काठमाडौँ – काठमाडौँको पुलिस क्लब हलमा एक हप्तादेखि पुस्तक मेला आयोजना भइरहेको छ। पठन संस्कृति विकास समाजले आयोजना गरेको उक्त मेलाको नाम ‘काठमाडौँ पुस्तक मेला’ राखिएको छ।
चैत्र ८ गते शुरु भएर आइतबार सम्पन्न हुने मेलामा पुस्तकसम्बन्धी विविध कार्यक्रम भइरहेका छन्। उक्त पुस्तक मेलामा नयाँ प्रकाशित पुस्तकमाथि हस्ताक्षर कार्यक्रमदेखि समीक्षा हुने क्रम जारी छ।
पत्रकार नारायण वाग्लेको ‘कोरियाना कफी’को पुस्तकका लागि हस्ताक्षर कार्यक्रम र रमण घिमिरेको नयाँ पुस्तक ‘आँखीझ्याल’बारे अन्तरक्रिया पनि गरिएको छ।
पुस्तक मेलामा पुस्तक समीक्षा, हस्ताक्षर कार्यक्रम, गजल प्रस्तुतिसँगै सिस्नुपानी टोलीको हास्यव्यङ्ग्य प्रस्तुति पनि रहने आयोजक पठन संस्कृति विकास समाजका सदस्य कृष्ण अविरलले बताए।
उनले पढ्ने संस्कृति विकासका लागि ‘काठमाडौँ पुस्तक मेला’ आयोजना गरिएको बताए। उनले भने, ‘अहिले पाठकमा पढ्ने बानी हट्दै गएको छ। आधुनिकताका नाममा मानिस मोबाइलप्रेमी हुन थालेका छन्। पढ्ने बानीको विकासका लागि मेला आयोजना गरिएको हो।’
पाठकको मनोविज्ञान बुझ्नका लागि पाठक–लेखकबीच पनि अन्तरक्रिया कार्यक्रम गरिएको छ। त्यस्तै शनिबार पूर्वसचिव खेमराज गुरुङ, कांग्रेस नेता गुरुराज घिमिरे र प्राध्यापक राम लोहनीले पठन संस्कृति र नेपाली समाजको मनोविज्ञान विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
मेलामा विभिन्न प्रकाशन गृहबाट प्रकाशित पुस्तक राखिएका छन्। अपेक्षाकृत रूपमा पाठकको उपस्थिति भइरहेको आयोजकले जनाएको छ।