पुरुषोत्तम सुवेदी, नवलपरासी – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरावानीस्थित बाबा बर्दगोरिया क्षेत्र धार्मिक पर्यटकीयस्थल बनेको छ। भारत हरिद्वारको झल्को दिने गरी सो क्षेत्रलाई धार्मिकस्थलका रूपमा विकास गर्न योजना अघि बढाइएको छ।
उक्त क्षेत्रमा धार्मिक संरचनासहित आचार्यकुलम, जडीबुटी प्रशोधन, गौशाला निर्माण, योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालय स्थापनालगायत कामका लागि योजना अघि बढाइएको हो।
शिवभक्त नन्दीकेश्वरको तपोभूमिका नामले परिचित सो धामको दाहिनेतर्फ पानभार नदी र बायाँतर्फ भूमही नदी बग्छन्। उक्त क्षेत्रमा मामीसती सवरिया मन्दिर र अमरपोखरी ताल छ। यही मन्दिरसँग जोडिएको अर्को मन्दिर हो– मामीसती सबरिया मन्दिर। यो मन्दिर सुनवल–११ भँडरीमा पर्छ।
बाबा बर्दगोरिया र मामीसती सवरिया, दुवै नाम सुन्दा फरक भए पनि यी दुवै मन्दिरको इतिहास एउटै रहेको पाइन्छ। सो क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागि सुनवल नगरपालिका, पतञ्जलि योगपीठ नेपाल, पतञ्जलि योग समिति नेपाल र बाबा बर्दगोरिया धाम विकास समितिको सहकार्यमा योजना अघि बढाइएको नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले जानकारी दिए।
धार्मिक किंवदन्तीका अनुसार यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजिकै राजाको दरबार थियो। प्राचीन समयमा हालको भडँरीमा राजाराम नामका राजा बस्दथे। उनका रानी मामीसती र एउटा भाञ्जा पर्शुराम पनि थिए।
यहाँ अहिले ठूलो सिमलको रूख छ। दरबार अगाडि तुलसीकाे मन्दिर थियो। राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवा पनि थिए। चरुवा गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे। चर्न गएका गाई कहिले छिट्टै त कहिले महिना दिनसम्म पनि फर्किंदैन्थे चर्न गएका गाई फर्कंदा दरबार आउनुभन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे। अमर पोखरीको पानी खाएपछि अमर भइन्छ भन्ने विश्वास थियो।
पतञ्जलि योग समिति नेपालका संरक्षक ज्ञानेन्द्रविक्रम महतले उक्त क्षेत्रलाई स्थानीय तहको सहकार्यमार्फत पूर्ण धार्मिकस्थलका रूपमा विकास गर्ने योजना रहेको बताए। पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी एवं वरिष्ठ योग गुरु लवदेव मिश्रले सो क्षेत्रलाई योगको प्रयोगशाला र प्राकृतिक चिकित्सालयका रूपमा विकास गर्ने योजना रहेको बताए।
बाबा बर्दगोरिया क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पूर्ण रूपमा विकास गर्न करिब १० वर्ष लाग्ने अपेक्षा गरिएको छ। लामो समय लाग्ने योजना भए पनि भविष्यमा धार्मिक हिसाबले उक्त क्षेत्रको विकास गर्नसके महत्त्वपूर्ण धार्मिकस्थल बन्ने अपेक्षा गरिएको छ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन यहाँ लामो समयदेखि प्रयास गरिँदै आएको छ।