्डको अवज्ञा गरी तोकिएको भन्दा लाखौँ रकम बढी लिने कजेल प्रशासनविरुद्ध ढेड महिनादेखि सो कलेजका विद्यार्थीहरु आन्दोलनमा छन्।
तर पनि त्रिवि डिन कार्यालयले समस्या समाधानका लागि कुनै पनि चासो नदिएको भन्दै विद्यार्थी संगठनले ताला लगाएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूकी अध्यक्ष नविना लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ।
विद्यार्थी संगठनले विद्यार्थीको भविष्य चौपट पारेर फरार भएका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने, विद्यार्थीसँग तोकिएको मापदण्ड भन्दा बढी लिएको सम्पूर्ण शुल्क तत्काल फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।
उनीहरुले ७२ घण्टाभित्र समस्या समाधान नभए त्रिविको उपकुलपति कार्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानको डिन कार्यालयमा डिनलाई प्रवेश निषेध गर्ने, विश्वविद्यालय पदाधिकारी र डिनको राजीनामा माग गर्ने चेतावनी दिएका छन्।
सम्बन्धित मेडिकल कलेजमा देखिएको समस्याको समाधान नभएको खण्डमा शिक्षा मन्त्रालयविरुद्ध समेत संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।