काठमाडौँ - चैत १० गते अनिवार्य अंग्रेजी विषयबाट शुरु भएको यस वर्षको एसईई सोमबार ऐच्छिक दोस्रो विषयको परीक्षासँगै सकिएको छ। प्रदेश -२ बाहेक मुलुकभर एकै समयमा सम्पन्न भएको परीक्षा केही बिर्सनलायक र केही सम्झनलायक दुवै खाले घटनाले अन्य वर्षभन्दा केही फरक रह्यो।
देशभरबाट कुल ४ लाख ७५ हजार ३ परिक्षार्थी परीक्षामा सहभागी भइरहँदा पाल्पा, सिन्धुली र म्याग्दीका केही विद्यार्थीले हाजिरीका कारण परीक्षाबाट वञ्चित हुनुपर्यो। प्रायः सबैजसो विद्यार्थीहरु किशोरकिशोरी रहे पनि केही परिक्षार्थी प्रतिनिधी पात्र बन्न पुगे।
नेपाली चलचित्र जगतकी लिजेन्ड नायिका करिश्मा मानन्धरले यस वर्षकाे एसईईमा चर्चित प्रतिनिधि पात्र बनिन्। त्यस्तै, काठमाडौँ तीनकुनेकी ६८ वर्षीय युगमाया कार्की सबैभन्दा जेष्ठ परिक्षार्थी बनिन्। सांसद शान्ता चौधरीको एसईईमा सहभागिताले पनि चर्चा पायो।
जेष्ठ नागरिक परिक्षार्थी हुनु तथा असामान्य उमेरमा चर्चित व्यक्तिहरुको परीक्षामा हुने गरेको सहभागिता त सबै पुरानै घटना क्रमहरुको निरन्तरता हाे। तर प्रदेश नम्बर -२ मा श्रृखलावद्ध रुपमा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको प्रकरणले फरक रुप लियो। परीक्षा शुरु भएको चौथो दिन विज्ञान विषयको परीक्षा हुनुभन्दा अगाडि नै प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएसँगै त्यस विषयको परीक्षा रद्द गरिएको थियो।
त्यतिमा मात्र सीमित नभएर प्रश्नपत्र बाहिरिने क्रमले श्रृंखलाको रुप लियो। त्यसपछि पुनः सामाजिक अध्ययन विषयको पनि परीक्षा हुनुभन्दा १० घण्टाअगाडि नै प्रश्नपत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश -२का सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्देशन दियो।
प्रश्नपत्र बाहिरिनुलाई सरकारको कमजोरी, गृहको उदासीनता र विद्यार्थीको भविष्य माथिको खेलवाड जस्ता विषयमा मुल्याङ्कन गरी विद्यार्थी संगठनहरुद्वारा २ नम्बर प्रदेशभरी प्रदर्शन र तोडफोड भए। प्रश्नपत्र बाहिरिएकै कारण स्थगित भएका परीक्षा सम्पन्न गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले सोमबार सूचना प्रकाशित गरी नयाँ तालिका पनि सार्वजनिक गरेकाे छ।
प्रदेश -२ मा बाहेक अन्य क्षेत्रमा शान्तिपूर्ण रुपमा एसईई सकिएसँगै निरन्तर १० वर्षदेखि विद्यालय धाउँदै आएका किशोरकिशोरीले ३ महिनाका लागि फुर्सद पाएका छन्। सामान्यतया सबै नेपाली विद्यार्थीहरुले यो फुर्सदलाई कसरी बिताउने योजना पनि बनाइसके होलान्। जिन्दगीभरी आफ्नो मित्रता याद राख्ने र कुनै दिन सँगै घुम्न जाने योजना बनाएर युनिफर्मको सर्टमा साथीहरुको अटोग्राफ लिएर भावनात्मक हुँदै विद्यार्थीहरू छुटे होलान्।
तर, सबै विद्यार्थीले परीक्षाको अन्तिम दिनलाई भनेर साँचेका कामहरुमध्ये मन परेको साथीलाई प्रेम प्रस्ताव राख्ने याेजना भने अपुरै त भएनन्?