सुरज खनाल, काठमाडौं/आकाशतारा बयक, सुर्खेत – अहिलेका लोकप्रिय कवि हुन, नवराज पराजुली। ‘सगरमाथाको गहिराई’ कविता संग्रहका लेखक यिनलाई अहिले भ्याई–नभ्याई छ। आफ्ना कविता सुनाउन देश भित्रबाट मात्र होइन बाहिरबाट पनि निम्तो आउन थालेपछी कवि पराजुली आजकल धेरै बिदेशतिरै हुन्छन्।
निकै व्यस्त कविको परिचय बनाएका उनी अब भने जेल जाने भएका छन् ! यहि चैत २३ गते शनिबार उनी कर्णालीको जेलभित्र हुनेछन्। जेल नै जानुपर्ने के गर्नुभयो र त्यस्तो भन्ने प्रश्नको जवाफमा कवि पराजुलीले हास्दै भने, ‘जेल जान के पो गर्नुपर्छ? म त कविता सुनाउन जान लागेको।’
हो, कवि पराजुली कुनै अपराध गरेर जेल जान लागेका होइनन्। कारागारमा स्थापना गरिएका पुस्तकालयहरुको उद्घाटन समारोहमा सरिक हुन उनी त्यहाँ जान लागेका हुन्। जहाँ उनले कैदिहरुसँग अन्तर्कृया गर्नेछन् भने आफ्नो कविता पनि सुनाउनेछन्। नेपाली पब्लिकसँग उनले भने, ‘कैदिहरुलाई प्रहरीको कविता सुनाउछु होला।’
कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको ‘कारागारलाई किताब’ अभियानअन्तर्गत ८ वटा कारागारमा पुस्तकालय स्थापना गरिएको छ। यतिमात्र होइन, पुस्तकालय स्थापना गरिएका कारागारहरूमा ‘बुक क्लब’ पनि गठन गरिएको छ, हरेक शनिबार विभिन्न कार्यक्रम गर्नुपर्नेलगायत जिम्मेवारी दिएर। ‘लेखकहरुसँग कैदिहरुको अन्तर्कृया हुदैछ,’ कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले भने, ‘त्यहा विभिन्न पुस्तकहरुबारे समिक्षा गरिनेछ।’
‘कारागारलाई किताब’ अभियान
प्रहरीभित्र अब्बल प्रहरी अफिसरको रुपमा चिनिने डिआइजी महेशबिक्रम शाह एक उम्दा साहित्यकार पनि हुन्। ज्याक्सन हाइट, छापामारको छोरोजस्ता चर्चित पुस्तक लेखेका छन्, उनले। यिनै साहित्यकार डिआइजी अहिले एउटा छुट्टै अभियानमा जुटेका छन्। ‘कारागारलाई किताब’ अभियानअन्तर्गत उनी कैदिबन्दीलाई किताब पढ्न हौस्याउदै छन्।त्यसका लागि हरेक कारागारमा पुस्तकालय स्थापना गर्ने ‘पृथक’ सोचका साथी लागिपरेका छन्, डिआइजी शाह। उनकै नेतृत्वमा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको अभियानअन्तर्गत २१ लाख रुपैया बराबरको किताब संकलन भएको छ।
कर्णालीका सबै कारागारमा पुस्तकालय
अभियानअन्तर्गत कर्णाली प्रदेशका सबै कारागारमा पुस्तकालय स्थापना गरिएको छ। प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै कर्णालीका सबै कारागारमा विभिन्न निकाय तथा नागरिकको सहयोगबाट पुस्तकालय स्थापना गरिएको जानकारी दिईएको छ।
यि सबै पुस्तकालयको उद्घाटन चैत २३ एकैसाथ गरिने कार्यक्रम छ। पहिलो चरणमा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम, कालिकोट, जुम्ला र डोल्पामा पुस्तकालय स्थापना गरिनेछ। हुम्ला र मुगुमा पनि चाँडै पुस्तकालय स्थापना गरिने प्रदेश प्रहरी कार्यालयका डीआईजी शाहले जानकारी दिए।
उनका अनुसार हुम्लामा कारागार निर्माणको अन्तिम प्रक्रियामा रहेको र मुगुमा पनि निकट भविष्यमै कारागार निर्माण हुने भएकाले पुस्तकालय स्थापनाको काम अर्को चरणमा मात्र गरिने भएको हो। उनले कैदीबन्दीलाई सिर्जनशील तथा अध्ययनका माध्यमबाट परिवर्तन ल्याउन पुस्तकालय स्थापना गर्न लागिएको बताए। ‘करिब २१ लाख बराबरका पुस्तक संकलन गरिसकेका छौँ,’ डिआइजी शाह भने, ‘पहिलो चरणमा प्रदेशका १० मध्ये ८ जिल्लाका कारागारमा पुस्तकालय उद्घाटन हुन्छ।’
पुस्तकालयको उद्घाटनपछि कैदीबन्दीलाई देशका चर्चित लेखक, साहित्यकारसँग साक्षात्कार गराईने पनि कार्यक्रम छ। पुस्तकालय स्थापना गर्नका लागि डिआइजी महेशविक्रम शाहको संयोजकत्वमा गठित समिति र जिल्लामा गठित उपसमितिहरु मिलेर जम्मा ८ हजार ३ सय ८८ वटा पुस्तकहरु संकलन गरिएको थियो। संकलित पुस्तकहरु कैदीहरुको संख्याका आधारमा प्रत्येक जिल्ला कारागारहरुमा पठाएर पुस्तकालयसमेत स्थापना गरिसकिएको डिआइजी शाहले बताए।
कैदीबन्दीलाई नयाँ ज्ञान र सकारात्मक सोचको विकास गर्न जीवन उपयोगी पुस्तकहरु उपलब्ध गराईने डिआईजी शाहको भनाई थियो। ‘कारागार अपराधीलाई थुन्ने ठाउँमात्रै नभई चरित्र सुधार गर्ने ठाउँ पनि हो,’ उनले भने, ‘अध्ययनबाट सकारात्मक सोच विकास हुँदा समाजमा शान्तिसुरक्षा प्रभावकारी हुने भएकाले पुस्तकालय स्थापना गर्न जरुरी देखिएको हो।’
कारागारमा ‘बुक क्लब’
प्रदेशका कारागारमा रहेका पुस्तकालयको निगरानी तथा संरक्षणका लागि ‘बुक क्लब’ गठन गरिनेछ। समितिले कारागारमा प्रत्येक शनिबार कैदीबन्दीसँग विभिन्न पुस्तकमाथि समीक्षा गर्नेछ। कैदीले अध्ययन गरेको पुस्तकको समीक्षा र अध्ययनको आधारमा महिनाभरी सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने कैदीलाई पुरस्कृतसमेत गरिने भएको छ।
धेरै पुस्तक पढ्ने र अरुलाई पनि पढ्न प्रेरित गर्ने कैदीबन्दीलाई पुरस्कार दिइने डीआईजी शाहले बताए। उनले मानव जीवन रुपान्तरणका लागि अध्ययन महत्वपूर्ण रहेकाले पनि यो अभियान आवश्यक भएको बताए। उनका अनुसार कैदीबन्दीलाई नयाँ ज्ञान तथा सकारात्मक सोचको विकासका लागि अध्ययनको व्यवस्था मिलाउन कारागारमा पुस्तकालय निर्माण गरिएको हो।
दर्जन साहित्यकार आउँदै
कैदीबन्दीको जीवन रुपान्तरणमा टेवा पु¥याउने उद्देश्यले प्रदेशका सबै कारागारका कैदीबन्दीहरुसँग साक्षात्कार गर्न चर्चित लेखक, साहित्यका आउने भएका छन्। सुर्खेतमा सनत रेग्मी, नयनराज पाण्डे र कवि नवराज पराजुली, दैलेखमा शेखर खरेल र उमा नगरकोटी, सल्यानमा रामलाल जोशी, रुकुम पश्चिममा कुमारी लामा, जाजरकोटमा अर्चना थापा र सुविन भट्टराई, कालिकोटमा युग पाठक, डोल्पामा अमर न्यौपाने लगायतका १४ जना लेखक तथा साहित्यकार आउने कार्यक्रम रहेको छ।