सुर्खेत – नेपालमै पहिलो पटक मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन थालिने भएको छ।
उक्त विषयको पढाइ प्रारम्भ गर्न मानविकी तथा समाजिकशास्त्र सङ्काय, मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्यो।
शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले मध्यपश्चिम विश्वविद्यालयले नेपालमै पहिलो पटक नौलो विषय ‘लोकवार्ता विज्ञान’को पढाइ शुरु गर्नुले नयाँ आयाम थपिएको बताए।
प्राचीन रेशम मार्ग, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको अध्ययन अनुसन्धान आवश्यक रहेको बताउँदै उनले भने, “लोकवार्ता विज्ञान यसको द्योतक बन्नेछ।”
प्रा. डा. चूडामणि बन्धुले आफ्नो परम्परा, मौलिक संस्कृतिको पहिचान गर्ने उपयुक्त विषयको ऐतिहासिक थालनी भएको धारणा व्यक्त गरे। “लोकवार्तामा परम्परागत शिल्पकला, प्रकृति र विश्वसम्बन्धी ज्ञान छ,” उनले भने, “यसले सांस्कृतिक तथा धार्मिक पर्यटनलाई पनि प्रवर्द्धन गर्छ।”
प्रा. डा. जीवेन्द्रदेव गिरीले ‘लोकवार्ता विज्ञान’ भाषा, लोकगीत, देउडा, लोक साहित्य, लोककथा र संस्कारसँग सम्बन्धित विषय भएकाे बताए। कर्णाली कला, साहित्य, सभ्यता र संस्कृतिको सम्पन्न प्रदेश भएको उनको भनाइ थियो।
विज्ञ भीमनारायण रेग्मीले शिक्षाको स्थानीय पाठ्यक्रममा पनि यसको योगदान रहने बताए। “लोकवार्ताले परम्परालाई व्यावसायिकतामा लैजान जोड दिन्छ,” विज्ञ रेग्मीले भने, “यसले संस्कृति र परम्पराको अध्ययन, संरक्षण र विश्लेषण गर्छ।
विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्रका डिन प्रा. खोपिराम लम्सालले कर्णाली ‘लोकवार्ता विज्ञान’को अधिकतम् साधनस्रोत भएको क्षेत्र भएकाे बताए। राष्ट्रियताको बोध गराउने यो विषयलाई मध्यपश्चिम विश्वविद्यालयले पहिलो पटक अभ्यासमा ल्याउन थालेको उनको भनाइ थियो।
अभिमुखीकरण कार्यक्रमका सहभागीले यो विषयको अध्ययन अनुसन्धानबाट यहाँकोे सभ्यता, संस्कृति र संस्कारको उचित संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए। (रासस)