काठमाडौँ – चिकित्सा शिक्षा सुधारका निम्ति विगत लामो समयदेखि प्रा.डा. गोविन्द केसी आन्दोलनरत छन्। केसीको आन्दोलनले थुप्रै सुधारका कार्य भए पनि चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीमाथि हुने ज्यादती खासै घटेको छैन।
विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लिने, छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीमाथि पनि अनावश्यक शीर्षकमा धम्क्याउँदै शुल्क लिने र कसैले यस विषयमा आवाज उठाएमा ती विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण बनाई रीसइवी साँध्ने मेडिकल कलेजका सञ्चालकविरुद्ध विद्यार्थीले आवाज उठाउन थालेका छन्।
काभ्रेको धुलिखेल अस्पतालमा अध्ययनरत विद्यार्थीले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सम्पूर्ण कलेजमा एकैसाथ एकाइहरू गठन गरेका छन्। विद्यार्थीले बिहीबारै काठमाडौँ विश्वविद्यालयका डीन प्रा.डा. राजेन्द्र कोजूलाई भेटेर ज्ञापनपत्र बुझाई विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूको लूटका विषयमा अवगत गराएका छन्।
विद्यार्थीले ज्ञापनपत्र बुझाउँदै कलेजहरूबाट गरिएको ब्रह्मलूट आगामी एक साताभित्र नियन्त्रण गर्नका लागि आवश्यक कदम चाल्न माग गरेका छन्।
एक साताभित्र विश्वविद्यालयले बढी रकम असुल्ने तथा विद्यार्थीमाथि श्रमशोषण गर्ने, धम्क्याउने र तर्साउने कलेज सञ्चालकहरूलाई आवश्यक कारवाही नगरे एक सातापछि काठमाडौँ विश्वविद्यालयका डीनको कार्यालयलगायत सम्पूर्ण शाखामा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
धुलिखेल अस्पतालमा अध्ययनरत डा. सुजन कडरियाले सरकार र काठमाडौँ विश्वविद्यालयले विद्यार्थीका पक्षमा कुनै किसिमको कदम नचाले एक सातापछि तालाबन्दीसहित सशक्त विरोधका कार्यक्रममा जाने उद्घोष गरेका हुन्।