धम्बोझी – नेपाल राष्ट्रिय नमुना मावि ढोढरी बर्दियाकै नमुना सरकारी विद्यालयमध्ये अहिले नमुना विद्यालय बनेको छ। मधुवन– ४ को ढोढरीस्थित सो विद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्, जसमा बहिरा विद्यार्थी पनि पर्छन्।
अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ सबअोभरसियर तहमा सिभिल र इलेक्ट्रिकल विषयमा अध्ययनअध्यापन हुने मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए।
आगामी वर्षमा ९ कक्षादेखि माथि पढ्दै, सिक्दै, कमाउँदै र युवा उद्यमी बनाउँदै भन्ने सिद्धान्तबाट कक्षा शिक्षकले पढाउने विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए। एक विद्यार्थीलाई हप्तामा १५ घण्टा काम गर्न प्रोत्साहन गरिने र १ घण्टाको रु. ७५ पारिश्रमिक तोकिनेछ।
२० विगाहमा तरकारी खेती गर्ने विद्यालयको योजना रहेको प्रअ पोखरेलले बताए। विद्यालयमा ६२ शिक्षक कर्मचारी छन्। “विद्यार्थीलाई खेल र मनोरञ्जनपूर्ण वातावरणमा सांस्कृतिक कार्यक्रमसहित पढाइरहेका छौँ,” प्रअ पोखरेलले भने।
टाढाका विद्यार्थीलाई विद्यालयले छात्रावाससमेत व्यवस्था गरेको छ। आव २०७५/२०७६मा रु. ५ करोड बजेट रहेको विद्यालयमा रु. २ करोड नेपाल सरकारबाट र ३ करोड विद्यालयको आन्तरिक शुल्कबाट बेहोरिनेछ।
सो विद्यालयमा आगामी वर्ष विज्ञान विषयको अध्ययनअध्यापन हुनेछ। मधुवनका नेकपाका नेता सुरेश पन्थले सबैको मन जितेर विद्यालय यस क्षेत्रकै नमुना बनेको जिकिर गरे। (रासस)