वीरगंज – पूर्वी तराईका दुई जिल्ला बारा र पर्सामा आइतवार साँझ आएको हावाहुरीले प्रभावितलाई सहयोग गर्न स्थानीय, प्रदेश, केन्द्र सरकारदेखि विभिन्न संघसस्था लागेका छन्।
त्यसमा स्थानीयहरुले पनि सहयोग गरिरहेका छन्। प्रदेश सरकारले यसअघि नै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ।
घाइतेको उद्धार कार्य जारी छ भने पीडितलाई राहत सामाग्री प्रदान गर्न थालिएको छ। हावाहुरीले घर भत्काउनुका साथै अन्नवाली नष्ट भएपछि पीडितलाई विभिन्न संघसस्थाले खाद्यान्न, लत्ताकपडा, खानेपानी वितरण गरिरहेका छन्।
उनीहरुले घाइते तथा प्रभावित परिवारलाई अस्पतालमा दालभात तरकारी खुवाइरहेका छन्। लायन्स कल्ब, सानो पाइला, वीरगंज युवा समाज, पहल जस्ता संघसंस्थाले स्वयमसेवक खटाएर पानी, चिउरा, चाउचाउ, फलफुल तथा दालभात तरकारी वितरण गरेको लायन्सकी डिस्ट्रीक एडभाइजर मिनाक्षी कर्माचार्यले बताईन्।
स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि पीडितलाई राहत वितरण गर्ने तयारी गरेको छ। डाक्टर उपेन्द्र महतो मेडिसिटी अस्पतालको विशेषज्ञ चिकित्सकहरुको टोली लिएर नारायणी अस्पताल पुगेका छन्।
विभिन्न राजनीतिक दलका नेताहरु घाइतेलाई भेट्न अस्पताल पुगेका छन्। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न अस्पतालमा पुगेर घाइतेलाई भेटेका छन्। सो क्रममा उनले उपचार खर्च सरकारले वेहोर्ने बताउदै हावाहुरीबाट प्रभावितका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए।
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पनि बाराको चैनपुरमा एक ट्रयाक्टर खद्यान्न सामग्री वितरण गरेका थिए।
आइतवार साँझ आएको हावाहुरीले पूर्वी तराईका दुई जिल्ला बारा र पर्सामा ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।