वीरगञ्ज – डिभिजन वन कार्यालय बाराका प्रमुख (डीएफओ) पक्राउ परेका छन्। बाराका डीएफओ शिवशंकर ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार पक्राउ गरेको हो। टोलीले बारा र मोरङ जिल्लामा छापा मार्दा ठाकुरबाहेक अरू ४ जना पक्राउ परेका छन्।
अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले बाराको सिमरास्थित डिभिजन वन कार्यालयमा छापा मारेको थियो। डीएफओ ठाकुरसँगै सहायक वन अधिकृत गौरीशंकरप्रसाद केसरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारी पक्राउ परेका हुन्।
‘कवाडी मालसामानसम्बन्धी ठेक्का स्वीकृत गर्न सेवाग्रहीसँग घूस लिएको उजुरी आएकाले छापा मारेका हौँ,’ आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘केसरीले २५ हजार र अधिकारीले ९० हजार रुपैयाँ घूस लिइसकेका रहेछन्।’ उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए।
यस्तै आयोगको इटहरी क्षेत्रीय कार्यालयले मोरङको लाटीझोडा सबडिभिजन कार्यालयका प्रमुख सलाउद्दिन अन्सारीलाई ३५ हजार घूससहित पक्राउ गरेका छ। सेवाग्राहीलाई काठ काट्न दिने भनी ३५ हजार घूस लिएका अन्सारीलाई डिभिजन वन कार्यालय मोरङ परिसरबाट रंगेहात पक्राउ गरेको आयोगले जानकारी दिएको छ।