वीरगञ्ज - मधेस आन्दोलन र नाकाबन्दीको कारण हरदम चर्चामा रहने आर्थिक नगरी वीरगञ्ज दुई दिनदेखि रणभूमिमा परिणत भएको छ। यसपाली कारण बनेको छ, बारम्बार माध्यमिक शिक्षा परीक्षा(एसईई)को प्रश्न पत्र बाहिरिने झमेला। बिहीबार विज्ञान विषयको प्रश्न पत्र बाहिरिएर सम्पन्न भएको परीक्षा रद्द गर्नु परेको थियो।
त्यस्तै शुक्रबार बिहान ८ बजेदेखि हुने सामाजिक विषयको पनि परीक्षा हुनुभन्दा ९ घण्टा पहिले नै समाजिक सञ्जामा प्रश्न–पत्र छ्याप-छ्याप्ती भएपछि परीक्षा स्थगित गरियो। राष्ट्रिय परीक्षा बोर्डले सवा ७ बजे बिहान प्रदेश २ का आठै जिल्लाकै नियमित तर्फको परीक्षा रद्द गरेको प्रदेश नं २ शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए।
परीक्षा रद्दसंगै आठै जिल्लामा बल्यो आगो
बिहीबार सप्तरी जिल्लामा एक केन्द्रबाट प्रश्न पत्र बाहिरियो। त्यससँगै सप्तरीको जिल्ला परीक्षा समन्वय समितिले जिल्ला भरीको परीक्षा रद्द गर्न परिक्षा नियन्त्रण कार्यालयलाई सिफारिस गरिएको छ। अन्ततः राष्ट्रिय परीक्षा बोर्डले बिहीबारको परीक्षा रद्द गरेको दिउँसो १ बजेपछि जानकारी गरायो। यद्यपि प्रदेश–२ को पर्सा, बारा, धनुषालगायत जिल्लामा बधबार रातीदेखि नै विद्यार्थीले प्रदर्शन र विरोध थालेका थिए। परीक्षा रद्द गरिएको जानकारी पाएपछि परीक्षा केन्द्रमा पुगेको विद्यार्थी समूह आक्रोशित र आराजक बन्यो।

अराजक बनेका विद्यार्थीले साढे ७ बजेदेखि साढे ११ बजे सम्म करिब ४ घण्टा वीरगञ्जमा टायर बालेर प्रदर्शन गरे। प्रदर्शनका क्रममा मनकामना मावि वीरगञ्जका एसईईका परीक्षार्थी अरमान अलि अन्सारीले भने, ‘रातभरी आँखा दुखाएर पढछौँ, बिहान उठ्दा परीक्षा रद्द रे, यस्तो पनि हुन्छ, सरकारलाई लाज छैन? परीक्षा गराउन सक्दैन भने, विद्यार्थीको भविष्यसँग किन खेलवाड गर्नु पर्यो?’ विद्यार्थीहरुले हातमा लाठी, भाटा लिएर वीरगञ्ज बजारसमेत बन्द गराए।
करिब १५ सयको हाराहारीमा विद्यार्थीको समूहले घण्टाघर आसपासमा तोडफोडसमेत गरे। विद्यार्थीको समूहले घण्टाघर र बाबा रामजन्म तिवारीको शालिकको पर्खालमा बल्ने बल्ब पनि फुटाइदिएका छन्। विद्यार्थीले मुख्यमन्त्रीको ब्यानर, घण्टाघर प्रहरी विटमा स्क्रीनिङ बोर्ड, वीपी पार्क भित्र ट्राफिक जनचेतनाका लागि राखिएको टिभिमा तोडफोड गर्नुका साथै अनुभूति कलेजमा ढुङामुढा गरी सिसा फुटाउँदा ८ जना घाइते भएका छन्।

विद्यार्थीको ढुङ्गामुढाबाट ८ जना सुरक्षाकर्मी पनि सामान्य घाइते भएको पनि पर्साका प्रहरीका एसपी रेवती ढकालले बताए। झडपको क्रममा प्रहार भएको ढुङ्गाले लागेर एसपी ढकालको खुटामा चोट लाग्नुका साथै मोबाइलसमेत फुटेको छ। विद्यार्थीको एक समूहले बसपार्क र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय छपकैयामा पुगेर पनि ढुङगा मुढा गरी करिब एक दर्जन सवारी साधनको सिसा फुटाएका छन्।
प्रशासन बल प्रयोग गर्ने मुडमा
शुक्रबार जस्तै शनिवारको परीक्षाका दिन पनि प्रदर्शन वा तनावपूर्ण अवस्था बन्यो भने प्रहरीले चुप लागेर नबस्ने स्थानीय प्रशासनले बताएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘आज निकै संयमित भएर विद्यार्थीहरुसँग छलफल गर्ने र समस्या समाधानको पहल गर्ने कोसिस गर्यौँ तर हाम्रो कुरै सन्न चाहँदैनन्। हामीले भनेका छौँ, हाम्रो धैर्यताको बाध टुट्न नदिनोस्, नत्र बाध्य भएर बल प्रयोग गर्न बाध्य हुनेछौँ।’
पर्साका एसपी रेवती ढकाल भन्छन्, ‘आफना भाइबहिनी ठानेर दिनभर कुनै अप्रिय घटना नहोस् भनी काउन्सिलिङ गर्न खोज्यौँ तर विद्यार्थी अराजक बनेका छन्, उनीहरुको स्कूल र अभिभावकले समेत बन्द हडतालमा आउनबाट रोक्नु पर्ने हो।’
बल प्रयोग नगर्न विद्यार्थी संगठनको ध्यानकर्षण
विद्यार्थीका माग सम्बोधन गर्नुको सट्टा प्रहरीले बल प्रयोग गरेको वीरगञ्जका आधा दर्जन विद्यार्थी संगठन आरोप लगाएका छन्। उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसमक्ष संयुक्त विज्ञप्ती बुझाई त्यसतर्फ ध्यानाकर्षणसमेत गराएका छन्।

घटनाको सुक्ष्म छानविन गरी दोषीलाई आवश्यक कारवाही गरिनु पर्ने उनीहरुको माग छ। समाजवादी विद्यार्थी फोरमका केन्द्रीय नेता निखिल वर्णवालले विद्याथीमाथि गरिएको धरपकड बन्द गरी घटनामाथि आवश्यक छानविन गर्न माग गरेका छन्। त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय नेता सुधीर पटेलले दैनिक परीक्षा रद्द गरी विद्यार्थीलाई मनोवैज्ञानिक (टर्चर) दिने काम भएको बताए। उनले भने, ‘ प्रदर्शनमा बल प्रयोग गरी आन्दोलनलाई उल्टै बढावा दिन खोजिएको छ।’
अपराधी समुह वा व्यक्तिको हामीलाई असफल बनाउने कोसिस: शिक्षा निर्देशक
यसै विषयमा शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले प्रदेश २को सरकार र निकायलाई एसईई परीक्षामा असफल बनाउन खोजेको आरोप लगाएका छन्। उनले कुनै अपराधिक समूह वा व्यक्तिले प्रश्न पत्र आउट गरी असफल बनाउन खाजेको हुन सक्ने आशंका गरे। उनले नेपाली पब्लिकसँग भने, ‘यो अवश्य अपराधी समुह वा कुनै अपराधी व्यक्तिको हामीलाई बदनाम गरेर फेल गराउने प्रयास हो।’
प्रधानाध्यापकहरुको विश्लेषण: पनिका र गृह दोषी
परीक्षा समयभन्दा ९ घण्टा पहिले सामाजिक सञ्जालमा प्रश्न पत्र आउट हुनु परीक्षा नियन्त्रण कार्यालय र गहृ मन्त्रालयको कमजोरी रहेको प्रधानाध्यापकहरुले विश्लेषण गरेका छन्। सिद्धार्थ माविका प्रधनाध्यापक राजेश पाण्डेका अनुसार तोकिएको परीक्षा केन्द्रमा प्रश्न पत्र एक घण्टा अगावै सुरक्षाकर्मीले ल्याउछन्। त्यो भन्दा पहिले परीक्षा केन्द्रको नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा प्रश्न पत्रका प्याकेट कडा निगरानीमा राखिएको हुन्छ।

यदि परीक्षा केन्द्रमा प्रश्न पत्र पुग्नुभन्दा सामाजिक सञ्जालमा आउनुले प्रश्न पत्र सुरक्षाकर्मी नजिक पुग्नुभन्दा पहिले बाहिरिएको हुन सक्ने आशंका बढेको छ। त्यस कारण परीक्षा नियन्त्रणको कार्यालयले प्रश्न पत्र कहाँ छपाइ गर्यो, कसरी प्रदेश–२ का ८ जिल्लामा प्रश्न पत्र बाहिरिनुमा नेपाल प्रहरीका कुनै उच्च सुरक्षा अधिकारीको साठगाँठ छ भन्ने आशंका देखिएको छ।
तर, प्रदेश २ का संघीय प्रहरी इकाईका प्रमुख एवम् प्रहरी डीआइजी हरिबहादुर पालले सुरक्षा निकायबाट प्रश्न पत्र आउट नभएको प्रतिक्रिया दिए। उनले कुनै पनि प्रश्न पत्रको प्याकेटको शिल नखुलेको दावीसमेत गरेका छन्।