मोहन पौडेल, परासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिर धार्मिक पर्यटकीयस्थल बन्दै गएको छ। प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजन आउने गर्छन्।
बालपुरी कुटीका रूपमा परिचित यहाँको दर्शन तथा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि पनि हो। नेपाल र भारतका विभिन्न ठाउँबाट गरी यहाँ वार्षिक हजारौँ भक्तजनको भीड लाग्ने गर्छ। साउनमा जलार्पण गर्न यहाँ ठूलो भीड लाग्छ।
यसबाहेक पनि शिवरात्रि, कृष्णाअष्टमी, तीजलगायत चाडमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीयबासी लीलाबल्लभ डुम्रे बताउँछन्। ८ वर्षअघि सोही मन्दिरमा मठाधीशका रूपमा मोहन पुरी (खुर्सानी बाबा) आएपछि उनको पहलमा मन्दिरको भौतिक पूर्वाधार निर्माणमा प्रगति भएको डुम्रेले बताए।
अहिले उक्त मन्दिर परिसरमा अखण्ड धुनी मन्दिर, शिवालय, महाकाली, भैरवकाली, हनुमान मन्दिर, गणेशको ठूलो मूर्ति, १ सय ८ शिवलिङ्ग लगायतका संरचना निर्माण भएका छन्।
पुरी बाबा मठाधीशका रूपमा आउनुभन्दा पहिले त्यहाँ अखण्ड धुनी बल्ने गरेको जीर्ण अवस्थाको घर र शिवालय मन्दिर रहेको स्थानीयबासी युवराज डुम्रे बताउँछन्। मन्दिरमा भक्तजनले चढाएको भेटी, दान, सहयोग रकम र मठाधीश पुरीले आफ्नै लगानीमा समेत मन्दिरको निर्माण गरेको उनले जानकारी दिए।
मङ्गलबार र शनिबार भक्तजनको भीड लाग्छ। खुर्सानीको हवन गरी मठाधीश पुरीले भूतप्रेत भगाउने गरेको तथा आफ्नो भूतभविष्य जान्नका लागि उनीसँग हेराउनेको उक्त दिन भीड लाग्ने गरेको छ।
एक/दुईवटा खुर्सानी आगोमा पोल्दा त्यसबाट आउने खारले नजिक बस्न सक्ने स्थिति हुँदैन। तर, यहाँका मठाधीशले नियमित रूपमा खुर्सानीबाटै हवन गराउँदै आएको अचम्मको विशेषताले पनि उनीप्रति भक्तजनको विशेष आस्था रहेको स्थानीयवासी बताउँछन्।
दनदनी बलेको कुण्डमा सयौँ किलो खुर्सानी हवन गर्दासमेत आफूलाई खारको अनुभूति नै नहुने गरेको मठाधीश पुरी बताउँछन्। उनी भन्छन्, “बालपुरी मठ स्वामी बालपुरीको तपोस्थल हो, प्राचीन समयदेखि यहाँ निरन्तर अखण्ड धुनी बलिरहेको छ। विशेषतः यो स्थान स्वामी बालपुरीको जिउँदो समाधिस्थल हो। उनका ५२ धुनीमध्येको एक यो अखण्ड धुनी हो। म आएदेखि पनि निरन्तर पाँचवटा अखण्ड बत्ती मैले बालिरहेको छु।”
बालपुरी मठलाई धार्मिक पर्यटकीयस्थल बनाउने गरी सुस्ता गाउँपालिकाले पनि उच्च प्राथमिकता दिएर प्रवर्द्धन तथा बजेट विनियोजन गरिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउँछन्। गाउँपालिकाले गत वर्ष मन्दिरको गजुर निर्माण, मार्बल, टायल बिछ्याउन तथा मर्मत सम्भारका लागि रु. २ लाख बजेट दिएको थियो भने चुहाडी चोकबाट मठको गेटसम्मको बाटो कालोपत्र निर्माणका लागि रु. ५ लाख विनियोजन गरी काम भएको उनले बताए।
उक्त बाटो पूरा नभएपछि यस वर्ष कालोपत्र गर्ने गरी बजेट विनियोजन भएको छ। यसैगरी मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि रु. २५ लाख विनियोजन गरिएको र यसै वर्ष सम्पन्न हुने अध्यक्ष पाण्डे बताउँछन्। गाउँपालिकाकै सबैभन्दा प्राचीन मन्दिरका रूपमा रहेकाले यसको प्रचारप्रसार, प्रवर्द्धन, संरक्षण तथा भौतिक पूर्वाधार निर्माणका लागि पहल भइरहेको गाउँपालिकाले जनाएको छ।