पोखरा – विद्यालय हो, विद्यार्थीको भीड त हुन्छ नै। सँधैझैँ गएको आइतबार बिहान विद्यार्थीमात्र नभई अभिभावकको पनि बाक्लै उपस्थिति थियो पोखराको अमरसिंह नमुना उच्च माध्यमिक विद्यालयकोे प्रवेशद्वारमा। माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको परीक्षा केन्द्र भएकाले त्यहाँ राम्रै भीड जम्मा भएको थियो।
एसईईलाई परीक्षाभन्दा पनि ‘फलामे गेट’ का रूपमा बुझ्न बाध्य बनाइएका विद्यार्थीको मुहारमा एक खालको त्रास प्रस्टै देखिन्थ्यो। अलि–अलि उत्साहमिश्रित मुस्कान पनि। कोही हातको प्रवेशपत्र हेर्दै थिए। कोही साथिहरूसँग गफिँदै थिए भने कोही अभिभावकलाई बिदाइको हात हल्लाउँदै थिए।

यी दृश्य साँच्चिकै रमाइलो थिए। सबै आ–आफ्नै सुरमा थिए। एक खालको सानोतिनो मेला नै भन्दा फरक नपर्ने माहोल थियो त्यहाँ।
यही माहोलमा ६ जना यस्ता विद्यार्थी पनि थिए, जो यो सब देखिरहेका थिएनन् या भनौँ देख्न सक्दैनथे। कसको मुहारमा कति त्रास छ, कसको मुस्कान कस्तो, कसको अभिभावक कस्ता देखिन्थे, कसले कुन रङको स्कुल ड्रेस लगाएको छ अनि अमरसिंह नमुना उमाविको गेटअगाडि कतिको बाक्लो भीड लागेको छ भन्ने उनीहरू सुनेर महसूससम्म पनि गर्न सकिरहेका थिए या थिएनन्?
एक जना साथीसहित सेतो छडीको सहारामा कम्पाउण्डभित्र छिरेका लोकेश विक दुवै आँखाले देख्दैनन्। हातले छामछुम गरेर अनि कानले सुनेकै भरमा १० कक्षासम्म पुगे। यसपालि उनले पनि एसईई दिँदैछन्, अपेक्षा थापाको सहयोग लिएर। लोकेशसँगै अमरसिंह मावि परीक्षा केन्द्रमा अरू ६ जना दृष्टिविहीन विद्यार्थीले परीक्षा दिइरहेका छन्।
आइतबारको परीक्षा सकेर बाहिर निस्किएका उनीहरू खुसी देखिन्थे र थकित पनि। उनीहरूसँग कुराकानी गर्न त्यो दिन उपयुक्त नदेखिएपछि भोलिपल्ट मात्र उनीहरूसँग भेट भयो, अमरसिंह नमुना उमाविकै छात्रावासमा। मंगलबार हुने परीक्षाको तयारीमा जुटेका उनीहरूसँग भेटाइदिन आग्रह गरेपछि छात्रावास निरीक्षक नरेश नेपालले कुरा गर्ने वातावरण मिलाइदिए।
लोकेश विक (१७), राम गुरुङ (१७), सलाउद्दिन मियाँ (१९), विपना खनाल (१६), विनिता पुन (१७) र विमला राउत (१५)सँग कुराकानी शुरु भयो। उनीहरू सबैका आ–आफ्ना सपना छन्। गर्न सक्छु भन्ने विश्वास पनि। त्यही अनुसारको मेहनत पनि गरिरहेका छन्, उनीहरू।
हेम्जाका लोकेश उच्च शिक्षा अध्ययनका लागि विदेश जाने रहर बोकेर एसईईमा सहभागी भएका छन्। विदेशबाट उच्च शिक्षा हासिल गरेर फर्केपछि यहीँ केही गर्ने सोच बनाएका छन्, उनले। भन्छन्, ‘पहिले विदेशमा गएर पढ्छु। त्यहाँको पढाइ पूरा गरेपछि फर्केर नेपालमै केही गर्ने हो।’
उनले पोखरा–१० को कुँडहर प्राथमिक विद्यालयबाट ब्रेललिपि सिकेका थिए। लोकेशलाई परिवारले राम्रो साथ दिइरहेको छ। परिवारका सदस्यले पढेर भविष्यमा केही गर्नुपर्छ भनेर हौसला दिइरहन्छन्। त्यही हौसला नै उनका लागि प्रेरणा पनि बनेको छ।
स्याङ्जाका सलाउद्दिनले भविष्यमा शिक्षक बन्ने लक्ष्य लिएका छन्। उनी भन्छन्, ‘पहिला पढाइ सक्छु अनि शिक्षक बनेर सबैलाई सुनौलो अक्षर चिनाउने छु।’ कुँडहर प्राथमिक विद्यालयबाट ब्रेललिपि सिकेका उनी कक्षा ६ मा अमरसिंह नमुना उमाविमा भर्ना भएका थिए। सलाउद्दिनलाई पनि परिवारको राम्रो साथ मिलेको छ। पढेर केही गर्नुपर्छ भन्ने सोच राख्ने उनलाई आफू अशक्त छु जस्तो नै लाग्दैन।

पाल्पाकी विपनाको औपचारिक शिक्षा अमरसिंह नमुना माविबाट शुरु भयो। उनले त्यहीँबाट ब्रेललिपि सिकिन्। नेपाली पब्लिकसँग कुरा गर्दै उनले भनिन्, ‘यहीँ नै गर्छु भनेर अठोट त गरिसकेको छैन। हेर्दै जाऊँ, केही त गरौँला नि !’ लोकेश र सलाउद्दीनलाई जस्तै उनलाई पनि परिवारको राम्रो साथ छ, त्यसैले त केही गर्न सक्छु भन्ने हिम्मत छ।
घाचोककी विनिता क्रिकेटर बन्न चाहन्छिन्। विदेशमा आयोजना हुने नेत्रहीन क्रिकेटमा उनले सहभागिता जनाइरहन्छिन्। केही समयअघि पनि उनी पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न विदेश गएकी थिइन्। क्रिकेटमै भविष्य बनाउन चाहेको र त्यसमा परिवारको पनि सहमति रहेको उनी बताउँछिन्।
सुर्खेतकी विमलाको भविष्यमा समाजसेवी बन्ने लक्ष्य छ। परिवारको राम्रो सहयोगले नै भविष्यमा केही गर्छु भन्ने हिम्मत पलाएको उनी सुनाउँछिन्। भन्छिन्, ‘परिवारको सपोर्टले नै यो ठाउँसम्म आउन पाएकी छु। नत्र त हामीजस्तो दृष्टिविहीनलाई केही गर्छुु भन्ने हिम्मत पनि कहाँबाट आउनु।’
लमजुङका राम गायक बन्न चाहन्छन्। उनले केही समयअघि पोखरा महानगरपालिका–२७ लेखनाथमा सम्पन्न महोत्सवमा गायन प्रतिभामा दोस्रो स्थान हात पारेका थिए। ‘भविष्यमा राम्रो गायक बन्ने सपना छ। बन्छु पनि,’ उनले आत्माविश्वासका साथ भने।
अमरसिंह नमुना उमाविका प्रधानाध्यापक तेजश्री बराल उनीहरू सबै पढाइमा अब्बल रहेको बताउँछन्। ‘पढाइमा निकै मेहनत गर्छन्,’ उनी भन्छन्, ‘सबैले एसईईमा राम्रै गर्छन् भन्ने विश्वास छ।’