वीरगञ्ज – नेपाली भूमिमा लाश फ्याँक्न खोज्ने भारतीय प्रहरीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय मूलका व्यक्तिको लाश नेपालमा फाल्दै गर्दा नेपाली सुरक्षाकर्मीहरूले सीमावर्ती भारतीय सहर रक्सौलको प्रहरी टोलीलाई नै नियन्त्रणमा लिएको हो।
‘मध्याह्न साढे १२ बजे बेवारिसे लाश फालेकाे टोलीलाई मितेरी पुल नजिकबाट नियन्त्रणमा लिएका हौँ,’ सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी तिलक खड्काले नेपाली पब्लिकसँग भने, ‘नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीसँग छलफल गरी लाश र गाडी फिर्ता पठायौँ।’
वीरगञ्ज भन्सारनजिकै रहेको इनार्वा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक दीपेन्द्र सिंहका अनुसार भारतको लाश नेपालमा फाल्न नपाइने भएकाले नियन्त्रण लिइएको हो।
‘चालक झुक्किएर नेपाली भूमिमा छिरे’
रक्सौल प्रहरीले भने चालक झुक्किएर नेपाली भूमिमा आएको दाबी गरेको छ। रक्सौल भएर बग्ने श्रीसिया खोलाको किनारमा गाडिएको अन्दाजी ४५ वर्षको पुरुषको लाश कुहिएको अवस्थामा भारतीय प्रहरीले शनिबार फेला पारेको थियो।
रक्सौलकै अस्पतालमा पोस्टमार्टम गरेर आइतबार मध्याह्न अन्त्येष्टि गर्न बीआर ३० जी ०९४७ नम्बरको एउटा भ्यानमा चालकसहित आगो दिन डुम जातिका युवक गरी २ जनालाई रक्सौल प्रहरीले पठाएको थियो।
‘हामीले भारतीय सीमामा अन्त्येष्टि गर्न भनेका थियौँ,’ रक्सौल थानाका एक अधिकारीले भने, ‘उनीहरू मितेरी पुल कटेर नेपालको शंकराचार्यद्वारको पूर्वपट्टि खोलाको किनारमा गएका रहेछन्, झुक्किएर गएका होलान्।’
लाश कसको हो भन्ने अहिलेसम्म सनाखत हुन सकेकाे छैन। लाश ल्याउने चालक र डुम समुदायका युवकको परिचय पनि पर्सा प्रहरीले खुलाएको छैन ।