काठमाडौँ - प्रा. डा. सुरेन्द्र केसीले वर्तमान संविधानबाट समाजवाद नआउने बताए छन्। रत्नराज्य क्याम्पस (आरआर)मा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र युवाको भूमिका’ विषयक प्राज्ञिक प्रशिक्षण कार्यक्रममा डा. केसीले यस्तो बताएका हुन्।
उनले भने, ‘संविधान उन्मुख भनिएको वर्तमान संविधानबाट समाजवाद आउँदैन, किनकी योग्य प्रणालीद्वारा प्रशासक, नेता र कर्मचारी छान्ने ‘सिस्टम’ छैन, कुनै पनि क्षेत्रमा पारदर्शिता छैन, जवाफदेहिता छैन, उपयुक्त ठाउँमा, उपयुक्त मानिसलाई राखिँदै, अन्तिममा पुरस्कृत र दण्डको व्यवस्था छैन, यी कुराविना कसरी समाजवाद आउँछ? देश चलाउने नेताहरूका व्यवहारहरू सबैले देखेकै छौँ, उनीहरू नाताभन्दा पर पुग्ने अवस्थामा छैनन्, स्वार्थबाहेक अर्को केही हुँदैन।’
डा. केसीले भने, ‘सम्पूर्ण राजनीतिक दलमा रहेका राम्रा मानिस संसद्मा पुगेको अवस्थामा उनीहरू जनताको हितमा काम गर्छन् भन्ने मेरो विश्वास थियो। राम्रा मान्छेलाई हाम्रा बनाउन सकेको खण्डमा वर्तमान राजनीतिमा देखिएको झूट, बेइमानी, अत्याचार र भ्रष्टचार अन्त्य हुन्छ भन्ने मेरो आशा थियो। तर, त्यो पनि सम्भव देख्न छोडिसकेको छु।’
स्व. रवीन्द्र अधिकारीको सम्झना
प्रशिक्षणका क्रममा डा. केसीले गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका स्व. रवीन्द्र अधिकारीका बारेमा सत्यतथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेका छन्।
वर्तमान राजनीतिक क्षेत्रमा देखिएको विकृतिमध्येको एउटा काण्ड वाइडबडी भएको बताउँदै उनले भने, ‘देशले अनाहकमा एउटा डाइनामिक युवा नेता गुमायो, उनी किन ताप्लेजुङ गएका हुन् ? उनलाई काठमाडौँबाट खराब मौसमबीच तेह्रथुमको चुहानडाँडा किन पठाइयो? यसका बारेमा कसैले जवाफ खोजेको छ ? सुन काण्ड, बलात्कार काण्ड, बम काण्ड के हुँदैछ? राज्यलाई यसरी गलत तरिकाले भोग गर्न पाइन्छ? लाज नै छैन त गाँठे।’
युवाहरूको मौनता देशका लागि घातक
डा. केसीले युवाहरूको मौनता देशका लागि घातक हुने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘भ्रष्टाचार मौलाएको छ, युवा मौन छन्, विद्यार्थी संगठनहरू मौन छन्, बलात्कारले महिला त्रसित छन्, युवा बोल्दैनन्, सरकारले सगर्व गल्ती गरिरहेको छ, गलत निर्णयहरू गरिरहेको छ।’
उनी भन्छन्, ‘भ्रष्ट व्यक्तिहरूलाई असली जनतामाथि शासन गर्न लगाइरहेको छ, पैसा, आफन्त र व्यभिचारले मुलुक आक्रान्त छ, युवा मौन छन्। आँखामा पट्टी बाँधेर जसले जे जे भन्छन्, त्यसलाई स्वीकार गर्नुपर्ने तपाइंहरूलाई त्यस्तो के आइलाग्यो?’ उनले भने, ‘सुशासनको पक्षमा उभिन युवालाई कसले रोकेको छ ? युवाको मौनता आँधी र तुफान आउनुअघिको शान्त वातावरणजस्तै महसूस भइरहेको छ। मभन्दा अर्को व्यक्ति ठीक छ, योग्य छ भनेर भन्नसक्ने अवस्थामा कोही छैन, युवाले मेरो नेताले नराम्रो काम गरे, गलत निर्णय गरे, म यसको विपक्षमा छु भनेर भन्न सक्दैनन्।’
डा. केसीले अघि थपे, ‘मैले सबै परिस्थितिलाई हेर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई सम्झिरहेको छु। मैले माथि पनि भनिसँके, राम्रालाई हाम्रो बनाएर देश समृद्ध बनाउने अवस्था सकियो, अब इमरान जन्मिनुपर्ने हुन्छ।’
संसदमा नक्कली महिला
डा. केसीले वर्तमान संविधानमा रहेको समावेशी व्यवस्थालाई गलत रूपमा प्रयोग गरिएको बताए। उनले भने, ‘संविधानले दोहोरो अर्थ लाग्ने र अवसर पाएकाहरूलाई नै पुनः अवसर दिने व्यवस्था गरेको छ। एउटा संविधानको धाराले एउटा व्यवस्था गर्छ, अर्को उपधाराले ‘जहाँ जे भए पनि’ भन्ने व्यवस्था गर्छ।’
‘महिलाको नाममा संसदमा नक्कली महिला पुगेका छन्, खास महिला संसदमा छैनन्, नक्कली महिलाले पीडित महिलाका बारेमा बोल्ने कुनै नैतिक बल हुँदैन, कसरी आउँछ समाजवाद ? दलित, जनजाति, उत्पीडित, पिछडिएको क्षेत्रलाई बेचिएको छ, कमजोरलाई बेच्न पाइन्छ ? त्यो पनि एक पटक होइन, पटक-पटक,’ उनी बताउँछन्।
अरु कसैले देश बनाई दिँदैनन्ः भेषराज घिमिरे
राजनीतिक शास्त्र विभाग (आरआर)का प्रमुख भेषराज घिमिरेले युवाले कार्यकर्ता बन्ने अभ्यासलाई छोड्नुपर्ने धारणा राखेका थिए। उनले भने, ‘हिजोका दिनमा हामी कसैका कार्यकर्ता थियौँ, आज हामी स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छौं, आज पनि अयोग्य मानिसलाई समेत नेता मान्न र शासन गर्न पठाउने काम राम्रो होइन। नेता राजनीतिक क्षेत्रको मात्रै होइन। सम्पूर्ण क्षेत्रमा चाहिन्छ, त्यो नेता बन्ने प्रयास तपाईंहरूले गर्नुपर्छ।’
प्रमुख घिमिरेले भने, युवाको सक्रियता, सहभागिता र समन्वयमा मात्रै देश बन्ने बताउँदै सत्य, तथ्य र निष्पक्ष भएर देश निर्माणमा लाग्न आग्रह गरे। उनले भने, ‘हाम्रो देशलाई अरू कोही आएर बनाइदिने होइन, बरु विभिन्न कारण देखाएर अस्थिरता र अराजकता फैलाएर हामीमाथि शासन गर्ने मौक कुरिरहेका केही मित्रदेशहरू छन्, उनीहरूका सामुन्ने सम्पूर्ण युवाले आफ्नो स्थानबाट विकृति, विसंगतिविरुद्ध निष्पक्ष रूपमा विरोध गर्न आवश्यक छ।
यस क्याम्पसबाट शुरु गरिएको ‘प्राज्ञिक बहस’ले निरन्तरता पाउने छ, म तपाईंहरूको साथमा छु।’ राजनीतिक विभाग (आरआर) को सहकार्यमा स्नातकोत्तर तहमा अध्ययनरत राजनीतिक शास्त्रका विद्यार्थीहरुका र्तफबाट नरेन्द्र खतिवडाले कार्यक्रमकाे संयोजन गरेका थिए। तस्वीरः बचन प्रताव सेन