काठमाडौँ - नेपाल विद्यार्थी सङ्घले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ।
नियमविपरीत विगत ७ महिनादेखि महँगाे शुल्क तिरेर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो।
नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३ सय ९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिए।
कलेजहरू शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोका रूपमा विकास हुँदै गएकाले हामी आन्दोलन गर्न बाध्य भएका हौँ, उनले भने। क्याम्पसमा भर्ना गराउने तर परिक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठीक नभएको उनको भनाइ छ।
विद्यार्थीले ७ लाख शुल्क तिरेर पढे पनि परीक्षा दिन भने पाएका छैनन्। पीडित विद्यार्थीको भविष्य सुनिश्चित नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने नेता त्रिपाठीले बताए। विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसङ्घका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस)