देवचन्द्र सुब्बा सिक्किम विश्वविद्यालयका नेपाली विषयका उपप्राध्यापक हुन्। उनी भारतीय नेपाली भाषा साहित्यको विकासमा निरन्तर योगदान पुर्यारहेका कवि तथा समालोचक हुन्। उनले आफ्नो अध्ययनमा प्रकृति र मानिसको सम्बन्धलाई लिएर परिवेश विमर्शसम्बन्धी चिन्तन अघि सारेका छन्। उनका अधिकांश समालोचना प्रकृतिको केन्द्रीयतामा लेखिएका छन्। उनले आफ्नो विद्यावारिधि अनुसन्धानको विषय पनि यही परिवेश विमर्शलाई बनाएर अध्ययन पूरा गरेका छन्। नेपाली पब्लिक डटकमका लागि डा . गीता त्रिपाठीले भाषासेवी युवा कवि/समालोचक सुब्बासँगको कुराकानी:
तपाईंको विचारमा साहित्य र समालोचनाबीचको सम्बन्ध कस्तो रहनुपर्छ?
–पहिलेपहिले साहित्य र समालोचनाको सम्बन्ध फूल र मालीजस्तै हुने गर्थ्याे। तर, अहिलेका सन्दर्भमा साहित्य र समालोचनाको सम्बन्ध अलि भिन्नै हुनुपर्छ भन्ने मलाई लाग्छ। अहिलेका सन्दर्भमा साहित्य र समालोचनाको सम्बन्ध एउटै कार्यक्षेत्रमा कार्य गर्ने दुई अपरिचित व्यक्तिहरूजस्तै हुनुपर्छ। एउटै क्षेत्रमा कार्य गर्ने भएकाले दुवैलाई काम आउँछ र गर्छन् तर भिन्नभिन्न विधि र प्रक्रियाले। ती दुवैको सम्बन्ध व्यक्तिगत नभएर कार्यगत हुन्छ, यसले गर्दा व्यक्तिगत सम्बन्ध कार्यमा कुनै भार बन्दैन। साँचो अनि स्वस्थ समालोचनाले सदैव कृतिसँग सम्बन्ध राख्दछ। व्यक्ति (सर्जक)सँग सम्बन्धका आधारमा समालोचना गरिए त्यस पाठ वा रचनाको मूल्याङ्कन वा समालोचना नभएर प्रशंसात्मक लेख हुने सम्भावना हुन्छ।
भारतीय नेपाली समालोचनाको वर्तमान अवस्था के कस्ता प्रवृत्तिबाट अघि बढिरहेको छ?
–भारतीय नेपाली समालोचनामा अहिले विभिन्न दृष्टिकोण र प्रवत्तिहरू देखा परेका छन्। तर, सिर्जना जसरी र जुन प्रवृत्ति वा विषयवस्तुलाई लिएर गरिन्छ त्यसैको कुलो समाएर पनि समालोचना भइरहेको देखिन्छ। भारतीय नेपाली साहित्यमा अहिले परिचय सङ्कट, राजनीतिक परिप्रेक्ष्य, मिथक, दर्शन आदिमा आधारित सिर्जनाहरू भइरहेका छन्। समालोचना पनि यसै कुलो समाएर अघि बढिरहेको देखिन्छ। तर, यी सबैदेखि अलग भइरहेको छन्। वैज्ञानिक प्रवृत्ति, भाषा, वैज्ञानिक सन्दर्भ र पाठकेन्द्रित समालोचनाहरू पनि भइरहेका छन्। नयाँ पुस्ताका समालोचकहरू भौतिक विज्ञान, लोक, अर्थशास्त्र, रसायन विज्ञान, संज्ञानात्मक सिद्धान्त, ‘अकल्ट’का अवधारणा र सिद्धान्ततिर आग्रही देखिन्छन् भने हस्तक्षेपी र समावेशी अवधारणा लिएर पनि युवा समालोचकहरू अघि सरेका छन्।
तपाईंले परिवेश विमर्शका आधारमा पर्यावरण र मानिसको सम्बन्धलाई आफ्नो अनुसन्धानको विषय बनाउनुभएको छ, यस अनुसन्धानका क्रममा अनुभव चाहिँ कस्तो रह्यो नि?
–मैले उत्तरबङ विश्वविद्यालयको नेपाली विभागबाट परिवेश विमर्श (इकोक्रटिसिज्म)लाई आधार बनाएर आदरणीय प्रोफेसर घनश्याम नेपालको निर्देशनमा ‘ऋतुविचार, ऋतुनिमन्त्रण र ऋतुक्यान्भासमा रेखाहरू’ कृतिहरूलाई लिएर कार्य गरिरहेको छु। शोध कार्यको लेखन सकिएको छ। मैले यो कार्य गर्दा मूलतः पूर्वीय दर्शनमा प्रकृतिलाई कसरी हेरिएको छ, त्यसलाई विशेष आधार बनाएको छु। परिवेश विमर्शका सैद्धान्तिक मान्यताहरूलाई आधार बनाएर मूलतः परिवेश दर्शन, परिवेश धर्मविद्या, हरित आध्यात्मिकता, सांस्कृतिक पारिस्थितिकी, गाया अनुकल्पना, डिप इकोलोजी आदिबारे कार्य गरेको छु। मानिसलाई म मर्छु भनेर थाहा हुँदाहुँदै पनि ऊ बाँच्न खोज्छ। यो एउटा ठूलो विडम्बना हो।
हामी कति स्वार्थी भइसकेका छौँ? त्यो यहीबाट थाहा लाग्छ। मैले यो कार्य गर्दा धेरै रहस्यमय, व्यावहारिक साथै ज्ञानवर्द्धक विषय अनुभव गरेको छु। भविष्यमा त्यसलाई एउटा आकार दिने नै छु।
यसरी नै मानिसलाई म स्वयम् प्रकृतिको अंश हो भन्ने ज्ञात हुँदाहुँदै पनि प्रकृतिलाई जित्न खोज्छन् अथवा प्रकृतिमाथि अतिक्रमण गर्छन्, यो अर्को विडम्बना हो। मलाई यो कार्य गर्दा अचम्म के लाग्यो भने हामी रात–दिन प्रकृतिसँग हुन्छौँ, प्रकृतिविना हाम्रो कल्पना हुनै सक्दैन, तर पनि हामी कसरी यसलाई ध्यान दिइरहेका छैनौँ? हामी आफ्ना व्यावहारिक, पारिवारिक साथै विविध कार्यप्रति सचेत हुन्छौँ तर प्रकृतिप्रति पनि यत्तिकै सचेत हुनुपर्छ भन्ने सोचलाई हामी कसरी किनारीकृत गरिरहेका हुन्छौँ? हामी कति स्वार्थी भइसकेका छौँ? त्यो यहीबाट थाहा लाग्छ। मैले यो कार्य गर्दा धेरै रहस्यमय, व्यावहारिक साथै ज्ञानवर्द्धक विषय अनुभव गरेको छु। भविष्यमा त्यसलाई एउटा आकार दिने नै छु।
प्रकृतिको वर्तमान स्वरूपसँग आजका साहित्य सिर्जना उदासीन हुँदै जानुका कारण के हो भन्ने लाग्छ तपाईंलाई?
–अहिलेका कवि, लेखक वा समालोचकहरूलाई बजारले छोपेको छ। कवि समालोचकहरू साहित्यको गम्भीर अध्ययनभन्दा धेर लोकप्रियतातिर आग्रही छन्। त्यसैले हिजोआज कविता बजारको माग हेरेर लेखिँदैछ। अहिले बजारमा राजनीति, धर्म, दलित, नारी आदि आदि विषयहरूको माग छ अनि कविहरू त्यसका आपूर्ति गरिरहेका छन्। यसमा छोडिएको विषय हो प्रकृति। प्रकृतिको विश्वास के छ भने स्वच्छन्दतावादीहरूले प्रकृतिलाई जति बुझे त्यो बुझाइ प्रकृतिको ज्ञान र रहस्यको तुलनामा शून्य प्रतिशत पनि थिएन। कविहरूलाई कविता लेख्नका लागि नयाँ र जल्दोबल्दो विषय चाहिन्छ तर त्यो द्रष्टा आँखाले प्रकृतिको जलन देख्न सकिरहेको छैन।
मिथकले कविताको आन्तरिक सौन्दर्य वृद्धि गर्न कस्तो भूमिका निर्वाह गर्छ भन्ने तपाईंको विचार छ?
–मेरो व्यक्तिगत विचार भन्नु हो भने कवितामा मिथकको प्रयोग मलाई राम्रो नै लाग्दैन। तर, कविले आफ्ना अनुभूतिले प्राप्त गरेका कुराहरू भाषामा व्यक्त गर्न नसक्दा मिथक आदि प्रयोग गर्छन्। त्यसमा कति कविता सुन्दर बन्दछ भने कति बन्दैनन्। मिथिकको ज्ञान सबै पाठकलाई हुँदैन। कति कविहरूले आफ्ना जातीय लोककथाका मिथकहरू प्रयोग गर्छन्। जस्तै– एक जना किराती कविले किरात मिथक प्रयोग गरेर कविता लेखेका छन् भने त्यो मिथक बुझ्ने पाठकहरू कति हुन्छन्? कति जना पाठकले त्यसलाई ग्रहण गर्न सक्छन्? यो चिन्तन गर्ने विषय हो।
हामी कति उत्तरआधुनिक छौँ? हाम्रो विचारधारा कति उत्तर छ? हामी यस साहित्यमा यो वाद र त्यस साहित्यमा त्यो वाद आइसक्यो भन्ने हतारमा फड्को त मारिरहेका छैनौँ?
त्यसैले कविले प्रयोग गरेको मिथक पाठकमा सम्प्रेषण हुन सकेन भने पाठकले कविता पनि बुझ्दैन। मिथक प्रयोग नगरी पनि कविता कविता हुन्छ। मिथक प्रयोग समालोचकका लागि कविहरूले खडा गर्ने चुनौती हो भन्ने मलाई लाग्छ। कविताको आन्तरिक सौन्दर्य निर्माण भने गर्न सकिन्छ। कविताको आन्तरिक तहमा कवि भावको चेतन तरलता बगेको छ भने पाठकले त्यसलाई प्रत्यक्ष अुनभव गर्न सक्छ। जस्तै– तरुण तपसी पढ्दा अझै पनि हामीलाई त्यो अनुभव हुन्छ। त्यसैले कविताको आन्तरिक र बाह्य सौन्दर्य हुन्छ भन्ने धारणा नै गलत हो। किनभने, कविता आफै सौन्दर्य हो। यसको निरुपण गरिरहनु पर्दैन, यो स्वत: प्रकट हुन्छ।
पछिल्लो समय पश्चिमबाट बतासिँदै आएका समालोचना सिद्धान्तहरूले हाम्रा पूर्वीय साहित्यको सही र पूर्ण मापन गर्न सक्छ कि सक्दैन होला?
–पश्चिमबाट आएका सबै साहित्य सिद्धान्त वा वादले पूर्वीय साहित्यको मापन गर्न सक्छ भन्ने मलाई लाग्दैन। अहिले उफ्रिरहेको उत्तरआधुनिकतावादले पनि साहित्यलाई ठूलो प्रभाव पुर्याएको छ। तर, के हाम्रो समाज उत्तरआधुनिक छ? यो विचार गर्नुपर्ने कुरो हो। हामी कति उत्तरआधुनिक छौँ? हाम्रो विचारधारा कति उत्तर छ? हामी यस साहित्यमा यो वाद र त्यस साहित्यमा त्यो वाद आइसक्यो भन्ने हतारमा फड्को त मारिरहेका छैनौँ? किनभने, विचारधारा पहिले समाजमा आउनु पर्यो अनि त्यसको प्रतिछायाँ साहित्यमा देखिन्छ। समाजमा कुनै परिवर्तन वा नयाँ विचारधाराले गढ बनाएकै छैन तर अन्यका प्रभावमा साहित्यमा त्यस्ता परिवर्तन र विचारधाराको पक्ष लिनु कस्तो हुन्छ? पहिले समाज त्यसपछि साहित्य सिर्जना अनि मात्रै साहित्य सिद्धान्त आउँछ।
तर, हाम्रातिर उल्टो भइराखेको छ। त्यसको तात्पर्य पश्चिमबाट आएका सबै साहित्य सिद्धान्त अनि वादहरू गलत र स्वीकार गर्नै नहुनेहरू हुने भन्ने पनि होइन। कतिपय सिद्धान्तहरू निसन्देह स्वीकारयोग्य, मनन अनि चिन्तनयोग्य छन्। साहित्य अध्ययन अहिले संस्कृति, संस्कार, परिवेश र हाम्रो उत्पत्तिका मूलभूत विशेषताहरू पश्चिमासँग पटक्कै मिल्दैन। त्यसैले त्यहाँका सामाजिक संरचना र विचारधाराबाट विकास भएका साहित्य सिद्धान्तहरूले हाम्रो भूमिको वास्तविक नक्सा देखाउन सक्छ भन्ने मलाई लाग्दैन। अहिलेको जल्दोबल्दो नारीवादलाई नै लिएर कुरा गर्यौ भने नारीवादी विचारधाराका मूलभूत मान्यताहरूमध्ये कति प्रतिशत हाम्रा समाजका लागि उपयोगि हुन्छ? के नारीवादका सबै मान्यता हाम्रा समाजमा उपयोगी छन्? विचार गरौँ– हामीले हाम्रै कुरा बिर्सेका छौँ, लोकसाहित्य, लोकधर्म, लोकविश्वास र समग्र लोकवार्ताकै विषयहरू छोडेका छौँ। यी सबैलाई आधार गरेर के साहित्यको नयाँ सङ्कथन वा अध्ययन गर्न सकिन्न होला?
भारतीय नेपाली कविताले के कस्ता नवप्रवृत्तिहरू धारण गरिरहेको अनुभव गर्दै हुनुहुन्छ?
–भारतीय नेपाली साहित्यमा सबैभन्दा धेरै लेखिने र प्रकाशित हुने भनेकै कविता हो। भारतीय नेपाली कविताका अहिले विविध आयाम अनि स्वरहरू छन्। तर, परिचय सङ्कट, माटो प्रेम, राजनीतिक परिप्रेक्ष्यका स्वर भने तिखो पाइन्छ। भारतीय नेपाली साहित्यमा किनारीकरणपछि देखा परेका हस्तक्षेपी र समावेशी अवधारणाले पनि केही सीमासम्म कविता लेखनमा प्रभाव पारेको अनुभव हुन्छ। हस्तक्षेपीहरूले परम्परा र पुरातन मान्यताहरूमा हस्तक्षेपको कुरा उठाएर कविता लेखे तर यो अहिले सेलाएको छ।
भारतीय नेपाली कवितामा पर्यावरणकेन्द्रित कविताहरू, दार्जिलिङ अनि सिक्किमका विविध कविताहरू पनि लेखिँदै छन्। त्यसका साथै धमारी, अभिसङ्गीजस्ता नयाँ रूप भारतीय नेपाली साहित्यमा देखिँदैछ।
यता समावेशीहरूले इन्क्लुसिसनेस अथवा सर्वसमावेशीको कुरा उठाउँदै परम्परालाई उस्तै रूपमा स्वीकार गर्दै तर नयाँ अभिव्यक्तिका साथ साहित्यले बिर्सेका अन्य विषयहरूलाई पनि साहित्यमा समावेश गर्दै कविता लेखिनुपर्छ भन्छन्। भारतीय नेपाली कवितामा पर्यावरणकेन्द्रित कविताहरू, दार्जिलिङ अनि सिक्किमका विविध कविताहरू पनि लेखिँदै छन्। त्यसका साथै धमारी, अभिसङ्गीजस्ता नयाँ रूप भारतीय नेपाली साहित्यमा देखिँदैछ। प्रवृत्तिगत रूपले भन्ने हो भने अहिले भारतीय नेपाली कवितामा ‘अभिव्यक्ति’ धेर पाइन्छ।
नेपाली आख्यानमा प्रयुक्त सङ्कथनको वर्तमान कथ्यप्रति तपाईंको कस्तो प्रतिक्रिया छ?
–साहित्यलाई कुनै राजनीतिक र भौगोलिक सीमाले छेक्दैन भन्ने मान्यता थियो, त्यो मान्यता अब रहेन भन्ने मलाई हिजोआजका आख्यान पढेर अनुभव हुन्छ। हाम्रा सिर्जना वा लेखनलाई एउटा भौगोलिक सीमा र अर्को राजनीतिक सीमाले बाँधिसकेको छ। त्यसदेखि उता हामीलाई जानै दिँदैन। यस्ता सङ्केतहरू आजका आख्यान र कवितामा नै पनि पाइन्छ। नेपालबाट लेखिएका आख्यानहरू (पुराना) भारतमा बस्ने भारतीय नेपालीले पनि ‘हो त! यो त हाम्रै घटनाजस्तो’ भन्न सक्थे। एउटा स्वाद हुन्थ्यो ‘सुम्निमा’, ‘अनुराधा’ आदि पढ्दा तर हिजोआजका आख्यानहरू (सबै होइनन्) नेपालका सामाजिक, राजनीतिक र कूटनीतिक विषयमा धेरै कन्द्रित हुन्छन्। त्यसका साथै गम्भीरभन्दा लोकप्रिय आख्यानजस्तो भएको हुन्छ। जसले हामी (भारतीय नेपाली)लाई त्यहाँ त्यस्तो हुँदो रहेछ भन्ने सन्देश आपूर्ति गर्छ, तर साहित्यिक अभिव्यञ्जना दिन सकिरहेको हुँदैन। भारतीय नेपाली कथा अनि उपन्यासले पनि सायद उता उस्तै गर्दो हो। तर, यहाँ आख्यान नै कति लेखिन्छ र! त्यसैले छानेर पढ्छु।
सिक्किमको साहित्यिक समाज र त्यसका गतिविधिले समाजमा पारेको प्रभावलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
–सिक्किम अहिले धेरै सचेत भइसकेको छ। शिक्षा अनि साहित्य क्षेत्रमा पनि उत्तिकै चासो र रुचि देखिन्छ। यहाँको साहित्यिक समाजका सबल अनि दुर्बल दुवै पक्ष छन्। सबल पक्ष के छ भने युवा नेपाली साहित्यप्रति आकर्षित छन्। कविता लेख्छन्, कथा लेख्छन्। गोष्ठी गर्छन्, जसमा ‘चिया कविता’, ‘कफी कविता’, ‘हिउँ कविता’जस्ता समूहहरूले युवालाई आकर्षित गरिरहेका छन्।
तर, दुर्बल पक्ष के छ भने आजको सन्दर्भमा कुरा गर्दा सिक्किमले जति प्रभाव भारतीय नेपाली साहित्यमा दिनुपर्ने थियो त्यो हुन सकिरहेको छैन। किन? भन्ने प्रश्नको उत्तर यसै कठिन छ। सिक्किमका स्थापित र ठूला संस्थाहरूले वार्षिक रूपमा कार्यक्रम गर्छन्। सरकारी तहदेखि लिएर संस्थागत रूपमा पनि कार्यक्रमहरू गर्छन्; जसले समाजलाई राम्रै सन्देश दिइरहेको छ तर युवालाई साहित्यप्रति आकर्षित गराउने कार्य भने अघि उल्लेख गरिएका समूहहरूले नै गरिरहेको अनुभव हुन्छ। सिक्किमका विश्वविद्यालयतिर नेपाली साहित्यको अध्ययन अध्यापन शुरु भइरहेको छ। यी विश्वविद्यालयबाट नेपाली साहित्य पढेर जाने विद्यार्थीले समाजमा केही सकारात्मक गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु।
सिर्जना र समालोचना दुवैमा तपाईंको सहभागिता नियालिरहेकी छु, भाषा साहित्यका क्षेत्रमा आफ्नो उपस्थिति र योगदानको मूल्याङ्कन गर्नुपर्दा देवचन्द्र सुब्बाको वर्तमान र भविष्यलाई कहाँसम्म पाउनु हुन्छ?
–यो त निकै ठूलो प्रश्न भयो। अन्य विषयका प्रश्न गर्दा त सहजै भन्ने सकिने अनुभव हुँदो रहेछ। किनभने, हामी जीवनभरि अरू वा अन्यलाई नै परीक्षण गरेर बस्दा रहेछौँ तर आफूलाई आफ्नो विचारमा प्रश्न गरिँदा गाह्रै हुँदो रहेछ। किनभने, हामी समय समयमा मात्रै आफूलाई चिन्तन गर्दा रहेछौँ। म कविता लेख्छु तर कवि (प्रचलित, स्थापित) हुनका लागि होइन। म कविता बुझ्नका लागि समालोचना गर्नका लागि लेख्छु। मैले कविता लेख्न सकेँ भने मात्र म उसको समालोचना गर्न पनि सक्छु। कविताभित्र पसेर कविता कस्तो हुँदो रहेछ? त्यो बुझ्न नै कविता लेख्छु। भाषा अनि साहित्यमा मेरो योगदानबारे मैले केही दिन सकेको छुइनँ। प्रयासरत छु तर त्यो मूल्यवान हुन्छ र हुनैपर्छ भन्ने मान्दिनँ। ठूलो कुरो त, म आफ्नो योगदानको मूल्याङ्कन आफैँ गर्नै सक्तिनँ।