काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताएका छन्।
जनसांस्कृति महासङ्घद्वारा शुक्रबार आयोजित ‘परिवर्तनका स्वर भाग–२ गीति एल्बम विमोचन कार्यक्रममा उनले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताए। उनले गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ (जेएन) खनालद्वारा रचित उक्त एल्बम सार्वजनिक गरेका हुन्।
“मुलुकलाई विकसित बनाउने हामीसँग स्पष्ट दृष्टिकोण र सङ्कल्प रहेको छ”, उनले भने, “अब मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउनेछौँ।” प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि दिनदिनै नयाँ संरचना बनाउनका लागि उद्घाटन शिलान्यास गर्दै गइरहेको उल्लेख गरेका छन्।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् गीतकार झलनाथ खनालले राजनीतिक परिवर्तन पूरा भइसकेकाले आर्थिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए। उनले सामाजिक, आर्थिक रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेकाले अशिक्षा, बेरोजगारजस्ता पछौटेपनलाई उन्मूलन गरी मुलुकमा समृद्ध ल्याउनुपर्ने बताए। उनले गीतमा रहेका शब्दले मुलुकलाई आर्थिक विकास गर्नमा सहयोग पु¥याउने दावी गरे।
आफ्नो गीतमा सामाजिक रुपान्तरण गर्न, विकास, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानका विषय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफू राजनीतिक व्यक्ति भए पनि फुर्सदको समयमा गीत लेख्ने गरेको सुनाए। “म राजनीतिक व्यक्ति हुँ । मेरो पहिचान राजनीतिक हो”, उनले भने, “कहिले फुर्सदमा गीत लेख्ने गर्दछु ।” रासस