गोरखा – गोरखा नगरपालिका–३ नारेश्वरमा करिब रु. ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ। भूकम्पले क्षति पुर्याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो।
कुल रु. ७५ लाख ४६ हजारकाे लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए।
फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो।
पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएकोे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताए।
विद्यालयले उनीहरूलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्थापन गर्दै आएको छ। भवन निर्माणका लागि आइएनएफ नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो। २०७२ सालको विनाशकारी गोरखा भूकम्पले विद्यालयको भवन पूर्णरूपमा क्षति भएपछि उक्त संस्थाले सो विद्यालय भवन निर्माण गरिदिएको हो। (रासस)