वीरगञ्ज –
श्रीमान मुख्यमन्त्रीज्यू,
प्रदेश नं. २, जनकपुरधाम
विषय – निकासी इजाजत पाऊँ भन्नेबारे।
‘उपरोक्त सम्बन्धमा मुख्यमन्त्री हजुरलाई ज्ञात भएकै कुरा हो, वीरगञ्जमा यसपटक पनि आशा गरेभन्दा बढी लामखुट्टे (मच्छड) उत्पादन भएका छन्। यहाँ उत्पादित लामखुट्टेलाई प्रदेशका अन्य जिल्ला र अन्य प्रदेशमा पनि निकासी आवश्यक भएकाले सोको इजाजत प्रदान गरिदिन हुनका लागि सादर अनुरोध छ।
विजयकुमार सरावगी–मेयर
(वीरगञ्ज महानगरपालिका)’
नेपाल पत्रकार महासंघ पर्साका पूर्वसभापति शत्रुघ्न नेपालले ‘केवल हाँसोका लागि मात्र’ भन्दै आफ्नो फेसबुकमा लेखेको स्ट्याटस हो यो।
https://www.facebook.com/shatrughan.nepal/posts/2621805337835029
हुन त वीरगञ्जमा लामखुट्टे लाग्नु खासै नौलो कुरा होइन। गर्मी मौसम अनि अव्यवस्थित फोहोरले वीरगञ्जमात्र नभई आसपासका अन्य क्षेत्रमा पनि हरेक वर्ष ‘लामखुट्टे आतंक’ नै मच्चिने गर्छ। अनि यो ‘आतंक’ नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले हरेक वर्ष राम्रै बजेट छुट्याएर औषधि पनि छर्कने गर्छ। तर, नियन्त्रण नहुँदा सधैँ अपजश पाइरहन्छ।
महानगरपालिकाका सरसफाइ इन्चार्ज राजकृष्ण ताम्राकार भने औषधि छर्कने काम प्रभावकारी रूपमा नै अघि बढिरहेको बताउँछन्। उनी भन्छन्, ‘एकैचोटि हुने त होइन, हामीले लामखुट्टे उत्पादन हुने ठाउँमै औषधि छर्केर नियन्त्रण गर्न लागेका छाैँ।’
नाफा आपूर्तिकर्तालाई, अपजश महानगरलाई
लामखुट्टे नियन्त्रण हुन नसकेपछि महानगरले स्थानीयको गुनासो सुन्नु परिरहेको छ। ‘गर्मी शुरु भएपछि लामखुट्टेले निकै दुःख दिन थाल्छ,’ वीरगञ्ज भिस्वाकी तारा कार्की भन्छिन्, ‘हरेक वर्ष औषधी पनि छर्किरहेकै देख्छु तैपनि लामखुट्टे चाहिँ घटेको देख्दिनँ।’ लामखुट्टे नियन्त्रणमा महानगरको प्रयास निस्प्रभावी देखिएको उनको ठम्याइ छ।
नेपाल पत्रकार महासंघ पर्साका अर्का पूर्वअध्यक्ष केसि लामिछाने ‘लामखुट्टे आतंक’को ठोस समाधान केही देख्दैनन्। टेन्डर प्रक्रियामार्फत आपूर्तिकर्ताबाट औषधि आपूर्ति गर्दा समस्या देखिएको उनी बताउँछन्।
‘आपूर्तिकर्ताले कस्तो गुणस्तरको औषधि दिन्छ भन्ने नै थाहा हुँदैन,’ लामिछानेले भने, ‘प्राविधिक विषय भएकाले महानगरसँग यसको गुणस्तर मापन गर्ने कुनै संयन्त्र नै छैन।’ आपूर्तिकर्ताहरू लामखुट्टे मार्नभन्दा मुनाफा आर्जन गर्नतर्फ केन्द्रित रहने गरेको उनको भनाइ छ।
यसपटकका लागि पनि महानगरले टेन्डर आह्वान गरेर लामखुट्टे मार्ने औषधि खरिद गरिसकेको छ। महानगरले चैत १४ गतेदेखि औषधि छर्ने काम शुरु गरिसकेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए।
‘तालिका बनाएर औषधि छर्ने काम शुरु भइसक्यो,’ बस्नेतले भने, ‘ज्याला लगायतका लागि भनेर ६ लाख रुपैयाँ पनि निकासा भइसक्यो।’ औषधि छर्ने तालिका स्थानीय सञ्चारमाध्यमहरूबाट जानकारी गराइएको उनले बताए। महानगरले वर्षमा दुईपटक नगरभित्र औषधि छर्ने गरेको छ। त्यसका लागि वार्षिक ४१ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको सरसफाई इन्चार्ज ताम्राकारले जानकारी दिए।
लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन योजना आवश्यक
समस्या लामखुट्टेको देखिए पनि भित्री तहसम्म पुगेर अध्ययन गर्दा यसका धेरै पाटा छन्। महानगरले लामखुट्टे मार्न वर्षेनि मोटो बजेट छुट्याउने, आपूर्तिकर्ताबाट औषधि खरिद गर्ने, महानगरकै संयन्त्रले औषधि छर्ने, लामखुट्टे नियन्त्रण भएजस्तो देखिने, फेरि केही दिनपछि अवस्था ज्युँका त्युँ रहने वीरगञ्ज महानगरमा वर्षेनि यो प्रक्रिया दोहोरिन्छ।
शहर निर्माणका क्रममा सम्बन्धित निकायले ध्यान नपुर्याउँदा यस्तो समस्या सिर्जना भएको हो। ‘महानगरका कति ठाउँमा बाटोको अभावमा औषधि छर्ने गाडी नै पुग्न सक्दैन,’ पत्रकार लामिछाने भन्छन्, ‘महानगरले घरको नक्सा पास गर्दा नै ध्यान दिनुपर्छ।’
यसबाहेक नगरबासीहरू पनि यस विषयमा सचेत हुनुपर्ने देखिन्छ। ‘लामखुट्टे उत्पादन हुने पानी र फोहोर जम्ने ठाउँमा हो,’ पत्रकार लामिछाने भन्छन्, ‘सरसफाइप्रति नगरबासी पनि त सचेत हुनुप¥यो नि !’