बलेवा – बागलुङ जिल्लामै पहिलोपटक शैक्षिक उन्नयनका लागि सञ्चालन भएको प्रथम बलेवा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ।
महोत्सव सम्पन्न भएको १ महिनापछि आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बलेवाले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो। गत फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा झन्डै डेढ करोड रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ।
महोत्सवको अवसर पारेर कृष्ण गण्डकी क्याम्पस बलेवामा १ करोडको अक्षयकोष स्थापना गर्न चलाइएको सहयोग अभियान र अन्य क्रियाकलापबाट १ करोड ४७ लाख ५० हजार २ सय १६ रुपैयाँ आम्दानी भएको मूल आयोजक समितिका संयोजक भरत पौडेलले जानकारी दिए।
महोत्सवमा १३ लाख ८२ हजार १ सय ५९ रुपैयाँ खर्च भएको छ। महोत्सवको व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार लगायतका शीर्षकमा खर्च भएको कोषाध्यक्ष स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिए।
खर्च कटाएर बचेको १ करोड ३३ लाख ६८ हजार ५७ रुपैयाँ कृष्णगण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि अक्षयकोषमा राखिने अध्यक्ष पौडेलले बताए।
सहयोगी दाताको नाम, रकम र ठेगानासहितको विवरण तथा खर्चका शीर्षक तथा रकमसहितको विवरण नगरपालिकाका बलेवा क्षेत्रमा पर्ने चारवटै वडाका सार्वजनिकस्थलमा टाँसिने आयोजकले जनाएको छ।
सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिकस्थलमा विवरण टाँस गरेर आर्थिक पारदर्शिता अपनाइने अध्यक्ष पौडेलले बताए। बचेको रकम कार्यक्रम आयोजना गरी क्याम्पसलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ। (रासस)