सप्तरी – प्रदेश २ मा एसईई परिक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गर्दै बिहिबार उनीहरुलाई सार्वजनिक गरेको हो।
सार्वजनिक गरिनेमा इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल, विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन्। प्रदेश २ मा चैत्र १४ गतेको सामाजिक र १५ गतेको विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो।
प्रहरीका अनुसार सुनरैतले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर दाइ विष्णदेव यादवलाई फोटो खिचि पठाएका थिए। त्यसपछि सामाजिक सञ्जालका माध्यमबाट प्रश्नपत्र बाहिरिएको र हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा प्रश्नपत्रको लेनदेन भएको अनुसन्धानको क्रममा देखिएको छ।
उक्त विषयको अझै पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी निरञ्जन भट्ट र परीक्षा नियन्त्रण कार्यालयकी परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको नेतृत्वमा रहेका दुई छुट्टा छुट्टै टोलीले छानबिन गरिरहेका छन्।
प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएपछि चैत १५ गते प्रदेश २ मा परीक्षा स्थगित गरिएको थियो। स्थागित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ।